+
+

कैलालीको चुुरेमा स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते २०:०८

१३ जेठ, धनगढी । कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो ।

ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् । स्थानीय ७० वर्षीया कृष्णा कार्कीले आफ्नै गाउँघरमा स्वास्थ्य अवस्था जाँच गर्ने अवसर मिलेको बताइन् ।

‘ढाडको समस्याले उठन र बस्न सक्दिन । आज यहाँ शिविर सञ्चालन हुने थाहा पाएपछि छोराले चार घण्टाको पैदल दुरीमा मलाई पिठ्युमा बोकेर यहाँ ल्याएको हो । डाक्टर चेकजाँच गर्नुभयो । औषधी दिनुभएको छ’, कार्कीले भनिन्, ‘धनगढी र इन्डिया(भारत) का ठूला अस्पतालमा उपचार गराउन पैँसा पनि छैन । घरको कामले छोराबुहारीको फुर्सद पनि हुँदैन ।’

बयालकी ६० वर्षीया लालमती थापाले घुडा र आँखा दुःख्ने समस्या भएको बताउदै टाढाको अस्पताल जान पैँसा नभएको कारण निःशुल्क स्वास्थ्यमा सहभागी भएर चेकजाँच गराएको बताइन् । ‘धेरै खुसी लाग्यो आज घर आँगनमै उपचार गर्न पायौँ । डाक्टरले दबाइ(औषधी) औषधी दिनुभएको छ,’ थापाले भनिन्, ‘निको नभएपछि फेरि उपचार गराउनुहोला भन्नुभएको छ ।’

शिविरमा स्वास्थ्य चेकजाँच गर्न पुगेकी ४२ वर्षीया सार्कीले लामो समयदेखि तल्लो पेट दुःख्ने समस्या भएपनि पैसा अभावमा उपचार गर्न नसकेको तर शनिबारको शिविरमा उपचार गर्ने मौका पाएको बताइन् ।

उनले डाक्टरले पाठेघरको समस्या भएको हुनसक्ने बताउदै हप्ता दिनका लागि औषधी दिएको र निको नभए थप चेकजाँच गर्न सल्लाह दिएको बताइन् । गाउँघरमै सेवा लिन पाउँदा खुसी लागेको उनको भनाई छ ।

२८ वर्षीया यमुना आउजीले डाक्टरले पाठेघरको समस्या भएकाले थप उपचारका लागि धनगढी आउन सल्लाह दिएको बताइन् । उनले लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको तर उपचार गर्न अस्पातल जान नसकेको सुनाइन् । गाउँघरमै शिविर सञ्चालन भएका बेला चेकजाँच गरेर लाभ प्राप्त गर्दा खुसी लागेको बताइन् ।

गाउँका अधिकांश पुरुषहरु रोजगारीमा भारत र तेस्रोमुलुक रहेकोले महिला, बालबालिका र बृद्धबृद्धा मात्र उपचारका लागि स्वास्थ्य शिविरमा पुगेका थिए । स्वास्थ्य शिविरमा बिरामीको चेकजाँच गरेका डाक्टर विष्णुप्रसाद जैशीले स्त्री रोग, दम, पेट, टाउको, हाडजोर्नी सम्बन्धी समस्या भएका धेरै विरामी आएको बताए ।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. संगीता बस्नेतले शिविरमा चेकजाँच गराउन आएका अधिकांश महिलाहरुमा तल्लो पेट, पाठेघर, पिसाबको सङ्क्रमण जस्ता धेरै समस्या देखिएको बताइन् ।

बालरोग विशेषज्ञ डा. नेहा रेग्मी, हाडजोर्नी विशेषज्ञ डा. मनोज भट्ट र नाक, कान, घाँटी विशेषज्ञ राघव सेढाइले बिमारीको चेकजाँक गरेका थिए । फाया नेपालका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले महिला तथा बालबालिकालाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?