+
+

पौडी खेल्दा शरीरलाई कस्तो फाइदा पुग्छ ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ १४ गते १३:२८

गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाइरहेका हुन्छन् । जस्तै, छाता ओढेर हिंड्ने, सनग्लास, सनस्क्रिन लगाउने, पूरा बाहुला भएको खुल्ला लगाउने लगाउने गरिरहेका हुन्छन् । यसबाहेक गर्मी छल्ने राम्रो उपाय हो पौडी अर्थात् स्वीमिङ ।

स्वीमिङ गर्नका लागि सहरी क्षेत्रमा जताजतै स्वीमिङ पुल (पौडी पोखरी) देख्न सकिन्छ । गाउँघरमा खोलामा गएर पौडी खेल्ने चलन अझै पनि छँदैछ । स्वीमिङ पुलमा बच्चादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । किनकि अहिले स्वीमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्वीमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ ।

हिजोआज स्कुलका साना नानीहरुलाई पनि स्वीमिङ लैजाने चलन छ । भक्तपुरको च्याम्हासिंहस्थित मर्निङ ग्लोरी किन्डरगार्डेनकी प्रधानाध्यापक स्वर्णिमा मूल आफ्नो स्कुलका बालबालिकालाई बर्सेनि स्वीमिङ लैजाने गरेको बताउँछिन् ।

‘अहिले किताबी शिक्षाभन्दा पनि व्यावहारिक शिक्षामा जोड दिएका कारण पौडी यसरी खेल्ने भनेर फोटोमा देखाउनुभन्दा पनि स्वीमिङ पुलमै लगेर सिकाउँदा प्रभावकारी हुन्छ,’ उनी भन्छन् ।

स्वीमिङले मनोरञ्जन प्रदान गर्ने मात्र नभई शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ । गर्मी बढेसँगै स्वीमिङ पुलमा मानिसहरुको चाप बढेको भक्तपुर पलाँसेस्थित काठमाडौं फन भ्यालीका सञ्चालक सुजन थापा बताउँछन् ।

‘अहिले स्कुल–कलेजका विद्यार्थीको चाप निकै बढेको छ । अहिले किताबी ज्ञान मात्रै भन्दा पनि व्यावहारिक शिक्षामा ध्यान दिएपछि झन् मन्टेश्वरीका स–साना बालबालिकालाई पनि स्वीमिङ पुलमा ल्याउने गर्छन्,’ उनी भन्छन्, ‘यहाँ स्वीमिङको साथै पानीमा खेलेर बालबालिकाले अन्य धेरै कुरा सिक्छन् ।’

अहिले शनिबार र सार्वजनिक बिदाको दिन स्वीमिङ पुलमा निकै भीडभाड हुने थापा बताउँछन् ।

स्वीमिङका फाइदा

पौडी खेल्दा शरीरको सम्पूर्ण भागको व्यायाम हुन्छ । पौडी खेल्दा शरीरका सबै अंग चलायमान हुने भएकाले शरीर स्वस्थ र फूर्तिलो राख्न मद्दत पुग्ने जनरल फिजिसियन डा. रामहरि चापागाईं बताउँछन् । साथै पौडी खेल्दा मनोरञ्जन पनि प्राप्त हुन्छ ।

स्वीमिङले शरीरको हड्डी मजबुत बनाउन, मांसपेशी कसिलो बनाउन, शरीर फिट राख्न सहयोग गर्छ । विभिन्न अध्ययनअनुसार स्वीमिङले बोन मिनरल डेन्सिटी (बीएमडी) र फेमोरल बोन दुवैलाई नियन्त्रण गने र यसो हुँदा हड्डीको वृद्धिमा सहयोग पुग्ने डा. चापागाईं बताउँछन् ।

स्वीमिङ गरेको शुल्क कति ?

स्वीमिङ पुलको सुविधाअनुसार मूल्य तलमाथि हुन सक्छ । सामान्यतया ३०० रुपैयाँभन्दा बढी स्वीमिङ शुल्क लाग्छ । पाँचतारे होटल र रिसोर्टहरुमा रहेका स्वीमिङ पुलमा भने अलि बढी शुल्क पर्न सक्छ । स्वीमिङ पुलमा विद्यार्थीहरुलाई भने केही छुट दिने गरिएको छ । काठमाडौं फन भ्यालीमा ४५० रुपैयाँ शुल्क लिने गरिएको सञ्चालक थापा बताउँछन् ।

स्वीमिङ गर्दा स्वीमिङ कस्ट्युम अनिवार्य हुन्छ । कुनै स्वीमिङ पुलमा केही रकम तिरेर त्यही कस्ट्युम व्यवस्था पनि गरिएको हुन्छ, तर सकेसम्म आफ्नै स्वीमिङ कस्ट्युम लिएर जाँदा राम्रो हुने थापा बताउँछन् ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?