+
+

कोशीमा कांग्रेस नेताको प्रश्न : कहिलेसम्म सुरक्षा घेरामा बैठक चलाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:५१

१४ जेठ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक कहिलेसम्म सुरक्षा घेरामा चलाउने भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् ।

नामकरणको विपक्षमा रहेका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले आइतबार प्रदेशसभा बैठकस्थलबाहिर प्रदर्शन गरेका थिए । प्रदेशसभा क्षेत्रलाई निषेधित क्षेत्र तोकेर ठूलो संख्यामा प्रहरी परिचालन गरेर आइतबार प्रदेशसभा बैठक सञ्चालन गरिएको थियो ।

कांग्रेस नेता थापाले फेरि पनि सुरक्षा घेराभित्र बसेर सभा सञ्चालन गर्न नैतिकताले नदिने बताए । वार्तामार्फत समस्या समाधान गर्न माग गर्दै थापाले सरकारलाई प्रश्न गरे, ‘कहिलेसम्म सुरक्षा घेरामा रहेर अधिवेशन सञ्चालन गर्ने ?’

आन्दोलनलाई कमजोर ठान्न नहुने बताउँदै उनले सरकारले वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए अहिलेको अवस्था नआउने पनि बताए । आन्दोलनलाई वार्ताबाट सम्बोधन गरेको उदाहरण प्रस्तुत गर्न पनि नेता थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरे ।

आन्दोलनको आवाजलाई सरकारले नसुनेको बताउँदै उनले भने, ‘सरकारले बन्दुकको बलबाट आवाजलाई दबाउने कोशिस गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?