+
+

नक्कली भुटानी शरणार्थी प्रकरण : ५ आरोपीको बयान सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते २०:५३

१४ जेठ, काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ।

जिल्ला अदालत, काठमाडौंमा आइतबार आरोपी टंक गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान भयो। यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको छ।

राई मोरङको पथरीशनिश्चरेका पूर्ववडाध्यक्ष हुन्। मोरङका दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। महर्जनका प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन्।

ठगी गरिएको रकम उनको खातामा पनि जम्मा भएको पाइएपछि प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो।

अदालतमा बयान दिँदै उनले शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी छन्। एक जना कानून व्यवसायीका अनुसार, आइतबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको बयान लिने तयारी थियो।

तर, न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाससामू उभिएर उनले आफूलाई विसञ्चो भएको बताउँदै बयान दिन मानेन्। सुरुमा ब्रेक समयपछि बयान दिने बताएका उनले त्यसपछि पनि विरामी भएको भनेपछि मंगलबारलाई उनको बयान सरेको छ।

पक्राउ परेका १७ जना प्रतिवादीहरुको थुनछेक बहस अघि अहिले बयान भइरहेको हो। बयानपछि बहस हुनेछ, त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने तीन मध्ये एक निर्णय सुनाउनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर भएको थियो।

आरोपितहरुमध्ये १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन्। सबैविरुद्ध संगठित ठगी, राष्ट्रहित प्रतिकूल हुने कसूर र कीर्ते गरेको अभियोग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?