+
+

आर्थिक सुधारको बाटोमा बजेट, कार्यान्वयन चुनौतीपूर्ण : परिसंघ अध्यक्ष अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते २१:५०
विष्णु अग्रवाल/फाइल तस्वीर

१५ जेठ, काडमाडौं । नेपाल उद्योग परिसंघले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक सुधारको बाटोमा रहेको बताएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सोमबार प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिंदै परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजेट समग्रमा आर्थिक सुधारको बाटोमा रहेको बताए ।
केही–केही क्षेत्रमा आर्थिक सुधारको बाटोमा बजेट देखिएको र केही क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहनको कार्यक्रम रहेको उनले बताए ।

बजेटको कार्यान्वयन संयन्त्र बनाउने, चोरी पैठारी नियन्त्रण गर्ने, औद्योगिकीकरणका लागि औद्यागिक क्षेत्रमा सरकार निजी क्षेत्र साझेदारी गर्ने जस्ता बजेटका घोषणा सकारात्मक भएको उनले बताए ।

सरकारी निकायमा स्वदेशी सामान प्रयोग, वन र वातावणको समस्यामा सहजीकरण, सिमेन्टको खपत बढाउन सडक निर्माण जस्ता बजेटका घोषणाले नेपाली औद्यौगिक क्षेत्रलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।

भन्सार छुटमा नेपालमा उत्पादन हुने निर्माण सामग्री आयात गर्ने आयोजनालाई गरिएको कडाइले नेपाली वस्तुको उपभोग बढ्ने अग्रवालको भनाइ छ । सूचना प्रविधिमा विदेशी लगानीको सीमा घटाउनु, अन्य क्षेत्रमा पनि क्षेत्रगत सीमा लागाउने कुराले लगानीको वातावरण सिर्जना हुने उनी बताउँछन् ।

‘हेजिङ, कन्ट्री रेटिङ, जस्ता विषयले बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको देखिन्छ भने आर्थिक सुधारमा अघि बढेको भन्न मिल्छ’ अध्यक्ष अग्रवालले भने । तर, सरकारले पूँजीगत खर्च घटाएको, ऊर्जा र आईटीमा खुलेर बजेट नआएको उनले बताए । केही रिफर्मको प्रोत्साहन गर्ने झल्को देखिए पनि बजेट कार्यान्वयन हुने कुरा र राजस्वको लक्ष्य पुरा हुने अवथा नदेखिंदा शंका बढेको उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?