
१६ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले टोटनहम तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।
५१ वर्षीय अर्जेन्टिनी पोचेटिनोले २०२३ जुलाई १ देखि चेल्सीमा आफ्नो काम सुरु गर्नेछन् । उनको सम्झौता दुई वर्षको हुनेछ र एक वर्षको सम्झौता थप गर्ने विकल्पसमेत छ ।
अन्तरिम प्रशिक्षक फ्र्यांक लाम्पार्डको प्रशिक्षणमा चेल्सीले यस सिजन १२औं स्थानमा रहेकर प्रिमियर लिग अन्त्य गरेको छ । २५ वर्षमा चेल्सी लिगमा सबैभन्दा तल रहेको हो ।
चेल्सीले पोचेटिनोलाई नयाँ म्यानेजरको लागि पहिलो रोजाईमा राख्दै आएको थियो । अब उनले स्पोर्टिङ डिरेक्टर पउल विन्स्टान्ले र लरेन्स स्टेवार्टसँग मिलेर काम गर्नेछन् ।
‘माउरिसियो विश्वस्तरीय प्रशिक्षक हुन् । जसको ट्रयाक रेकर्ड उत्कृष्ट छ,’ क्लबले विज्ञप्तीमा भनेको छ ।
गत मार्चमा एन्टोनियो कोन्टेले टोटनहम छाडेपछि पोचेटिनो पूर्व क्लबमा पर्कने चर्चा पनि थियो । तर, उनी लण्डन क्लबको प्रतिद्वन्दी चेल्सी लागेका छन् ।
स्पायनोलबाट प्रशिक्षण करिअर सुरु गरेका पोचेटिनोले १६ महिना साउथह्याम्पटनमा काम गरे भने २०१४ देखि २०१९ सम्म टोटनहमका प्रशिक्षक थिए । उनले २०१९ मा टोटनहमलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए ।
२०२२ जुलाईमा पीएसजी छाडेपछि पोचेटिनोले अन्य क्लबबाट आएको प्रस्ताव अस्वीकार गरेर बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4