१७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन् ।
भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् ।
अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा उनले भने,‘नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसद जस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमुना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिदैन ।’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यतिकुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’ उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठमा भारत भ्रमणमा जाँदैछन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4