+
+

गर्मीमा कोठामा कस्तो पर्दा लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते १७:३१

काठमाडौं । घरको सजावटमा पर्दाको पनि महत्वपूर्ण भूमिका खेल्छ । अहिले घरका कोठामा नयाँ नयाँ शैलीका पर्दा लगाउने चलन बढ्दो छ । त्यसमाथि जाडो र गर्मीयामका लागि छुट्टाछुट्टै पर्दा लगाउने पनि गरिन्छ ।

गर्मीयाम सुरु भइसकेको छ । यसबेला कोठालाई उज्यालो र शीतल दुवै बनाउन बजारमा विभिन्न खालका पर्दा उपलब्ध छन् । गर्मीयाममा कस्तो पर्दा रोज्ने ? ललितपुर एकान्तकुनास्थित कुनाल फर्निसिङ पसलकी सञ्चालिका सृष्टि महर्जनले केही सुझाव दिएकी छन् ।

गर्मीमा कस्तो पर्दा ?

पर्दा विभिन्न आधारमा छनोट गर्न सकिन्छ । पहिलो झ्यालमा पर्दाको छनोट कोठाको भित्तामा रंगाएको रंग, फर्निचर, कार्पेटमा भर पर्छ । यी सबै र पर्दाको बीचमा राम्रो तालमेल हुनेगरी पर्दाको छनोट हुनुपर्छ । यस्तो भएमा मात्र कोठा आकर्षक देखिन्छ ।

दिउँसो एक खालको र राति अर्कै खालको पर्दा लगाउँदा राम्रो हुन्छ । दिउँसो गर्मी हुने भएकाले पातलो (नेट कटन) पर्दा लगाउँदा हावा र घामको सजिलै कोठामा छिर्न पाउँछ । बेलुकाका लागि अलि बाक्लो नाइनल कपडाको पर्दा लगाउनु राम्रो हुन्छ । यस आधारमा गर्मीमा दुईखालका पर्दा प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कोठाअनुसार फरक-फरक पर्दा

घरमा कोठैपिच्छे फरक-फरक रंग तथा डिजाइनका पर्दा राख्दा राम्रो देखिन्छ । किनकि घरको सबै कोठामा एउटै खालका पर्दा लगाउँदा कुनै फरक वा नयाँ अनुभूति हुन सक्दैन । त्यसैले कोठालाई आकर्षक मात्रै होइन, फरक देखाउन पर्दा पनि फरक-फरक डिजाइन र रंगको लगाउनु राम्रो हुन्छ ।

पर्दाका रंग अनेक

विशेषगरी सेतो, खैरो, रातो, सुनौलो, हल्का पहेंलो, क्रिम, गुलाबी रंगका पर्दा धेरैले रुचाएको पाइन्छ । यीबाहेक चम्किला तथा बोल्ड कलर र विभिन्न प्रिन्टेट पर्दा, एउटा पर्दामा तलमाथि फरक-फरक रंग ग्राहकको रोजाइमा परेका छन् । रंग नखुइलिने, धुन सजिलो खालका पर्दा रोज्ने गर्छन् । साथै पर्दाले कोठा उज्यालो तथा आँखालाई शीतल प्रदान गर्ने खालका पर्दा प्रयोग गर्नुपर्छ ।

प्रकाशको आधारमा

सामान्यतया कोठामा कडा घाम आउने भएमा गाढा रंगको कटनको पर्दा लगाउनुपर्छ । त्यस्तै कोठामा पर्याप्त प्रकाश नआउने भए हलुका रंगको पर्दा प्रयोग गर्नुपर्छ । पर्दाको कुरा गर्नु पर्दा गर्मी मौसममा हल्का रंगका सुती पर्दा राम्रो हुन्छ ।

लम्बाइको आधारमा

पर्दाको लम्बाइ ग्राहकको इच्छाअनुसार फरक-फरक हुन्छन् । त्यस्तै घरको बनावटको आधारमा पनि हुने गर्छ । पुरानो घर छ भने सामान्यतया नाइनलको पर्दा झ्याल मात्र छोप्ने राख्ने गरिन्छ । तर अहिले पक्की घर तथा अफिसमा लामा-लामा भुईंसम्मै छुने खालका पर्दा धेरैले रुचाएको पाइन्छ ।

कसैको भने भुईंभन्दा एक-दुई इन्च माथि पनि राख्ने गरिन्छ । पर्दाको कपडामा नाइनल, नेट र हल्का रंगका सुती पर्दा राम्रो हुन्छन् ।

कति पर्छ मूल्य ?

सामान्यतया एउटा झ्यालका लागि एक हजार रुपैयाँदेखि पर्दाको मूल्य सुरु हुन्छ । पर्दाको डिजाइन र कपडा अनुसार मूल्य बढ्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?