+
+
मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहसँग संवाद :

‘आमाको विरासत पछ्याउँदै जाँदा आफ्नै सपना फेला पारें’

हरेक सुन्दरीका लागि विज्ञतासँग ब्युटी पेजेन्टलाई जोड्नु महत्वपूर्ण पक्ष हो । प्रसिद्धि पनि मिस नेपालमार्फत सामाजिक सेवा र वातावरण संरक्षणको कुरालाई फैलाउन चाहन्छिन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० जेठ १७ गते १८:००

काठमाडौं । ठीक २९ वर्षअघि रुबी राणाले प्रथम मिस नेपालको ताज जित्दा धेरैलाई लागेको थियो, सुन्दरी प्रतियोगिता देह सौन्दर्यबाहेक केही होइन । त्यसयता गोदावरी खोलामा धेरै पानी बगिसकेको छ । यसै साता गोदावरीको भव्य ग्राण्ड फिनालेमा उनै पहिलो मिस नेपालकी छोरी प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेसनल-२०२३ को उपाधि जितिन् ।

यो तीन दशकको छेकोमा सौन्दर्यलाई हेर्ने, बुझ्ने र परख गर्ने नेपाली समाजको चेतना बदलिएको छ । रुबीदेखि प्रसिद्धिसम्म आइपुग्दा अब मिस नेपाल बौद्धिकता, क्षमता र आत्मनिर्णय गर्ने महिलाको प्रतिष्ठा बनिसकेको । एकातिर पहिलो मिस नेपालसमेत रहेकी आमाको ‘लिगेसी’ र अर्कोतिर आफ्नै हुटहुटी । यी दुई कुराको दोसाँधमा प्रसिद्धि मिस इन्टरनेसनलको उपाधिका लागि योग्य पनि थिइन् । अन्तिम २४ देखि टप फाइभसम्म पुग्दा प्रसिद्धिको आत्मविश्वास हेर्नलायक रह्यो ।

ताज जितेपछिको अर्को दिन अनलाइनखबरसँग गफिंदा प्रसिद्धिको त्यो फिनाले जोश हराइसकेको थिएन । मुस्कान अझै बाँकी थियो । ‘एकदमै भाग्यमानी ठानिरहेको छु,’ हिडन ट्रेजरको कार्यालयमा गुलाबी पहिरनमा सजिएकी प्रसिद्धिले भनिन्, ‘म आफूलाई मेहनती, लगनशील र सिक्न खोज्ने मान्छे ठान्छु । हुन सक्छ यही कारण भाग्यले मलाई साथ दियो ।’

वातावरण विज्ञानमा स्नातक उनी भारतमा हुँदा स्वयंसेवी शिक्षिका थिइन् । काठमाडौंको प्रिमियर कलेजमा पनि कक्षा ९, १० लाई पढाइन् । बालबालिकालाई औधी माया गर्छिन् । ‘मिस इन्टरनेसनलको ताज पहिरिएर बालबालिकालाई केही गर्न सक्छु कि भन्ने सोचाइ बनेको छ,’ उनी भन्छिन् ।

रोचक कुरा के छ भने प्रसिद्धिको मिस नेपाल यात्राबारे आमा रुबीलाई थाहा थिएन । एकैपटक आवेदन फर्म भरेपछि उनले घरमा सरप्राइज दिएकी थिइन् । ‘ग्ल्यामर, मोडलिङ र क्यामेराअघि उभिनु मेरो बलियो पक्ष होइन । किनभने म पढाइलेखाइमा धेरै लागिपरें । त्यसमा धेरै लाग्दा आफूलाई ध्यान दिइनँ । जिम गर्दै गएँ र फर्म भरेपछि सरप्राइज दिएँ,’ उनले खुलाइन् ।

आमा रुबीले पनि छोरीले मिस नेपालमा भाग लिन्छिन् भनेर आफूले सुरुमा सोच्न नसकेको तर फर्म देख्दा सरप्राइज भएको बताइन् । प्रभावित हुनु मानवीय स्वभाव हो । आमाको लिगेसीबाट छोरी प्रसिद्धि प्रभावित नहुने कुरै भएन ।

‘मेरो अवचेतन मनले पनि आमाको लिगेसीलाई पछ्याउनुपर्छ भनिरहेको थियो भने अर्कोतर्फ आफ्नै सपना पनि पूरा गर्नुपर्ने थियो,’ उनले मिस नेपालमा भाग लिनुको कारण खुलाइन्, ‘ममीको लिगेसीलाई पछ्याउन खोजे हुँला तर त्यही लिगेसीलाई पछ्याउने क्रममा मैले एड्भोकेसीलाई फेला पारें । व्यक्तित्व विकास गर्ने मौका देखेँ । कहीं न कहीं मेरो आफ्नो गोल चाहिं थियो ।’

‘क्राउन जितेर आउँदा ममी एकदमै खुसी हुनुभयो । फेमिलीबाट सपोर्ट पनि मिल्यो । घरको माहोल पनि खुसीले भरिएको छ अहिले,’ प्रसिद्धिले भनिन् । रुबीलाई पनि लाग्छ, प्रसिद्धि किताब र इन्साक्लोपेडियाकी कीरा हुन् । किताबी कीरालाई सौन्दर्य प्रतियोगितामा भाग लिने सोच कसरी आयो ? ‘किताबी कीराहरुले पनि भाग लिनुभएको छ । डाक्टरले लिनुभएको छ । नर्सले लिनुभएको छ । पाइटले लिनुभएको छ । प्रोफेसन त जुनसुकै आउन सक्ने भयो,’ प्रसिद्धिले आफ्नो बचाउ गरिन् ।

यसबाहेक ब्युटी विथ पर्पस जितेका पूर्वमिस नेपालहरुबाट प्रसिद्धि निकै प्रभावित थिइन् । ‘समाजलाई मैले दिने योगदानलाई मिस नेपालले एम्प्लिफाइ (फैलाउनु) गर्छ भन्ने कुरा पहिल्यैदेखि बुझेर आएकी छु । अघिल्लो पटकको ब्युटी विथ पर्पसका विजेतालाई नै हेर्नुस् अनुष्का श्रेष्ठ, श्रृंखला खतिवडा, इशानी श्रेष्ठ, नम्रता श्रेष्ठले पनि एउटा पुल बनाउनुभयो । त्यो कुराले मलाई धेरै प्रभावित पारेको थियो,’ उनले आफू मिस नेपालमा आउनुको कारणबारे खुलाइन् ।

पूर्वमिस नेपालमध्ये श्रृंखला खतिवडा उनकी मनपर्ने आइकन हुन् । ‘उहाँ पनि किताबी कीरा हुनुहुन्छ र हार्वर्ड जानुभएको छ । म पनि मास्टर्स र पीएचडी डिग्रीको लागि प्रतिष्ठित कलेज विश्वविद्यालयमा जान पाऊँ, उहाँ पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । म पनि भविष्यमा त्यतै जाने योजनामा छु,’ उनले योजना सुनाइन् ।

हुन सक्छ यही कारण जापानमा आयोजना हुने आसन्न मिस इन्टरनेसनल प्रतिस्पर्धामा उनी नेपालको संस्कृति र एजेण्डालाई प्रस्तुत गर्ने तयारीमा छिन् । यसका लागि उनलाई जापानी भाषा पनि सिक्नुपर्ने छ । भन्छिन्, ‘यो पेजेन्ट जापानी भाषामा हुने भएकाले भाषा सिक्ने तयारी गर्दैछु । जापानी संस्कृति पनि बुझ्नुपर्‍यो । नेपाली संस्कृति झल्काउन पनि उहाँहरुको संस्कृतिलाई पनि सम्मान गर्नुपर्‍यो । प्रोजेक्ट गर्नुपरेमा बालबालिका र वातावरणसम्बन्धी विषयमा गर्छु ।’

मेहनत र लगनशीलताकै कारण आफूले मिस इन्टरनेसनलको उपाधि जित्न सक्ने सपना उनमा छ । क्राउन जित्न के चाहिने रहेछ ? उनलाई लाग्छ ‘आत्मविश्वास’ भए सबथोक जितिन्छ । ‘क्राउन जित्न पनि चाहिने आत्मविश्वास हो । त्यो स्टेजमा खुट्टा कामे पनि बोली काम्नु भएन,’ उनी भन्छिन् ।

प्रसिद्धिको आफ्नै सामाजिक संस्था छ कोपिला । पहिरोले क्षतिग्रस्त सिन्धुपाल्चोकको यो विद्यालयको पुनर्निर्माणदेखि बालबालिका शिक्षा र वातावरण संरक्षणसम्मको एजेण्डालाई उनी अन्तर्राष्ट्रियकरण गर्न चाहन्छिन् । ‘मैले यसलाई अघि बढाउन मिस नेपालको प्लेटफर्मले हेल्प गर्छ । मिडिया पर्सनले मेरो दृष्टिकोणलाई फैलाउन मद्दत गर्नुहुन्छ भनेर सहभागिता जनाएकी हुँ,’ उनी भन्छिन् ।

हरेक सुन्दरीका लागि विज्ञतासँग ब्युटी पेजेन्टलाई जोड्नु महत्वपूर्ण पक्ष हो । प्रसिद्धि पनि मिस नेपालमार्फत सामाजिक सेवा र वातावरण संरक्षणको कुरालाई फैलाउन चाहन्छिन् । ‘मेरो जस्तो सोचाइ भएकाहरुसम्म यसलाई लैजान्छु भन्ने लागेको छ । मैले सञ्चालन गरेको कोपिला प्रोजेक्ट अझै ठूलो हुन्छ र फन्डिङमा पनि नेपाली जनताले सहयोग गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भनिन् ।

उनलाई लाग्छ सबैभन्दा राम्री मान्छे नै मिस नेपाल हुनुपर्छ भन्ने छैन । ‘राम्री भन्ने कुरा दृष्टिकोणमा निर्भर हुने कुरा हो,’ उनको बुझाइ छ ।

प्रसिद्धिलाई नाच्न गाउन आउँदैन । अघि नै भनियो, उनी पुस्तककी कीरो हुन् । उनी फिक्सन र ननफिक्सन पुस्तक पढ्न रुचाउँछिन् । रुपी कौरको पुस्तक ‘मिल्क एण्ड हनी’ उनको प्रिय पुस्तक जसले महिलामाथिको हिंसा र बलात्कार उल्लेख गर्छ । ‘त्यो पुस्तक मैले पढेकोमध्ये उत्कृष्ट हो । काव्य शैलीमा लेखिकाले पीडा पोख्नुभएको छ । त्यो पढ्दाखेरि मैले पनि महिला भएर त्यो बुकमा उहाँको अनुभवलाई महसुस गरें । त्यो बुकमार्फत मैले ती कुराहरु मनमा सँगालेर राखेकी छु,’ पुस्तक अनुभवबारे उनले भनिन् ।

मौका मिले महिलालाई सशक्त र स्वतन्त्र रुपमा चित्रण गरिएका फिल्मका पात्रमा अभिनय गर्ने उनको सोच छ । उनी राजेश हमाल र विजय लामासँग स्क्रिन सेयर गर्न चाहन्छिन् । बहिनी प्रशंसाले बाल कलाकारको रुपमा फिल्म ‘हँसिया’मा राजेश हमालसँग अभिनय गरेकी थिइन् । पछिल्लोपटक हेरेकोमध्ये मनपर्ने फिल्म चाहिं उनलाई ‘ऐना झ्यालको पुतली’ हो । मिस नेपालको यात्रामा अर्की प्रतिस्पर्धी आयुष्मा बराल उनकी मिल्ने ‘सास सिस्टर’ बनिन् । आफूले मिस पपुलर च्वाइस सहविधामा जितेको २५ हजार रुपैयाँ पनि आयुष्माले सञ्चालन गरेको मुसहर समुदायको प्रोजेक्टलाई योगदान गर्ने उनको सोच छ ।

मिस नेपाललाई वातावरण र बालबालिकाको हितसँग जोड्न खोज्ने प्रसिद्धिको प्रयत्न चाहिं लोभलाग्दो छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर   

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?