+
+

संयुक्त राष्ट्रसंघ सधैं नेपालको हित चाहन्छ : नेपाल प्रमुख हान्ना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते ६:५६

१८ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र संघ सधैं नेपालको विकास चाहाने बताएकी छिन् ।

बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र संघले सधैं सहयोग गर्ने बताएकी हुन् ।

उनले दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नितिको रणनीति तयारी नेपाललको प्रशंसा योग्य रहेको बताइन् । नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्ति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरुबीच समन्वय गर्न इच्छुक रहेको उनले बताइन ।

आगामी सेप्टेम्बरमा न्यूयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलन सफल बनाउनका लागि नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरिन् ।

दिगो विकास सम्मेलनमा नेपालको प्रभावकारी उपस्थितिका लागि आवश्यक तयारीका लागि सहयोग गर्नसमेत इच्छुक रहेको उनले बताइन् । भेटका क्रममाउनले स्केलिङ अफ न्यूट्रेसन (एसयूएन) का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेको समेत बताएकी थिइन् ।

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए ।

उनले नेपालले तयार गरिरहेको ‘स्मुथग्राजुएसन स्टेटिजी’लाई अन्तिम रुप दिई सो को प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकिएको बताए । यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरुसँग समन्वय र सहयोगका लागि भूमिका खेल्ने अपेक्षा रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठले दिगो विकास लक्ष्य हासिलगर्दा नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल हुने तथा राष्ट्रिय विकास लक्ष्य हासिल हुँदा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्ने भएकाले यी दुवै विषय एक आपसमा परिपुरक भएको हुदाँ यसमा नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्वपूर्ण हुने धारणा राखेका थिए ।

बैठकमा आयोगका सदस्य डा. रामकुमार फुयालले नेपालमा दिगो रोजगारीको अवसरको सिर्जना र सामाजिक सुरक्षा कार्यक्रमहरुको दिगोपनाको सुनिश्चितता गर्नु आवश्यक रहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघका तर्फबाट यस सम्बन्धमा सहयोग अपेक्षा रहेको बताए ।

आयोगका सचिव केवलप्रसाद भण्डारीले नेपालले खाद्य प्रणालीमा कठिनाइ भोगिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय खाद्य सम्मेलनले नेपालजस्ता मुलुकहरुको समस्यालाई मूल्याङ्कन गरी आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

नेपालले हालसम्म तीनवटा राष्ट्रिय तथा सातवटा प्रादेशिक खाद्य बहस सञ्चालन गरिसकेको जानकारी दिंदै यस विषयलाई सरकारले उच्च महत्व दिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?