+
+

उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

डा. विकास पौडेल, छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल, छाला तथा यौनरोग विशेषज्ञ
२०८० जेठ १८ गते १६:३८

गर्मी मौसम अनि त्यसमाथि उडुसको टोकाइ । सम्झिंदा मात्रै पनि धेरैलाई आफ्नो पूरै जीउ चिलाएको महसुस हुन्छ । लामखुट्टे र उपियाँजस्तो बाहिर नदेखिने भएकाले उडुसले कतिबेला टोक्छ, चाल पाउनै सकिंदेन ।

उडुसले टोक्दा केही क्षण चिलाउने र हराउने भएकाले यसबारे त्यति चासो पनि हामी दिंदैनौं । यसको टोकाइबाट कुनै दीर्घकालीन स्वास्थ्य समस्या त आउँदैन ? भन्ने प्रश्न पनि आउन सक्छ ।

उडुसले टोक्दाका लक्षण

उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा छालामा विभिन्न एलर्जी हुन्छ । टोकेको ठाउँमा निरन्तर चिलाउने, डाबर देखिने र घाउसमेत हुन सक्छ । कहिलेकाहीं त चिलाउँदा चिलाउँदै ठूलो घाउ समेत हुने सम्भावना हुन्छ । टोकेको केही दिन वा हप्ता दिनसम्म पनि चिलाउन सक्छ ।

कहाँ-कहाँ टोक्छ ?

सामान्यतया लुगाले नढाक्ने शरीरका हात, खुट्टा, घाँटी, कानमा उडुसले धेरै टोक्छ । दिउँसोभन्दा पनि राति उडुसले धेरै टोक्छ । उडुसले क्यु फिबर, हेपाटाइटिस तथा अन्य सर्ने रोग सार्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

उपचार

उडुसले टोकेको निको पार्न लगाउने र खाने दुवै औषधि हुन्छ । उडुसले टोकाइले उत्पन्न संक्रमण सामान्य छ भने एन्टिसेप्टिक क्रिम भए पुग्छ तर कहिलेकाहीं एन्टिबायोटिक औषधि पनि खानुपर्ने हुन सक्छ । उडुसको टोकाइमा संक्रमणबाट जोगिन एन्टिसेप्टिक क्रिम वा लोसन लगाउनुपर्छ । त्यस्तै पूरा बाहुला भएको लुगा लगाउँदा पनि टोकाइबाट जोगिन्छ । तर यसबाट नियन्त्रण मात्र हुन्छ निर्मूल उपचार भने होइन । यसले कुनै दीर्घरोग भने हुँदैन ।

उडुस निर्मूल गर्ने सुरक्षित तरिका

लामुखट्टेलाई जस्तै धुप, लिक्विड वा झुल हालेर भगाउन सकिंदैन । उडुस नष्ट गर्ने विभिन्न तरिका भए पनि सुरक्षित खाले, रसायन वा विषादीको प्रयोग गरेर निर्मूल गर्ने गरिन्छ । यो तरिका हानिरहित, सुरक्षित र प्रभावकारी मात्र होइन, कम खर्चिलो समेत छ । यो आफैं गर्नुभन्दा पनि अनुभवी व्यक्तिलाई छर्कन लगाउँदा उचित हुन्छ ।

सहरबजारमा भ्याकुमले सफा गर्दा पनि उडुस केही नियन्त्रणमा आउन सक्छ । तर भ्याकुम मेसिनमा जम्मा भएका उडुसलाई प्लास्टिकको थैलोमा हावा नपस्ने गरी बाँधेर पर फ्याँक्नुपर्छ । नत्र फेरि घर फर्किन सक्छ ।

धुन नमिल्ने लुगा (डसना, सिरानी, सिरक)लाई चाहिं कडा घाममा मज्जाले सुकाउनुपर्छ । कालो प्लास्टिकको थैलोमा लुगाफाटो राखेर चर्को घाममा केही घण्टा राख्दा पनि उडुसबाट उन्मुक्ति मिल्न सक्छ ।

उडुसबाट कसरी बच्ने ?

उडुसले पुदिनाको गन्ध सहन नसक्ने भएकाले पुदिनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्न सकिन्छ । यदि घरमा साना बालबच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुपर्छ । सुत्ने बेलामा पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

त्यस्तै रातो खुर्सानीको गन्धले पनि उडुस छिटो भाग्छन् । रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् । लेवेण्डर र रोजमरीको स्पे्र गर्नाले पनि उडुस नियन्त्रण हुन्छ ।

उडुस मुख्यतया सरसफाइको कमीले आउँछ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न चाहिं कठिन हुन्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पौडेल पाटन अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?