+
+

पापाराजीले किन पछ्याइरहेका छन् बलिउड सेलिब्रिटीदेखि ह्यारी-मेगनसम्मलाई ?  

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १२:१२

काठमाडौं । ३१ अगस्ट १९९७ को रात । पेरिसको सडकमा भएको एक दुर्घटनाले विश्वभर सनसनी मच्याउँछ । किनभने उक्त दुर्घटनामा बेलायती राजकुमारी डायनाको निधन हुन्छ । त्यसबेला उनी आफ्ना ब्वाइफ्रेन्डसँग मर्सिडिजमा कतै गइरहेकी हुन्छन् ।

डायना, जसको सुन्दरता र प्रभावले दुनियाँलाई आफ्नो केन्द्रमा राखेकी थिइन् । उनको त्यो मादक मुस्कान, उदार सामाजिक भाव र प्रेमिल हृदयले अनगिन्ती मन पगालेको थियो । बेलायतको राजघरानाकी यी सदस्य विवाहेत्तर सम्बन्ध एवं खुला प्रेम-जीवनको कारण पनि चर्चाको उत्कर्षमा थिइन् ।

त्यसैले पनि उनलाई हरक्षण पापाराजीले पछ्याइरहेका हुन्थे । कुनै यस्तो क्षण हुँदैनथ्यो, जहाँ उनी क्यामेराको लेन्सबाट ओझेल भएको होस् । भनिन्छ, सडक दुर्घटना र उनको निधनको पछाडि पनि त्यही पापाराजी एउटा मुख्य कारण थियो ।

पापाराजीको आँखा छल्नका लागि तीव्र गतिमा कार हुँइक्याउँदा उनी दुर्घटनामा परेको बताइन्छ ।

अहिले उनै डायनाको दशा झेलिरहेका छन्, छोरा-बुहारी ह्यारी र मेगन मर्केल । १६ मे २०२३ को रात अमेरिकी सहर न्युयोर्कमा पापाराजीले उनीहरुको कारलाई दुई घण्टासम्म पछ्याइरहे । कारमा मेगनकी आमा पनि थिइन् । भनिन्छ, पापराजीबाट बच्न कार हुँइक्याउँदा उनीहरु पनि झण्डै दुर्घटनामा परेनन् ।

त्यसो त चर्चित सेलिब्रिटीहरु अक्सर पापाराजीबाट सताइएका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनमाथि चियो गर्ने र मनोमानी फोटो-समाचार सार्वजनिक गर्ने कुराबाट उनीहरु सकेसम्म भाग्न खोजिरहेका हुन्छन् । तर पापाराजीले छाडे पो !

पापाराजी, जसको कुनै संस्थागत मिडिया हुँदैन । उनीहरु स्वतन्त्र हुन्छन् । आफूखुसी फोटो खिच्छन् र विभिन्न माध्यमबाट सार्वजनिक गरिदिन्छन् । कुन सेलिब्रिटी कहाँ गए, कोसँग भेटे, के खाए, के लगाए इत्यादि कुरामा उनीहरु चियो गर्छन् । पापाराजीको फन्दामा बलिउड सेलिब्रिटीहरु पनि पर्ने गरेका छन् ।

केही समयअघि अभिनेत्री जया बच्चनको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी पापाराजीसँग भड्किएको देखिन्थ्यो । तापसी पन्नुको पनि यस्तै भिडियो सार्वजनिक भएको थियो ।

यस्तै केही दिनअघि पापाराजीले जथाभावी फोटो खिचेर पोस्ट गरेपछि अभिनेत्री आलिया भट्ट भड्किएकी थिइन् । दुई जना पापाराजीले आलिया भट्टको घर नजिक बसेर लुकीछिपी फोटो खिचेका थिए । आफ्नो अनुमतिबिना फोटो खिचेर सार्वजनिक गरिदिएपछि आलियाले सामाजिक सञ्जालमार्फत आफ्नो रिस पोखेकी थिइन्, त्यो पनि प्रहरीलाई ट्याग गरेर । आलियाले लेखेकी थिइन्, ‘के तिमीहरु ठट्टा गर्र्दैछौं ? म आफ्नो घरमा थिएँ । मध्यान्ह आफ्नो लिभिङ रुमा बसिरहेकी थिएँ । तब मलाई लाग्यो, कसैले मलाई चियो गरिरहेका छन् ।’ उनले प्रहरीलाई यस विषयमा ध्यानाकर्षण गराउँदै कारबाही गर्न माग गरेकी थिइन् ।

क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा पनि पापाराजीबाट हैरान छन् । उनीहरु आफ्ना छोरी वामिकालाई सकेसम्म क्यामेरा र मिडियाबाट अलग राख्न चाहन्थे । त्यसैले उनीहरुले छोरीको फोटो सम्भव भएसम्म सार्वजनिक गर्न दिएका थिएनन् । तर एक पापाराजीले गोप्य रुपमा वामिकाको फोटो खिचेर सामाजिक सञ्जालमा राखिएदिएपछि अनुष्का र विराट निकै आक्रोशित भएका थिए ।

सैफ अली खान र करिना कपुरले आफ्नो छोरा तैमुरलाई पनि सार्वजनिक जीवनबाट टाढा राख्ने यत्न गरेका थिए । जसै तैमुरलाई घर बाहिर ल्याइयो, तब उनी दर्जनौं क्यामेराको घेराबन्दीमा परे । उनको फोटो, भिडियो छताछुल्ल भयो ।

कटरिना कैफ र रणवीर कपुर पनि पापाराजीको फन्दामा परेको घटनाले निकै चर्चा पायो । त्यसबेला उनीहरु लुकीछिपी प्रेम सम्बन्धमा थिए । अतः कुनै समुन्द्री तटमा विन्दास रमाइरहेका उनीहरुको फोटो भाइरल भएको थियो । रातो र सेतो विकिनीमा रणवीरसँग उन्मुक्त रमाइरहेको फोटो जसै सार्वजनिक भयो, कटरिना रिसले चुर भइन् ।

त्यसो त पापाराजीसँग सेलिब्रिटीको ‘प्रेम र घृणा’को सम्बन्ध छ । कतिपय सेलिब्रिटीले पापाराजीलाई पैसा दिएर समेत आफूलाई पच्छ्याउन लगाउने गरेको बताइन्छ । भनिन्छ, अहिलेका पुस्ताका अभिनेत्रीहरु सारा अली खान, अनन्या पान्डे, जान्ह्वी कपुरलगायतले आफ्नो करिअरलाई अगाडि बढाउन पापाराजीबाट बढी भन्दा बढी फाइदा लिने गर्छन् ।

उनीहरुभन्दा एक कदम अगाडि छन्, राखी सावन्त, उर्फी जावेददेखि अञ्जली अरोडासम्म । उनीहरुले पापाराजीसँग निकै सुमधुर सम्बन्ध बनाउने गरेका छन्, ताकि आफूलाई क्यामेराले हरबखत पछ्याइरहोस् ।

भनिन्छ, बलिउडमा पापाराजी कल्चर सुरु भएको धेरै भएको छैन । खासगरी ऐश्वर्या राय र अभिषेक बच्चनको विवाहका क्रममा फोटोग्राफरलाई प्रवेश निषेध गरिएको थियो । अतः पापाराजीहरु उनीहरुको विवाहको फोटो गोप्य ढंगले खिच्न चाहन्थे । निर्देशक सुभाष घईकी छोरीको विवाहमा पनि यस्तै अवस्था थियो । विवाहस्थलमा क्यामेरा लान र फोटो खिच्न बन्देज गरिएको थियो । यद्यपि पापाराजीहरु भने जसरी पनि उक्त फोटो खिच्ने दाउमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?