 
																			२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतको मध्यप्रदेशस्थित महाँकालेश्वर मन्दिरमा गेरुबस्त्र लगाएर पूजा गरेको घटनाको बचाउ गरेका छन् । शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने बताए ।
आफ्नो सुरक्षाकर्मीले सकेसम्म गेरुबस्त्र नलगाउन कर गरेको तर मन्दिरमा मुख्य अतिथिले गेरुबस्त्र लगाउनैपर्ने नियमका कारण आफूले पनि लगाएको प्रधानमन्त्री प्रचण्डले बताए ।
‘प्रोटोकल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति । त्यसले देशलाई फाइदा हुन्थ्यो त ?’ उनले प्रश्न गरे, ‘म लाउन्न भन्दा के हुन्थ्यो त, एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । नेपालीहरु के हो, नेपाल सरकार के हो भन्थे । मैले सहज ढंगले लगाउँदा सबै खुशी ।’
भारत भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोरमा फोहोर व्यवस्थापन र सूचना प्रविधिको क्षेत्रमा भएको कामबारे अवलोकन गर्न गएका थिए । त्यसै क्रममा सांस्कृतिक शहर उज्जैनस्थित महाकालेश्वर मन्दिर दर्शन गर्न गएका थिए । त्यस क्रममा प्रधानमन्त्री र उनको टोलीमा सहभागी मन्त्रीहरुले गेरुबस्त्र लगाएर पूजा गरेका थिए ।
उक्त घटनापछि कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डले धार्मिक रुझान देखाएको भनेर विरोध पनि भइरहेको छ । प्रचण्डले भने आफू मनैदेखि धर्म निरपेक्षवादी भएको बताए ।
‘म मनैदेखि धर्मनिरपेक्षवादी हो । धर्मनिरपेक्ष भनेको धर्मविरोधी होइन नि, सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा नगरोस् भन्ने हो’ प्रचण्डले भने, ‘धर्म निरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मावलम्बी प्रति समान व्यवहार गर्नुपर्छ ।’
उनले उज्जैन धार्मिक पर्यटनको क्षेत्रमा नमूना रहेको बताए । त्यहाँ एकै दिन डेढ लाख मानिसहरु आउने गरेको भन्दै नेपालमा पनि पूर्वको पाथीभरादेखि पश्चिमको बडिमालिकासम्म धार्मिक पर्यटनको विकासको सम्भावना भएको बताए ।
आफू कम्युनिस्ट मात्र नभई प्रधानमन्त्री पनि भएको भन्दै सबै धर्मावलम्बीप्रति समान व्यवहार गर्ने बताए । ‘तपाईहरुले म मुस्लिम कम्युनिटीको कार्यक्रममा गएर मुस्लिमको टोपी लगाएर मुस्लिम भएको देख्नुभएको छ कि छैन ?, क्रिश्चियनको कार्यक्रममा गएर मन्त्र जप्दाखेरिको फोटो छ कि छैन ? म लुम्बिनीमा बुद्धको कार्यक्रममा त्यत्तिकै सहभागी भएको तपाईंहरुले हेर्नुभएको छ कि छैन ?’ प्रचण्डले प्रश्न गरे, ‘अनि हिन्दुमा जान नहुने अरुकोमा जान हुने भन्ने हुन्छ र ?’
उज्जैनमा आफूले पूजा गरेपछि एकथरिले के विचित्र देख्नुपर्यो भनेर लाज मानेको र एकथरीले सधैं गेरुबस्त्र लगाएर बसोस् भन्ने चाहेको भन्दै प्रचण्डले भने, ‘म कमण्डलु लिएर हिंड्ने पनि होइन, गेरुबस्त्र सधैं लाउने पनि होइन । यसलाई त हामीले सांस्कृतिक कूटनीतिको रुपमा किन नबुझ्ने ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4