+
+

अन्नपूर्णमा पहिलो पाइला : संसारभरी हल्लीखल्ली मच्चियो

मोरिस हर्जोग मोरिस हर्जोग
२०८० जेठ २१ गते ११:३१

मैले हिमाल चढेको बेला पश्चिमी मुलुकतिरबाट नेपाल जाने प्रचलन व्यापक थिएन । नेपालीले पश्चिमी मुलुकका गोरा मानिस निकै कम देखेका हुन्थे वा देखेकै हुन्थेनन् । गाउँलेहरू हामीलाई हेर्न आउँथे । यी कसरी सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरीर छाम्थे । हामी कस्ता मानिस हौं भन्ने उनीहरूमा कौतुहलता देखिन्थ्यो ।

हामी जहाँ पुगे पनि ‘लौ ! गोरो छाला भएका मानिसहरू आएका छन् रे, हेर्न जानुपर्छ’ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो । कोही चाहिँ अलि परैबाट लुकेर हेर्थे । जुन गाउँमा पुग्दा पनि गाउँलेहरू स्वागत गर्न आउँथे र दुवै हात जोडेर नमस्कार टक्राउँथे । बच्चाहरू चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे ।

मैले देखेको नेपाल र अहिलेको नेपाल त के तुलना गर्नु र ! केही पनि मिल्दैन । त्यतिबेला र यतिबेलाको नेपाल तुलना गर्दा ‘उही देश हो र ?’ जस्तो हुन्छ । त्यतिबेला नेपाल पश्चिमी मुलकका लागि पूरै अज्ञात थियो ।

एशियाली मुलुकका केही नक्साहरू त पाइन्थे । तिनमा नेपाल भन्ने नाम मात्रै उल्लेख हुन्थ्यो । नेपालभित्र के-के छ, कुन ठाउँ कता पर्छ र के हो भन्ने चाहिँ पूरै खाली हुन्थ्यो । हामीले पहिलो पल्ट नेपालको यात्रा गर्दा ठूला सडक थिएनन् । बस्ती पनि स-साना थिए । साना गोरेटा र झोलुङ्गे पुलहरू देखिन्थे । राजधानी काठमाडौंमै पनि गाडी थिएनन् ।

त्यो बेला नेपाल पस्न गाह्रो थियो तर पसेपछि जहाँबाट छिरेर जता पुगे पनि हुन्थ्यो, भिसा चाहिँदैनथ्यो । हिमालका लागि भनेर छुट्टै नियम र कानून थिएन । हर्ताकर्ता राजा थिएनन्, महाराजा थिए । तिनै महाराजा मोहनशमशेर राणाले हामीलाई हिमाल चढ्ने अनुमति दिएका थिए । त्यो बेला नेपाल पस्न अनुमति पाएपछि हिमाल आरोहण गर्ने अर्को अनुमति लिनै पर्दैनथ्यो ।

हामीलाई नेपालका हिमाल छान्ने अवसर थियो । हामीले पनि सगरमाथा नै ताक्यौं । सो समयमा बेलायतीहरूले सगरमाथा उक्लने बाह्रौं प्रयास गर्दै थिए । उनीहरूले सगरमाथा चढ्नको लागि धेरै नै तालिम गरिरहेका थिए । बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलारी पनि मेरा साथी नै थिए । उनीहरूले भने, ‘हामीले तिब्बती मोहडाबाट पनि पटक-पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस् ।’

त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ,’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं । हामी सगरमाथा चढ्न गएको भए उनीहरूलाई धोका दिएको जस्तो हुन्थ्यो । अन्ततः हामीले सन् १९५० मा ८ हजार ७५ मिटरको अन्नपूर्ण जेठो चढ्यौं, तिनले तीन वर्षपछि सन् १९५३ मा सगरमाथा चढे ।

संसारभरि हल्लीखल्ली

हाम्रो समूहका नौ जनामध्ये मसँगै चुचुरोमा गएका लास्नाल र म घाइते भयौँ । मलाई बोकेर ल्याइयो । त्यो आरोहणले ज्यानै त लिएन तर जीवनभर अपांग बनायो । हिउँले खाएर मेरा दुवै गोडा गुमे । कुर्कुच्चाको अलिकति भाग बाहेक हिउँले खायो । तलुवा खाली भएको कृत्रिम जुत्ता लगाउँछु

अन्नपूर्ण र धौलागिरीमध्ये कुन हिमाल चढ्ने भन्ने सल्लाह हुँदा हामीले अन्नपूर्ण छान्यौँ । आरोहण गर्न कठिन भएकाले पनि हामीले अन्नपूर्ण नै छानेका थियौं । सगरमाथा सबैभन्दा अग्लो भए पनि अन्नपूर्ण जस्तो कठिन हिमाल होइन । सगरमाथा धेरै सजिलो हिमाल हो । अन्नपूर्ण त धेरै ठाडो र खतरापूर्ण पनि छ । हिमपहिरो धेरै आउँछ । जे होस्, त्यो एउटा ज्यादै ठूलो साहसिक आरोहण थियो ।

हामीले अन्नपूर्ण आरोहण गरेपछि, ‘फ्रान्सेलीहरू ८ हजारभन्दा अग्ला हिमालमा गए, हिमालमा फ्रान्सेली झण्डा फहराए ! ती त्यत्रो हिमाल र उनीहरू को हुन् ?’ भनेर संसारभरी हल्लीखल्ली मच्चियो । नेपालका अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरिका मानिसहरूको आँखा खुल्यो ।

त्यतिबेलासम्म नेपालीहरू भारतमा र भारतीयहरू नेपालमा आउने-जाने गर्थे । त्यसमा कुनै समस्या थिएन र को आयो, को गयो भन्ने मतलब पनि हुँदैनथ्यो तर हामीहरूको बारेमा भने सोध-खोज हुन्थ्यो । त्यतिबेला नेपाल पस्न पश्चिमाहरूका लागि सजिलो थिएन । को आए, को गए, किन आए भनेर बढी निगरानी हुन्थ्यो ।

पण्डित जवाहरलाल नेहरूसँग मेरो चिनजान थियो । उनी भन्थे, ‘भारत को जननी हो ।’ त्यतिबेला टुक्रिन चाहेको पाकिस्तान र भारतबीच संघर्षहरू भइरहेका थिए । त्यसले गर्दा पनि उनीहरू पश्चिमाहरूलाई बढी चियोचर्चा र कडाइ गर्थे । भारतीयहरू नौला मानिसलाई अति नै शंका गर्थे । त्यस्तो बेलामा नेपाल पस्ने पहिलो इजाजत पाउने पश्चिमी मानिस हुनु हाम्रो पनि भाग्यकै कुरा थियो ।

हामीलाई विश्वका अग्ला हिमालहरू नेपालमा छन् भन्ने थाहा थियो किनकि बेलायतको भौगोलिक मापन सेवाको कार्यालय भारतमा थियो । त्यसले सबै हिमालहरूको उचाइ नापिसकेको थियो । बेलायतीहरू नेपाल प्रवेश गर्न नपाउने भएकाले त्यो नाप्ने काम उनीहरूले भारतबाटै फत्ते गरेका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने उनीहरूले नै पत्ता लगाएका हुन् । त्यो मापन गर्ने सर जर्ज एभरेष्ट भन्ने मानिस थिए र उनैको नामबाट त्यसलाई ‘एभरेष्ट’ भन्न थालिएको हो । त्यतिबेला दिल्लीस्थित बेलायती भौगोलिक मापन कार्यालयमा उनै प्रमुख थिए । पछि आफ्नोपन दिनका लागि नेपालीहरूले एभरेष्टलाई ‘सगरमाथा’ नाम राखे । त्यसको वास्तविक नाम त ‘चोमोलोङ्मा’ हो । स्थानीय तिब्बती भाषाको यो नाम नै मलाई पनि सगरमाथा र एभरेष्टभन्दा मिठो र मौलिक लाग्छ ।

चार महिनाको तयारी

नेपालमा ८ हजार मिटर अग्ला दस शिखर छन् । ती मध्येको एउटा हो अन्नपूर्ण । हामीले यस क्षेत्रमा जाने निधो गर्‍यौं र बाटो लाग्यौं । कालीगण्डकीको किनारै-किनार भएर जाँदा टुकुचे पुग्न तीन हप्ता लाग्यो । भारतबाट नेपालको सीमासम्म गाडीमा र त्यसपछि नेपाल-भारत सीमा क्षेत्रबाट चाहिँ पैदलैपैदल बुद्धको जन्मस्थल लुम्बिनी हुँदै बागलुङ भएर धौलागिरि क्षेत्र पुगेका थियौं ।

हामीसँग सगरमाथा क्षेत्रका नौजना शेर्पा र तीनजना गाइड थिए । उनीहरू निरन्तर हाम्रै साथमा रहिरहे । एकजना चिकित्सकलाई पनि सँगै लगेका थियौं । भारतस्थित K\/fन्सेली राजदूतावासका कूटनीतिज्ञ फँसिस द नोइएल पनि थिए । उनी अलिअलि गोर्खा भाषा बोल्थे । त्यो समयमा अंग्रेजी बोल्ने नेपाली पाइँदैनथे । त्यसैले शेर्पा खोज्ने काम नोइएलले गरे ।

त्यतिबेला पर्यटनको विकास भएको थिएन । शेर्पाहरू नाम कमाउन हिमाल चढ्ने चलन पनि थिएन । त्यसैले शेर्पा खोज्ने काम पनि सजिलो थिएन । आङ् थार्के शेर्पा भन्ने एकजना मूली शेर्पा खोजियो । बाँकी शेर्पा उनैले बटुले । ती एकदमै विश्वासिला, इमान्दार र नाम चलेका शेर्पा थिए । हाम्रो समूहमा मार्सेल भन्ने सिनास्थका अर्का एक व्यक्ति थिए । फोटो खिच्ने, सिनेमा बनाउने सबै काम उनैले गरे ।

आरोहणका लागि तयारी गर्न पनि हामीलाई चार महिना लाग्यो । खाना लगायतका सबै सामान यहाँबाटै लानुपर्ने भएकाले तयारी पनि व्यवस्थित नै गर्नुपर्ने थियो । नेपालमा त्यति बेला त्यस्ता सामान केही पनि पाइँदैनथ्यो । ओ हो ! सामान त कतिकति ! आठ टन त विमानमा राखेर यहींबाटै लगिएको थियो । विदेशीले के खान्छन् ? भन्ने पनि नेपालीहरूलाई थाहा थिएन । हामीले जे गरे पनि त्यहाँ नौलो हुन्थ्यो ।

त्यतिबेलै पनि ८ हजार मिटरको अन्नपूर्ण हिमाल प्रसिद्ध थियो । ८ हजार मिटर अग्लो हिमाल चढ्नु जोखिमपूर्ण हो भन्ने हामीलाई थाहा थियो । सबै उच्च हिमालको अनुभवका लागि जोखिम मोल्न तयार भयौं । उचाइको हावापानी, हिमाल चढ्ने तौरतरिका र अक्कलबारे पूर्ण ज्ञान लिएका थियौं । हामीले निकै राम्रो तयारी गरेका थियौं ।

आरोहणका क्रममा मर्न पनि सकिन्छ भन्ने भय त थियो नै सफलतापूर्वक काम फत्ते गरेर कुशलतापूर्वक फर्किन पाऊँ भन्ने कामना गर्दै हामी K\/fन्सको बुर्जे विमानस्थलबाट उड्यौं ।

हामीलाई भारतको दिल्ली पुग्न विमानमा तीन दिन लाग्यो । हामीले लगेको विशेष विमान हाम्रो आरोहणकै लागि मात्र गएको थियो । हामी मार्च महिनामा गएर जुलाई महिनामा फर्कियौँ । पाँच महिना लागेछ । २ सय ५० जना त भरिया थिए । एकथरीले तीन-चार दिन भारी बोक्दा अर्काथरीले आराम गर्थे । यसरी तीन-चार दिनको फरकमा आलोपालो गरेर उनीहरूले सामान बोकेका थिए ।

पहिलोपटक नेपालको हिमाल चढ्न गएकाले कस्तो छ, कहाँ बढी खतरा छ, कसरी चढ्ने ? भन्ने जानकारीहरू बाहिर आएका थिएनन् । यो हिमाल अप्ठेरो र अति नै जोखिमपूर्ण छ भन्ने थाहा थियो र जोखिमको अनुमान पनि गरेका थियौं । यसो भए पनि चढ्न सकिँदैन कि भन्ने दोधारे मन गरेनौं । हाम्रो मनमा चढेरै छोड्ने र सफल हुने दृढता थियो ।

महाराजाले फ्रान्सेली र अंग्रेजी दुवै भाषा नजान्ने । हामी गोर्खा भाषा र हिन्दी नजान्ने । त्यसैले दोभाषेमार्फत् मोहनशमशेरले हामीलाई सम्मान गरे । उनले भने, ‘तपाईंहरूले नेपालका लागि ठूलो काम गर्नुभयो । यो ठूलो बहादुरी हो । तपाईंहरू साहसी हुनुहुँदोरहेछ । विश्वभर नेपालको नाम फैलाइदिनुभयो । तपाईंहरूलाई धेरै धेरै स्याबास !’

अन्नपूर्ण हिमाल चढ्ने बेला मेरो उमेर ३१ वर्षको थियो । टोलीको सबैभन्दा पाको मै थिएँ । हुनत त्यो फ्रान्सेलीका लागि विवाहित भैसक्ने उमेर थियो तर चाहिँ त्यत्रो जोखिमपूर्ण आरोहणमा जानु छ के हुन्छ के हुन्छ ! किन अर्काको जीवनलाई दुःख दिने भनेर विवाह नगरी बसेको थिएँ ।

हाम्रो समूहका नौ जनामध्ये मसँगै चुचुरोमा गएका लास्नाल र म घाइते भयौँ । मलाई बोकेर ल्याइयो । त्यो आरोहणले ज्यानै त लिएन तर जीवनभर अपांग बनायो । हिउँले खाएर मेरा दुवै गोडा गुमे । कुर्कुच्चाको अलिकति भाग बाहेक हिउँले खायो । तलुवा खाली भएको कृत्रिम जुत्ता लगाउँछु ।

दुवै हातका औँला हिउँले बाँकी राखेन । सँगै गएका डाक्टरले सक्दो उपचार गरे । फर्किंदा दिल्लीमा उपचार गरियो । नेपाल र भारतमा त्यतिबेला त्यति राम्रो उपचार नभएकाले फ्रान्स आएर लामो समयसम्म अमेरिकी अस्पतालमा उपचार गराएँ ।

महाराजाको सम्मान

हिमाल चढिसकेपछि हामी दिल्ली फर्किनेवाला थियौं । बाटैमा महाराजा मोहनशमशेरले भेट्न निम्ता पठाएको खबर आयो । अधिकांश साथीहरू उही बाटो भएर दिल्लीतर्फ लागे । म चाहिँ महाराजालाई भेट्न भनेर डाक्टर हदो मार्सल याकसहित काठमाडौंतिर लागें ।

महाराजासँग भेट हुँदा हामीले हिमाल चढेको महीना दिन जति भएको हुँदो हो । हातखुट्टा हिउँले खाएकाले म हिँड्न सक्ने अवस्थामा थिइनँ । त्यसैले मलाई बोकेर काठमाडौं लगिएको थियो । अरू साथीहरूले चाहिँ मलाई दिल्लीमा पर्खेर बसे । मलाई आफूले हिमाल चढेको देशको महाराजाले सम्मान गर्नु ठूलो कुरा हो भन्ने लाग्यो ।

हुन पनि मेरो सम्मानमा महाराजा मोहनशमशेरले दरबारमा एउटा समारोह नै आयोजना गरे । उनका न्यायाधीशहरू पनि वरिपरि थिए । उनी पछिका दोस्रो-तेस्रो दर्जाका महाराजाहरू पनि सँगै थिए । सरकारी उच्च अधिकारीहरू पनि उपस्थित थिए । त्यो एउटा ज्यादै रमाइलो उत्सव थियो ।

महाराजाले फ्रान्सेली र अंग्रेजी दुवै भाषा नजान्ने । हामी गोर्खा भाषा र हिन्दी नजान्ने । त्यसैले दोभाषेमार्फत् मोहनशमशेरले हामीलाई सम्मान गरे । उनले भने, ‘तपाईंहरूले नेपालका लागि ठूलो काम गर्नुभयो । यो ठूलो बहादुरी हो । तपाईंहरू साहसी हुनुहुँदोरहेछ । विश्वभर नेपालको नाम फैलाइदिनुभयो । तपाईंहरूलाई धेरै धेरै स्याबास !’ उनले मलाई गोर्खा क्रस -ला ख्वा द ला र्गे) पदक पनि दिए । आजसम्म त्यो पदक पाउने म एक मात्र विदेशी हुन पाउँदा मलाई गर्वको अनुभूति हुन्छ ।
हिमाली छोरो

मलाई नेपालका हिमालले त्यत्तिकै आकषिर्त गरेका होइनन् । म अन्नपूर्ण त्यत्तिकै चढेको पनि होइन । म हिमाली भागमै हुर्केको हुँ । मेरो बालबकालको थलो फ्रान्सको सामोनीमा धेरै हिमालहरू छन् । ती होचा भए पनि सुन्दर छन् । मैले ४ हजार ८१० मिटर अग्लो यूरोपेली आल्प्स क्षेत्रको सर्वाधिक अग्लो हिमाल मो ब्लँ आरोहण गरिसकेको थिएँ ।

मो ब्लँ हिमालय क्षेत्रका हिमालहरूभन्दा धेरै होचो छ तर हाम्रो लागि अग्लो त्यही हो । त्यतिबेला त्यही हिमालमाथि विजय हासिल गर्न पनि मुस्किल थियो । तिनै हिमालहरूलाई जितौंला भनेर म युवा हुँदा हिउँ चिप्लेटी खेल्थें । हिउँसँगै दगुर्थे । हिउँमै पल्टनबाजी खेल्थें । हिमपहिरोका आवाजहरू सुन्थे ।

अहिले अनेक सम्झना आउँछ- कहिले हिउँसँगै रमाइन्थ्यो त कहिले भागिन्थ्यो । भिराला जमिनबाट घसारिँदै तल झरिन्थ्यो । अनि ‘आहा ! अग्ला हिमाल चढ्न पाए…’ भन्ने लाग्थ्यो । ठूला हिमाल चढने सपना मनमा कतै गढेर लुकेको थियो । हिमालका दृश्यहरू हेर्दा, तिनीहरूसँग बस्दा, खेल्दा र भाग्दाभाग्दै मैले हिमाल चढ्ने तौरतरिका जानेको थिएँ । मैले युवाकालको धेरै समय हिमाल आरोहणका अक्कल सिक्दै खर्चिएको थिएँ ।

मेरा बुबा-आमाका हामी आठ सन्तान सबै हिमाली क्षेत्रमै हुर्कियौं । युवाकाल हिमाल चढेरै बितेकाले पनि होला बाबु-आमाले पनि नाना बाबु पनि ठूलै आरोही थिए । दाजुभाइले पनि बाबुकै बाटो पछ्याए । लियों शहरमा जन्मिएर म सामोनीमा हुर्किएँ । परिवारमा कान्छो म संसारमा चिनिएको आरोही भएँ । मेरा बालबच्चा भने हिमाल चढ्दैनन् । किनकि हामीले चाहिँ हाम्रा बालबच्चालाई हिमाल चढेर जीवनको जोखिम नलिन भन्यौँ ।

आरोहणपछि म करीब ३० पटक नेपाल गएँ । पछिल्लोपटक सन् २००५ मा गएको हुँ । त्यसपछि म नेपाल जान सकिनँ । पोखरामा भएको अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय स्थापनाको ठूलो पर्वमा निम्ता गरिएको थियो । त्यसमा भाग लिने इच्छा हुँदाहुँदै पनि जान सकिनँ तर नेपालीहरू दयालु न परे, नेपालस्थित फ्रान्सेली राजदूतमार्फत् एउटा पदक र हिमालयसम्बन्धी पत्रिका पठाइदिएछन् ।

साहस-प्रचारक मन्त्री

त्यसो त म राजनीतिज्ञ पनि हुँ । युवा तथा खेलकुदमन्त्री पनि भएँ । मेरा लागि राजनीति र आरोहण दुवै सोखका तर नितान्त भिन्न क्षेत्रका विषय हुन् । राष्ट्रपति चाल्र्स द गोलको सरकारमा म आठ वर्ष मन्त्री भएँ । मैले हिमाल चढेपछि फ्रान्सेली युवाबीच त्यो साहसी कामको वर्णन र व्याख्या गराउन गोलले मलाई मन्त्री बन्न प्रस्ताव गरेका थिए ।

गोलले मलाई भनेका थिए, ‘हिमालय क्षेत्रका त्यति अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर तपाईंहरूले नै सारा संसारका अगाडि प्रमाणित गरेर देखाइदिनुभयो । फ्रान्सेलीहरूको आँट र साहस देखाइदिनुभयो । इज्जत बढाउनुभयो । ती अनुमान आफूमै मात्र सीमित राख्नु हुन्न । नेपालको बारेमा आफ्ना अनुभव युवाहरूलाई सुनाउनुहोस् । हिमाल आरोहणको आकर्षण र महत्व के हो ? वर्णन गरिदिनुहोस् । तपाईंले लिनुभएका हिमाली क्षेत्रका ज्ञान हाम्रा युवासँग बाँडेर तिनलाई पनि आकषिर्त गराउनुहोस् । हाम्रा युवालाई तपाईंहरूजस्तै साहसी र उत्साही बनाउनुहोस् । यस्तो इतिहास सबै फ्रान्सेलीसँग साझेदारी गर्नुपर्छ ।’

यस्तो भनेर उनले मलाई मन्त्री चुनेका थिए । म १७ वर्षसम्म सांसद भए, नगरपालिकाको मेयर पनि भएँ । त्यो सबै अन्नपूर्ण हिमाल चढेपछिको कुरो हो ।

अन्नपूर्णको सफल आरोहणपछि मैले त्यसबारेमा ‘लान्नापुर्ना फर्मिय उइ मिल’ नामक किताब लेखें । मैले लेखेको किताबले ५० लाख मानिसको ध्यान तानेछ ।

संसारमा अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको किताब बाइबल हो । तर, सन् १९५१-५२ मा मेरो त्यो किताब निस्कनासाथ छ महिनासम्म त बाइबलभन्दा पनि बढी बिक्री भएछ । त्यसले के देखायो भने हिमालमा के भयो भनेर सारा संसारले जान्न चाहेछ । त्यो किताब थुप्रै संस्करण निस्कियो । कति संस्करण निस्कियो भन्ने चाहिँ मलाई याद छैन ।

मेरो त्यो किताबको एउटा पाठ फ्रान्समा १६/१७ वर्षका विद्यार्थीको लागि पाठ्यसामग्रीमा राखिएको छ । पर्वतारोहणको क्षेत्रमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिने गरेको मेरो किताब ६० भाषामा अनुवाद भएकाले त्यसले नेपालको धेरै नै पचारप्रसार गर्‍यो भन्ने मलाई लाग्छ । त्यो किताब संसारभर नै प्रसिद्ध भएको थियो । मैले किताब त अरू पनि लेखें तर त्यो जति लोकप्रिय भएनन् र फ्रान्सेलीबाहेक अरू भाषामा छँदा पनि छैनन् ।

हिजोआज मन मान्दैन

नेपाल गइरहन मन त हौसिन्छ तर अब नसकिने भयो । संसार जित्न अगाडि बढेको मान्छे आज आफैंसँग पछाडि हट्नुपर्ने दिन आए । संसार डराउने चुचुरोको शिरमा टेक्ने मेरो गोडा अब सानो थुम्को देख्दा पनि लत्रने भए । त्यसैले पहिलेका धेरै घटना अब सम्झनामै सीमित पार्नुपर्ने भएको छ

हिजोआजका हिमाल आरोही देख्दा मलाई अलि चित्त बुझ्दैन । हिमाल चढ्ने नियम र आचारसंहिता हुन्छन् । हिमाल आरोहीले तिनको सम्मान र पालना गर्नुपर्छ । नत्र हिमाललाई स्वच्छ, सुन्दर र जीवन्त राख्न सकिँदैन । हामीले हिमाललाई सम्मान नगरे हिमालले पनि हामीलाई माया गर्दैन । हिमाललाई स्वच्छ राखिएन भने उसको सौन्दर्य गुम्छ । हामीले आरोहण गर्दा हिमालमा कुनै फोहोर छाडेनौं तर अहिले धेरैले हिमाललाई प्रदूषित बनाएका छन् । अहिले हिमाल चढ्न सजिलै सकिने भएपछि मानिसको चाप र फोहोरका थुप्रा बढ्दै गएका छन् ।

पहिले हिमाल आरोहण विशुद्ध साहसिक यात्रा थियो । मैले देख्दादेख्दै त्यो सबै बदलियो । पैसाले ठूलो भूमिका खेल्न थाल्यो । आरोहणबारे ठूल्ठूला विज्ञापन हुन थाले । हिमाल चढ्ने टोलीलाई प्रायोजन गर्ने र विज्ञापन गरेर धन कमाउने प्रचलन बढ्यो ।

आरोहण व्यापारको साधन बन्यो । हिमाल चढ्ने औजारहरूका लागि धेरै विज्ञापन हुन थाले । अहिले नयाँ-नयाँ प्रविधि भित्राइएको छ । डोरी र भर्‍याङ लगाएर चुचुरोसम्मै पुग्न थाले । त्यसैले हिमाल आरोहण पहिले जस्तो कठिन पनि रहेन । सजिलो भएपछि हिमाल चढ्नेको धुइरो लाग्ने नै भयो ।

हिमाल जस्तो ठाउँमा सजिलै चढ्न सकिने भएपछि किन नचढ्ने ? त्यस्ता साधनहरूले हिमाल चढ्ने दक्षता कम भएकालाई सफलता पाउन सजिलो हुन्छ । अनुभव नभएकाहरू पनि अलि सजिलोसँग चढ्न सक्ने भए । अहिले हेलिकोप्टर र खच्चडलाई बोकाएर सामान लैजान्छन् । विभिन्न खाले औषधि तयार छन् । हिमालको काखैसम्म गाडी पुग्न थाले । अन्तिम क्याम्पसम्म भारी बोकेर बाटो दखाउँदै पुर्‍याइदिने मानिस तयार भए । सबै अरूले गरिदिने र आफू चढ्ने मात्रै जस्तो हुन थाल्यो ।
हाम्रो पालामा त खाना पनि आफूसँगै लानुपर्थ्यो । भाषा पनि कसैले बुझ्दैनथे । अंग्रेजी बोल्ने मानिस पाउन मुस्किल थियो । अहिले टुप्पामा पुग्दा पनि सम्पर्क गर्न सञ्चारसेट लिएर जान्छन् । त्यस्तो सञ्चारसेट भएपछि ‘लौ म बिरामी परें’ भनेर तत्कालै हेलिकोप्टर मगाएर फर्किन सकिने भयो । हाम्रो पालामा जस्तोसुकै अवस्थामा पनि पैदलै यात्रा गर्नुपर्थ्यो । हिमालमा उकालो लागेपछि फर्केर नआएसम्म अवस्था थाहा पाउन गाह्रो थियो ।

मैले हिमाल आरोहणका क्रममा जीवनमा धेरै जोखिम उठाएँ । जति अनुभव भए पनि मेरा यौवनकालमा सँगै हिमाल आरोहण सिकेका सबैजसो साथीहरूलाई पर्वतारोहणको राजधानी मानिने सामोनी क्षेत्रका हिमालले सदाका लागि लग्यो ।

अहिले त अन्नपूर्ण हिमाल चढेका साथीहरू पनि सबै बितिसके । सँगै हिमाली तौरतरिका देखे-भोगेका, जानेका, थुप्रै दुःख-सुखका दिनहरू साझेदारी गरेका साथीहरू पनि सबैजसो बिते । तीमध्ये दई जनालाई क्यान्सरले लग्यो । अन्नपूर्णको त्यो टोलीमध्ये कूटनीतिज्ञ फँसिस द नोइएल बाँकी छन् । अचेल म हिमाल सम्बन्धी अध्ययन र अन्य कामहरू गर्ने, पुस्तक लेख्ने, संघ-संस्थाका काममा खटिने गरिरहेको छु । मलाई जीवनमा सकुञ्जेल केही गरिरहनुपर्छ भन्ने लाग्छ ।

म आफूलाई नेपालको एक असल मित्र हुँ भन्ने ठान्छु । नेपाल मेरो दोस्रो मातृभूमि हो । म लामो समयसम्म नेपाल र फ्रान्सबीच गहिरो मित्रका रूपमा रहेँ । तर आफैंले भोगेको यो ५७ वर्षको इतिहासमा धेरै कुरा परिवर्तन भए । साथीहरू गुमे । सम्झनाहरू पातलिँदै गए । शारीरिक ठाँट उस्तै बाँकी रहेन । साथीहरू फ्रान्स आउन नसक्ने र म नेपाल जान नसक्ने भएँ ।

नेपाल गइरहन मन त हौसिन्छ तर अब नसकिने भयो । संसार जित्न अगाडि बढेको मान्छे आज आफैंसँग पछाडि हट्नुपर्ने दिन आए । संसार डराउने चुचुरोको शिरमा टेक्ने मेरो गोडा अब सानो थुम्को देख्दा पनि लत्रने भए । त्यसैले पहिलेका धेरै घटना अब सम्झनामै सीमित पार्नुपर्ने भएको छ ।

(लेखक ददि सापकोटाको किताब (नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभव) को ‘अन्नपूर्णमा पहिलो पाइला’ शीर्षकको साभार पाठ । प्रथम अन्नपूर्ण आरोही मोरिस हर्जोगसँग सापकोटाले अन्तर्वार्ता लिएका थिए । सापकोटाले अन्तर्वार्ता लिएको ५ वर्षपछि सन् २०१२ मा हेर्जोगको निधन भएको थियो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?