+
+

जब उद्धारकर्मी अनुरागको लास खोज्न आए…

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते ९:२७

२०२३ अप्रिल १७ । सर्वत्र एउटा अप्रिय खबर फैलियो, ‘भारतीय पर्वतारोही अन्नपूर्ण हिमालबाट बेपत्ता ।’

त्यसबेला के भएको थियो ?

पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको क्याम्प फोरबाट आधार शिविरतर्फ ओर्लिंदै थिए । विश्वको दशौं अग्लो टाकुरामा टेक्नका लागि त्यसदिन मौसम अनुकूल थिएन । अबेर पनि भइसकेको थियो । ‘आरोहणका लागि अनुकूल मौका पर्खने’ निर्णय सहित उनी १६ अप्रिलमा क्याम्प फोरमा बसे र १७ अप्रिलमा क्याम्प थ्रीमा ओर्लिए ।

क्याम्प थ्री र क्याम्प टु बीचको खण्डलाई एकदमै जोखिमपूर्ण मानिन्छ । किनभने त्यहाँ प्रत्येक २५-३० मिनेटमा हिमपहिरो आउँछ । त्यसलाई जतिसक्दो चाँडो पार गर्नुपर्ने हुन्छ । अनुराग होशियारसाथ ओर्लिंदै थिए । त्यही मोडमा पुगेपछि उनको अवचेतन मनलाई हठात् एउटा कुराले झस्कायो, ‘केही गडबड भयो । ठूलै गडबड भयो ।’

त्यसपछि ?

अनुरागलाई केही थाहा छैन । के भयो, के भएन ।

*****

पथ प्रदर्शक छेपाल शेर्पा क्याम्प टुमा ओर्लिसकेका थिए र उनी आरोहीका लागि तात्तातो सुप तयार गर्दै थिए । माथिबाट अर्का पथ-प्रदर्शक दावा कराए, अनुराग दरारमा खसेको भन्दै । हत्तपत्त शेर्पाहरू माथि उक्लिए । उनीहरु अनुरागको खोजीमा जुटिहाले ।

करिब ३०० मिटर गहिरो दरार । माथि साँघुरो, भित्र भने फराकिलो हुँदै गएको । शेर्पाहरू डोरीको सहायताले दरारभित्र पसे । २० मिटर तलसम्म पुगेर खोज्दा अनुराग कतै भेटिएनन् ।

अन्नपूर्णको सन्दर्भमा के भनिन्छ भने, ‘त्यहाँ आरोहण गर्ने तीनमध्ये एक जना फर्किंदैनन् ।’ हिमाली कठोरतासँग जुध्न रुचाउने अनुराग फर्कन्छन् वा फर्कदैनन् ?

अन्नपूर्ण आरोहणपछि क्याम्प फोरमा फर्किएका आरोही नायल हान्ना टेन्टभित्र मृत भेटिएका थिए । आयरल्यान्डका ५६ वर्षीय यी आरोहीले त्यसअघि सगरमाथा १० पटक उक्लिसकेका थिए । सोही दिन अर्का भारतीय आरोही बलजित कौर पनि क्याम्प ४ बाट फर्कने क्रममा चिप्लिएर बेपत्ता भएकी थिइन्, जसको दोस्रो दिन उद्वार गरिएको थियो ।

विश्वभरका सञ्चारमाध्यमहरुमा ‘पर्वतारोही बे‍पत्ता भएको’ खबर फैलिसकेको थियो । हिउँको गहिरो दरारमा फँसेका आरोही जीवित होलान् ? यो अनुत्तरित मात्र होइन असम्भव जस्तै प्रश्न थियो । किनभने पहिलो र दोस्रो दिनको उद्धार प्रयासले ‘अशुभ’ जनाउ दिइसकेको थियो ।

पहिलो दिन उद्धारका लागि तयार सिम्रिक एयरको हेलिकप्टरलाई प्रतिकूल मौसमले साथ दिएन । दोस्रो दिन स्की गरेर अनुरागको खोजी कार्य सुरु गरिएको थियो । हिमपहिरोले उद्धारकर्मीहरुलाई अत्यायो ।

तीन दिन बित्यो ।

छाङ दावा शेर्पाको नेतृत्वमा उद्धारकार्य सुरु भयो । त्यसमा पाँच शेर्पा र दुई जना पोल्यान्डका आरोही खटिए । उनीहरु दरारभित्र छिरे । दुई जना दरारको तलसम्म पुगे । करिब माइनस ३५ डिग्री सेल्सियस तापक्रमको त्यो दरारभित्र खोज्दै जाँदा निर्जीव जस्तै अवस्थामा अनुरागको शरीर भेटियो ।

अनौठो त के भने, अक्सरजसो हिम पहिरो गइरहने सो खण्डमा निरन्तर ६ घण्टासम्मको उद्धारकार्य चलिरहँदा त्यस्तो कुनै अवरोध भएन । प्रभू हेलिकप्टरबाट उनलाई तत्कालै पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइयो । चिकित्सकीय परीक्षणमा उनका शरीरको मुख्य पाँच अंग  अर्थात् मस्तिष्क, मुटु, कलेजो, मिर्गौला र फोक्सो निष्क्रिय भइसकेको थियो । शरीर विज्ञानको हिसाबले यो ‘मृत’ अवस्था हो ।

यो  स्थितिमा अक्सर मान्छेप्रति आशा मारिन्छ ।

*****

आशा । खासमा यो आशा र आत्मबलको कथा हो । यसका दुई खण्ड छन् । एक, अस्पतालको शय्यामा मृत्युसँग जुधिरहेका आफ्नो दाइको जीवनप्रति भाइ सुधीर मालुले नछाडेको आशा । २, ३ सय मिटर गहिरो हिम दरारभित्र च्यापिए पनि ‘म मर्दिनँ’ भनी नहारेको अनुरागको आत्मबल ।

सुरुमा अस्पतालतर्फ लागौं ।

चिकित्सकको अनेक प्रयास सार्थक भइरहेको थिएन । उनीहरू हार खाइसकेका थिए ।  तर भाइ सुधीरले आफ्नो दाजुको उपचार नछाड्न चिकित्सकलाई आग्रह गरे । अनुरागको दुर्घटनालगत्तै उनी नेपाल आएका थिए । त्यस क्षण अनुरागको परिवार, हितैषी र शुभेच्छुकले उनको ‘जीवनरक्षाको’ कामना गरिरहेका थिए ।

भाइको आग्रह टार्न नसकी  चिकित्सकहरुले सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गर्न थाले । यो भनेको छातीमा हत्केलाले दबाब दिएर मुटुको चाल फर्काउने प्रक्रिया हो । जबकि दुई-तीन घण्टासम्म सीपीआर गरिरहँदा पनि खासै प्रतिक्रिया आएको थिएन । यद्यपि भाइ सुधीरले आग्रह गरिरहे, ‘अझै प्रयास गरिदिनुहोस् ।’

चिकित्सकले बेलाबेला रोक्दै जारी राख्ने इन्टमिन्टेन्ट सीपीआर थाले ।

चार घण्टापछि चमत्कार भयो ।

चिकित्सकले उनको मुटुको धड्कन महसुस गरे । आँखा र खुट्टा चलाए । अब उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल ल्याइयो । त्यहाँ आईसीयूमा राखेर अनुरागको उपचार सुरु भयो । २० दिनको उपचारपछि उनलाई दिल्लीको एम्स अस्पतालमा रेफर गरियो ।

जतिबेला उनलाई सो अस्पतालमा भर्ती गरिएको थियो, त्यसबेला उनी ‘मल्टिपल अर्गान फेलियर’सँग जुधिरहेका थिए । मिर्गौला, मुटु, फोक्सो र मस्तिष्कले राम्ररी काम गरिरहेको थिएन । १७४ दिनको उपचारपछि उनी तंग्रिए ।

जब अनुराग पूर्ण रुपमा तन्दुरुस्त भए, तब मात्र थाहा भयो आफ्नो जीवनमा के-के भयो ?

हालै मात्र उनले भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादियासँग त्यो अत्यासलाग्दो क्षणहरू स्मरण गरेका छन् । तर, अहिले उनको स्मृतिबाट त्यो खण्ड गायब छ जुन दिन उनी चिप्लिएर तीन दिनसम्म कहालीलाग्दो हिम दरारभित्र गुज्रिएका थिए ।

चकित तुल्याउने कुरा त के छ भने, तीन सय मिटर दरारभित्र च्यापिएको बेला पनि उनी होशमा थिए । किनभने त्यस अवधिमा अनुरागले गोप्रोबाट भिडियो खिचेका छन् । रणवीर अल्लाहबादियासँग उनले भनेका छन्, ‘दरारभित्र च्यापिएपछि पनि म होशमा रहेछु । तर त्यस क्षणको स्मृति मेरो मस्तिष्कमा छैन । त्यो बेला मलाई के भयो ? मैले कस्तो महसुस गरें भन्ने कुरा मलाई याद छैन ।’

उनलाई के मात्र थाहा छ भने, ‘मृत्युसँग पौंठेजोरी खोलिरहँदा पनि मैले जीवनप्रति हार खाएको रहेनछु । त्यहाँबाट मेरो उद्धार हुनेछ भन्ने कुरा म आशावादी रहेछु ।’ गोप्रोमा रेकर्ड भएको भिडियो फुटेजले सोही कुरा पुष्टि गर्छ ।

अनुरागले भनेका छन्, ‘सायद त्यस्तो स्थितिमा मैले हरेस खाएको हुँदो हो त आज म यो अवस्थामा फर्कने थिइनँ । मृत्युको मुखमा समेत मैले हरेस खाइनँ र बाँच्छु भनी आशावादी रहें ।’ सम्भवत: यही एउटा ‘बुटी’ थियो, जसले अनुरागलाई दोस्रो जीवन दिलायो ।

आशा, आत्मबल र कामना । यी तीन कुराले मान्छेको जीवनमा ‘चमत्कार’ गर्न सक्ने अनुरागको विश्वास छ । उनले भनेका छन्, ‘दरारभित्र च्यापिएको बेला न मैले आत्मबल गुमाएँ, अस्पतालमा निर्जीव जस्तै मेरो शरीर लडिरहँदा न मेरो भाइले मप्रतिको आशा त्यागे । अनि मेरो परिवार, हितैषी र शुभेच्छुकहरुले न त मेरो जीवनरक्षाका लागि कामना गर्न छाडे ।’

पर्वतारोही अनुराग भारत राजस्थान किसनगढका हुन् । आठ हजार मिटर उचाइका १४ हिमाल चढ्ने अभियानसहित उनी अन्नपूर्ण हिमाल चढ्न आएका थिए । प्रतिकूल मौसम र समयका कारण उनले तोकिएको दिन टाकुरामा नपुगी क्याम्प टुतर्फ ओर्लदै थिए । क्याम्प थ्रीबाट टुको बीचमा एउटा दरार पार गर्नुपर्ने हुन्छ । सोही दरार पार गर्ने क्रममा उनले गलत डोरी समात्न पुगे र बेपत्तासँग उछिटिएर ३ सय मिटर गहिरो दरारमा च्यापिन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?