 
																			२१ जेठ, काठमाडौं । शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गर्यो ।
दूतावासको उक्त वक्तव्यपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौं नओर्लंदै ट्रोलको शिकार भए, ‘प्रधानमन्त्रीलाई भारतको भैंसी उपहार !’ तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको माग अनुसार भारत मुर्रा प्रजातिको १५ वटा राँगो दिन तयार भएको हो ।
‘दूतावासले राँगा हो कि भैंसी नखुलाई वक्तव्य जारी गर्यो, भ्रमणबारे नेपाली परराष्ट्र मन्त्रालयले केही भनेको छैन’, मन्त्रालय स्रोतले भन्यो, ‘सञ्जालमा ट्रोल भएजस्तो हामीले भैंसी मागेको पनि होइन र प्रधानमन्त्रीको भिजिटमै दिनुपर्छ भनेको पनि होइन ।’
मन्त्रालयले दुई देशबीचको समझदारीबारे प्रष्ट पारिदिन परराष्ट्र मन्त्रालयलाई आइतबार दिउँसो अनुरोध गरेको छ । मन्त्रालयका अनुसार नेपालले भारतसँग ५ वर्षदेखि उन्नत जातको नश्ल विकासका लागि वीर्य उत्पादन गर्ने मुर्रा राँगो माग गरिरहेको थियो । नेपालले भारतसँग ३० वटा शतप्रतिशत मुर्रा जातको राँगो माग गरेको थियो ।
कृषि विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार भारतीय दूतावासको विज्ञप्तिअनुसार अब नेपालले कम्तीमा १५ वटा राँगो ल्याउने सैद्धान्तिक बाटो खुलेको छ । यसले नेपालको दूध उत्पादन क्षमता तथा भैंसीको नश्ल सुधारमा फड्को मार्नेछ ।
भारतीय सेन्ट्रल इन्ष्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नतमध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।
दक्षिण भारतीय हावापानीमा यो जातको भैंसीले एक बेत (३०० दिन) मा ५ हजार लिटरसम्म दूध दिन्छ । यस्तो भैंसीको जातका कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको छ ।
अहिले नेपाल, चीन, ब्राजिल कोलम्बिया लगायतका देशका हावापानीमा यो जातको राँगाबाट उन्नत नश्ल सुधार मार्फत दूध उत्पादन बढ्ने देखिएपछि भारतसँग यो नश्लको राँगो र वीर्य माग गर्ने देशको संख्या बढ्दो छ ।
भारतको नेश्नल डेरी रिसर्च इन्ष्टिच्युट विश्वविद्यालय कर्नालबाट बिक्री वितरण भइरहेको यो प्रजातिको राँगा भैंसीको मूल्य कम्तीमा ६० हजारदेखि बढीमा एक लाख ३० हजार भारूसम्म पर्छ । यो जातका भैंसीले थोरैमा पनि दैनिक ८ लिटर दूध दिन्छ ।
नेपालमा अहिले पालिएका उन्नत जातका भैंसीहरुबाट औसत प्रतिबेत १४ सय लिटर मात्रै दूध उत्पादन हुन्छ । नेपालको भन्दा तीन गुणा बढी दूध उत्पादन गर्ने भैंसीको प्रजाति छिमेकी देशमा विकास भएको थाहा पाएपछि नेपालले भारतसँग उक्त जातको नश्ल बिउका लागि सन् २०१७ देखि नै कुरा अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय पशुपन्छी तथा स्रोत व्यवस्थापन कार्यालयले जनाएको छ ।
औसत दैनिक ४ लिटर दूध दिने भैंसी पालेका नेपाली किसानका लागि दूध उत्पादन बढाउन उन्नत नश्ल ल्याउन पटक पटक प्रयास भएको कार्यालका प्रमुख एवम् प्रमुख पशु विकास अधिकृत माधव अर्याल बताउँछन् । ‘भारतले बीउको रुपमा उक्त प्रजातिको राँगा दिन मानिरहेको थिएन । उन्नत जातको बीऊ भएकाले बाँड्न नचाहेको पनि हुनसक्छ’, उनले भने, ‘तर, हामीले भारतसँग पटक–पटक माग गरिरहेका थियौं ।’
पशु सेवा विभागका अनुसार यसअघि केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतमा गरेको भारत भ्रमणका क्रममा पनि मुर्रा राँगो माग गर्ने प्रस्ताव नेपालको थियो । तर त्यतिबेला भारतले दिन नमानेको विभागका अधिकारीहरु बताउँछन् ।
विभागका महानिर्देशक सम्झनाकुमारी पाण्डे काफ्ले नेपालका तर्फबाट मुर्रा राँगो माग्न २०२० मा भारत गएको सम्झिन्छिन् । नेपाल र भारतबीचको सहसचिव स्तरको प्राविधिक समितिमा रहँदा भारतसँग नश्ल जातको राँगो माग गरिएको उनको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीको भिजिटमा यो विषय सम्बोधन भएको थाहाँ पायौं’, उनले भनिन्, ‘अब भैंसीको दूध क्षमता बढाउन उच्च नश्ल सुधारको बाटो खुलेको छ ।’
राष्ट्रिय पशुपन्छी तथा स्रोत व्यवस्थापन कार्यालयका अनुसार नेपाललाई दिने राँगोबारे समन्वय गर्न भारतले नेश्नल डेरी रिसर्च इन्ष्टिच्युट विश्व विद्यालय कर्नालको फोकल पर्सन तोकेको छ ।
अब नेपालबाट पशु प्राविधिक भारत पठाउनका लागि वैदेशिक भ्रमण सहमति अर्थ मन्त्रालय पठाइएको छ । सो प्राविधिक टोलीको भ्रमण स्वीकृत भएपछि नेपाली प्रतिनिधिमण्डल भारत पुगेर ती राँगा स्थल मार्गबाट ल्याउनेछ ।
राँगालाई कार्यालय मातहतको पशु प्रजनन कार्यालय पोखरा र लाहानमा राखेर वीर्य उत्पादन गरिने र कृत्रिम गर्भाधानका लागि किसानलाई वितरण गर्ने सरकारको तयारी छ ।
(यसअघिको हेडलाइनमा ५ वर्ष हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4