+
+

जनगणनाको जातजाति, भाषा र धर्मको तथ्यांकमा यायोक्खाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १८:५५

२१ जेठ, काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को जातजाति, भाषा तथा धर्म सम्बन्धी तथ्याङ्कमा किरात राई यायोक्खाले आपत्ति जनाएको छ ।

देशको चौतर्फी विकासको लागि राज्यले सही योजना तर्जुमा गर्नुपर्ने र त्यसको लागि विविध पक्षको सही तथ्याङ्क संकलन गर्नुपर्ने भए पनि सरकारले राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्याङ्क सार्वजनिक गरेको जनाएको छ ।

यायोक्खाले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले गत शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सही विवरण सार्वजनिक होस् भनेर कार्यालयलाई किरात राई जातिको सरोकारको विषयमा बारम्बार ध्यानाकर्षण गरिएको, ज्ञापनपत्र बुझाइएको र पटक पटक छलफल गरिएको र छलफलमा तथ्याङ्क सार्वजनिक गर्नु अगाडि सरोकारवाला पक्षसँग छलफल गरी सही निष्कर्ष निकालेर मात्रै तथ्याङ्क सार्वजनिक गर्ने सहमति भए पनि विना छलफल सार्वजनिक गरिएकोमा किरात राई यायोक्खाको आपत्ति छ ।

पत्रकार सम्मेलनमा यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले तथ्यांक सच्याउन ध्यानाकर्षण गराउँदै भने अन्यथा यसबाट उत्पन्न हुने असहज परिस्थितिप्रति कार्यालय र गलत सुझाव दिने विज्ञहरु जिम्मेवार हुनुपर्ने समेत चेतावनी दिए ।

यायोक्खाले राई जातिको भाषिक समुदायहरु कुलुङ, वान्तावा, चाम्लिङ, याम्फू, नाछिरिङ, बाहिङ/बायुङ, थुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ र लोहोरुङ लाई जातिको विवरणमा सार्वजनिक भएकोलाई सच्याई राई जातिमा समाहित गर्न उसको माग छ ।

देवास राई भाषीले जनगणनामा पुर्खाको भाषा र मातृभाषामा देवास लेखाएकोमा संकलन भई आएको विवरणलाई नसमेटिएको र उक्त विवरण अद्यावधिक गर्न तथा देवास भाषाको कोड उपलब्ध गराउनुपर्ने, राई भाषा नै नभएको तर मातृभाषाको महलमा राई भाषिक विवरण र पुर्खाको भाषामा संख्या देखाई गलत तथ्याङ्क सार्वजनिक गर्नुको वैज्ञानिक विष्लेषण गरी राई जातिभित्रको मातृभाषाहरु र पुर्खाको भाषामा समावेश गरिनुपर्ने र जनगणनाको क्रममा मातृभाषा र पुर्खाको भाषामा बायुङ लेखाइएकोमा तथ्याङ्क सार्वजनिक गर्दा छुटाएकोले बायुङको कोड समावेश गर्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?