+
+

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका ३ अधिकारी

रासस रासस
२०८० जेठ २३ गते १६:३३

२३ जेठ, कमलामाई (सिन्धुली) । सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौं दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर निस्किएका थिए ।

खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थापन समेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ ।

एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौं दिन मङ्गलबार पनि प्रयास जारी राखेको छ । चर्को घामको प्रवाहसमेत नगरी गोताखोरहरू खोजीमा लागिपरिहेका छन् ।

दुवैतर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए । घटनास्थल वरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उनको भनाइ छ । र्‍याफ्टिङ लिएर माथिमाथि, कुनाकन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको छैन ।

‘पानीको वेग बलियो छ । अलिकति तल जानासाथ हुत्याइदिन्छ । घुमाउनेमा फसिने डर भएकाले पानी ‘डाइभर्ट’ नभएसम्म खोजीकार्य प्रभावकारी हुनसकेको छैन’, गोताखोर महतले भने ।

सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिंदा समस्या भएको छ । उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।

घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन ।

चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिन मार्फत काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मङ्गलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहोर्‍याइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?