+
+

एमालेमा ७० वर्षे हटाउन विष्णु पौडेलको प्रस्ताव, ओलीले गरे अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते २१:५०

२३ जेठ, काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो ।

‘तत्काललाई यो व्यवस्था खारेज भएको छ । यसलाई आवश्यकतामा आधारित निर्णय भनिएको छ’, एक पदाधिकारी भन्छन् । उनका अनुसार, अहिले पार्टीलाई गतिशील बनाउन पनि यो व्यवस्था हटाइएको हो ।

७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । थप १३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव बैठकमा आएपछि पौडेलले उमेर हदको प्रश्न उठाएको बैठकमा सहभागी अर्का पदाधिकारीले बताए ।

‘अहिले मनोनित गर्ने भनिएका मध्ये मुकुन्द कमरेडको उमेर ७० वर्ष कटिसकेको छ, हाम्रो विधानले उहाँहरुलाई केन्द्रीय सदस्य मनोनित गर्न मिल्दैन’ पौडेलले सुझाव पनि सँगै दिएका थिए, ‘विधानको यो व्यवस्थालाई केही गर्ने कि ?’

पौडेलको कुराले बैठकमा केहीबेर हाँसो चलेको थियो । ‘विष्णु पौडेलको कुरा प्रस्तावका रुपमा भन्दा पनि अलिकति रमाइलो जस्तो भएको थियो’, ती पदाधिकारी भन्छन् ।

तर अध्यक्ष केपी शर्मा ओली आफैंले यो व्यवस्था तत्काललाई निलम्बन गर्ने निर्णय लिए । ‘विधान महाधिवेशनबाट अनुमोदन गर्ला, अहिलेलाई यो व्यवस्था निलम्बन गरौं’, ओलीको निर्णय थियो ।

यसपछि ७२ वर्ष पुगेका मुकुन्द न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई एमालेले केन्द्रीय सदस्य मनोनित गर्‍यो ।

नेताहरु महाधिवेशनको निर्णय बैठकले काट्न नसक्ने भएकाले तत्काललाई निलम्बन गर्ने विकल्प अपनाइएको बताउँछन् । ‘निर्णय गर्ने त महाधिवेशनले हो, तर अहिलेलाई निलम्बन गरेर जाऔं भन्ने हो’, एक नेता भन्छन् ।

एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । यो व्यवस्था व्यवहारतः २०५९ सालको सातौं महाधिवेशनबाटै सुरु भइसकेको थियो ।

त्यसबेला घनश्याम भूसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, विजय पौडेल, प्रकाश ज्वाला जस्ता युवा नेताहरुले उमेर हदको व्यवस्था पार्टीमा हुनुपर्ने प्रस्ताव ल्याएका थिए । तर सातौं महाधिवेशनबाटै यो व्यवस्था कार्यान्वयन गर्दा साहना प्रधान केन्द्रीय कमिटीमा नसमेटिने देखिएपछि औपचारिक निर्णय गरेको थिएन ।

‘सातौं महाधिवेशनमै यो प्रावधान राख्न नेतृत्व पनि सहमत भएको हो । तर त्यसबेला पार्टीकै संस्थापकसँग लिगेसी जोडिएकी साहना प्रधान छुट्नु हुनेभयो । त्यसैले औपचारिक निर्णय भने गरिएन’, एमालेका अर्का पदाधिकारी भन्छन् ।

आठौं महाधिवेशनबाट यो व्यवस्था पार्टीमा लागू हुँदा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत उमेरकै कारणले बिदाइ भए । भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको हलबाटै अधिकारी र सिंहलाई बिदाइ गरिएको थियो ।

२०७८ को चितवन महाधिवेशनबाट एमालेका संस्थापक मध्येका अमृत बोहोराले उमेरकै कारण बिदा लिए । यो महाधिवेशनमा केपी ओलीका निम्ति भने ७० वर्षे उमेर हदको व्याख्या गरिएको थियो । ‘७० वर्ष पूरा नभएकाले कमिटीमा रहन पाउने’ व्याख्याले ओलीलाई अध्यक्ष दोहोरिन बाटो खुलेको थियो । यदि ७० वर्षे मात्रै राखेको भए ओली अध्यक्ष हुने थिएनन् ।

२०७७ फागुनमै ७०औं जन्मदिन मनाएका ओलीले ७० वर्ष पार नगरेको भन्ने प्रावधानकै कारणले २०७८ मंसिरको दशौं महाधिवेशनबाट अध्यक्ष दोहोरिन पाएका थिए । स्थायी कमिटीले निलम्बन गरेको उमेर हदको व्यवस्था विधान महाधिवेशनले खारेज गरेमा ओलीलाई पनि तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुल्नेछ । यसको लाभ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?