+
+

प्रबल गुरुङ र अमेरिकी दूतावासले मधेशका महिलालाई फिल्म लेखन सिकाउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ११:४८

काठमाडौं । अमेरिकी दूतावास र प्रसिद्ध नेपाली फेसन डिजाइनर प्रबल गुरुङको सामाजिक संस्था शिक्षा फाउण्डेसनले मधेश प्रदेशका महिला कथाकारका लागि पटकथा लेखन कार्यशाला आयोजना गर्ने भएका छन् । ‘टेल योर स्टोरी’ नाम दिइएको यो कार्यशाला बिहीबारदेखि सोमबारसम्म सञ्चालन हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलन कार्यशालाबारे जानकारी दिइयो । ‘पुरुषप्रधान’ फिल्म क्षेत्रमा मधेशका महिलालाई आफ्नो कथा आफैं भन्ने अवसरको सिर्जना गर्ने लक्ष्यसहित कार्यशाला आयोजना गर्न लागिएको जनाइएको छ । ‘पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो चलचित्रको पटकथाको रूप दिनु नै उद्देश्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

शिवानीसिंह थारु, सरिता साह, सम्पदा मल्ल, नवीन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाशविक्रम शाहले कार्यशालामा फिल्मबारे सिकाउनेछन् । कार्यशालामा मधेशी मूलका नौ जना महिला सहभागी हुने जनाइएको छ ।

दुई चरणमा भइरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० गतेसम्म सञ्चालन भएको थियो । जसअन्तर्गत राखिएको पाँचदिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तीमध्येबाट नौ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो । कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै फिल्मकर्मीले फिल्मकै रुपमा विकास गर्ने जनाइएको छ ।

गत साता नेपाल आइपुगेका फेसन डिजाइनर प्रबल गुरुङ समेत उक्त कार्यक्रममा सहभागी थिए । उनले इन्स्टाग्राममार्फत पनि कार्यशाला आयोजनाको उद्देश्य फिल्म क्षेत्रका महिलामा कथा भन्ने क्षमताको अभिवृद्धि गर्नेदेखि फिल्म क्षेत्रलाई समावेशीमूलक बनाउन भूमिका खेल्ने आशा लिएका छन् । फिल्म इन्डिपेन्डेन्ट ग्लोबल मिडिया मेकर्ससँगको सहकार्यमा दूतावास र फाउण्डेसनले कार्यशाला आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?