+
+

नक्कली शरणार्थी प्रकरण : बहस मोडियो जाहेरीकर्ता गजेन्द्रतिर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १९:३५

२५ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको थुनछेक बहसमा विहीबार दाङका सन्देश शर्माको पक्षबाट बहस गर्ने पालो आयो । कानून व्यवसायीहरु उनीभन्दा पनि पहिलो जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमा केन्द्रित भए । उनीहरुको एकै स्वरमा तर्क थियो, ‘दाङमा ठगी मुद्दा चलेको व्यक्ति कसरी पीडित हुनसक्छ ?’

सन्देशको बचाउका लागि कानुन व्यवसायीहरुले जाहेरीकर्ता गजेन्द्र बुढाथोकीमाथि प्रश्न उठाउनुको खास कारण छ । बुढाथोकीले दिएको जाहेरी दरखास्तमा आफू लगायत ६१ जनालाई सन्देश शर्मा, केशवप्रसाद दुलाल, सानु भण्डारी लगायतलाई झुक्यानमा पारी ९ करोड ७८ हजार रुपैंयाँ खाइदिएको उल्लेख छ । त्यही जाहेरीका आधारमा पक्राउ परेकाहरुले बुढाथोकीविरुद्ध दाङमा ठगी मुद्दा दर्ता भएको थाहा पाएपछि उनीविरुद्ध खनिएका हुन् ।

‘जाहेरवालामाथि हाम्रो पक्षलाई विश्वास छैन, ऊ भगौडा हो । दाङमा गजेन्द्र बुढाथोकी विरुद्ध ठगी मुद्दा परेको छ । आफैँ अमेरिकामा बस्ने मान्छेले अमेरिका लैजान्छ भनेर भन्दा कसैलाई पैसा दिन्छ ?’ अधिवक्ता यज्ञ खतिवडाले भने, ‘राम्रो हैसियत र सबै सुविधा भएको मान्छेलाई हाम्रो पक्षले ठग्यो होला भनेर कसरी विश्वास गर्छु ?’

बुढाथोकीमाथि जिल्ला अदालत दाङमा एक करोड ४९ लाख रुपैयाँ विगो मागदावी सहित ठगी मुद्दा चलिरहेको छ । दाङकै राजु केसी लगायतले आफू लगायतलाई अमेरिका पठाइदिन्छु भनी पटकपटक रकम लिएको भन्दै बुढाथोकीविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका हुन् ।

उनीहरुले विभिन्न व्यक्तिबाट १५ देखि ३० लाख उठाएको र पछि अमेरिका नपठाएपछि खोजतलास गर्दा गजेन्द्र सम्पर्कबिहीन भएको दावी गरेका छन् । त्यही विवरण उठाउँदै कानून व्यवसायीहरुले सन्देश शर्मा निर्दोष रहेको दावी गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार पारेको आरोपपत्रमा केशवप्रसाद दुलाल र सानु भण्डारीपछि सन्देश शर्मालाई दोस्रो तहको विचौलियाको रुपमा उल्लेख गरिएको छ । जसले गृहमन्त्रालयमा विभिन्न व्यक्तिको सरुवा, बढुवा, पद व्यवस्थापनदेखि अरु कामहरु गर्न थालेका थिए ।

उनले विभिन्न व्यक्तिका नाममा बनेका शरणार्थी परिचय पत्र लगायतका विवरणहरु पीडितलाई पठाएर विश्वासमा पार्ने काम गरेको आरोप छ । उनले विभिन्न व्यक्तिको नाममा रकम जम्मा समेत गरेको अभियोगपत्रमा उल्लेख छ । अधिवक्ता खतिवडाले सन्देशले पीडितहरुबाट पैसा नउठाएको दावी गरे । उनले भने, ‘पार्किङ व्यवसाय गर्ने मेरो पक्षले बैंकबाट कारोबार गरेको हैन, नगदमा काम भएको हो ।’

अधिवक्ता गोपालराज अर्यालले पनि जाहेरीकर्ता गजेन्द्र बुढाथोकीबाट सन्देश शर्माले रकम नलिएको दाबी गरे । गजेन्द्र आफू २० वर्षदेखि अमेरिकामा रहेको, त्यहाँ राम्रो बन्दोबस्त भएको भन्दै उनीसमेत मानिसहरुलाई अमेरिका पठाउने धन्दामा लागेको आरोप लगाए । उनले भने, ‘बरु उहाँ नै बेलाबेलामा घरमा आउने र मान्छे लैजाने काम गर्नुहुन्थ्यो, त्यस्तो मान्छे कसरी पीडित हुनुभयो ।’

सन्देश शर्मामाथि पीडितलाई झुक्याउन बायोमेट्रिक गरेको र सरकारी गाडी प्रयोग गरेर पीडितमाथि झुक्याएको आरोप छ । साथै, चितवनबाट दुईवटा बोरामा पैसा राखेर काठमाडौं ल्याउने काममा समेत उनी संलग्न थिए भन्ने सरकारी वकिल कार्यालयको आरोप छ । अधिवक्ता सुशीला कार्कीले भने बानेश्वरमा पार्किङ व्यवसाय गरेर बस्ने शर्मा त्यत्रो अपराधमा संलग्न नै नभएको दाबी गरिन् । उनले भनिन्, ‘घटनाको अनुसन्धान सुरु भएपछि मेरो पक्ष अनुसन्धानमा सरिक हुन पाउँ भनी आफैं प्रहरीमा निवेदन लिएर गएका छन् । उनी कसरी घटनामा संलग्न हुनसक्छन् ?’

****

सन्देश शर्माको बचाउमा बहस हुनुअघि सागर राईको पक्षमा कानुन व्यवसायीहरुले बहस गरेका थिए । सागरमाथि पीडितबाट रकम उठाएको आरोप छ । उनी गौशालाको रोजस्टार होटलमा डेढ वर्ष बसेर केशवप्रसाद दुलाल, सानु भण्डारी लगायतसँगको सम्पर्कमा आएको व्यक्तिको बायोमेट्रिक गराउने, फारम भराउने लगायतको काम गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनको प्रतिरक्षा गरेका अधिवक्ता सन्तोषप्रसाद भट्टले सागर राईले लिएको रकम नक्कली शरणार्थी बनाउनका लागि नभई घरजग्गा कारोवारका लागि भएको दावी गरे । भट्ट र इन्द्रप्रसाद पौडेलले राईलाई धरौटीमा छाड्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?