+
+

अर्थमन्त्री भन्छन् : मेरो वडामा बजेट पुगेन भन्न वडाध्यक्ष पनि आए

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १४:०८

२६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको वार्षिक बजेटलाई प्राथमिकीकरण गरेर ठूला आयोजनामा मात्रै रमक विनियोजन गर्न नसकेको स्वीकार गरेका छन् ।

बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले उनले भने, ‘कनिका छरेको जस्तो गरी पैसा राख्ने, विनियोजन गर्ने प्रवृत्ति छ । त्यसलाई मैले बजेटमै स्वीकार गरेको छु । यसपाला पनि त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न सकेका छैनौं ।’

चाहे स्थानीय तहलाई होस चाहे प्रदेशहरुलाई दिन जुन विनियोजन भएको त्यो विनियोजन सुनिश्चित होस् र सानो सानो आयोजनामा खर्च वितरण गर्न नपरोस् भन्ने चाहना हुँदा हुँदै पनि त्यसलाई पूर्णत सम्बोधन गर्न नसकेको उनको स्वीकारोक्ति छ ।

‘केन्द्र सरकारले महत्वपूर्ण आयोजनामा एउटा साइजको आयोजनामा केन्द्रित हुन सकौं भनेर चाहेकै हो । तथापि अहिले पनि जनताहरु यहीँ आइपुगे । त्यो प्रवृति रोकिएको छैन’, उनले भने, ‘यहाँँकोले पुगेन, वडाअध्यक्षज्युहरु आइराख्नुभएको छ । मेरो वडामा यतिले पुग्दै पुगेन के हुन्छ र यहाँबाट राखिदिन पर्‍यो भनेर ।’

मन्त्रीहरुले नै समेत साना आयोजनाहरुमा बजेट विनियोजनका लागि दबाव दिएको अर्थमन्त्री महतले बताएका छन् ।

टुक्रे योजनामा बजेट नहालौं न भन्दा मन्त्रीले नै मानेनन्

आफूले टुक्रे योजनामा बजेट नहालौं न भन्दा मन्त्रीहरु नै नमानेको दाबी महतले गरे ।  ‘भौत्तिक योजनामन्त्री यहीँ हुनुहुन्छ । उहाँलाई पनि मैले भने यसो गरौं न भन्दा यत्रो ठूलो दबाव छ । केही न केही राख्नुपर्ने अवस्था आइपर्यो भनेर उहाँको पनि वाध्यता अप्ठ्यारो मैले बुझेँ’, अर्थमन्त्री महतले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला हुन् । उनी एकीकृत समाजवादीका तर्फबाट सरकारमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ शीर्षकमा ५ अर्ब रकम विनियोजन गरिएको छ । यस कार्यक्रमको कूल रकमको आधार रकम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्र भएको गोरखा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट गरी तीन जिल्लाका सडक आयोजनामा पारिएको छ । आधा रकम बाँकी ७४ वटा जिल्लाका सडक आयोजनामा पारिएको छ ।

यस विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत एकीकृत समाजवादीका अन्य सांसदहरुले सार्वजनिक रुपमै विरोध गर्दै आएका छन् । त्यसतर्फ संकेत गर्दै अर्थमन्त्री महतले एकीकृत समाजवादीका मन्त्री ज्वालाको वाध्यता आफूले बुझेको टिप्पणी गरेका हुन् ।

साना आयोजनाहरुका लागि समेत बजेट माग गर्ने प्रवृतिका कारण समस्या परेको उल्लेख गर्दै डा.महतले भनेका छन्, ‘त्यसकारणले कतिपय आयोजनाहरुमा अस्वभाविक छ । त्यत्रो लामो सडक छ पैसा यति राखिदिएको छ । के गरेको हो भन्ने छ ।’

आयोजना पार्ने मात्रै हेडबाजी चल्ने र दबाव दिने प्रवृति रहेको पनि अर्थमन्त्री डा.महतले बताए । ‘अहिले राखिदिउ न, पछि अर्को वर्ष होला नि । कमसेकम त्यहाँ नाम आयो भने पछि बढाउन सकिएला । पछि विनियोजन होला । पछि केही न केही उपाय होला साथीहरुको त्यो खाले दबाव छ’ मन्त्री महत थप्छन्, ‘त्यसकारण स्वीकार गरेको छु, ‘हामीले अझै संघीय सरकारले के गर्ने हो ? कसरी प्राथमिकिीकरण गर्ने हो त्यो गर्नसकेका छैनौं । तर, सुधारको सुरुवात गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?