+
+

जापानमा नेपाल चिनाउँदै ‘रातोमाटो’

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०८० जेठ २६ गते १७:४८

ढोकाबाहिर काठमा कुँदेर बनाइएको पशुपतिनाथ मन्दिर । त्यसकै छेउमा माटोबाट बनाइएको कछुवा । ढोकाबाट छिर्नेबित्तिकै पुरातात्विक वस्तुहरुमा भरिएको कला । रेस्टुरेन्टका भित्तामा नेपाली माटोबाट बनाइएका घैला, करुवा, घण्टीका साथै एकातर्फ कोरिएको राजा वीरेन्द्रको चित्र । तामामा कोरिएको विभिन्न भगवानको आकृति र भैरव अर्कोतर्फ ।

धार्मिक, सांस्कृतिक तथा विविधतायुक्त मुलुकको रुपमा चिनिएको नेपालको मौलिकता प्रवासमा देख्न पाउनु जो कोही नेपालीका लागि गौरवको कुरा हो । विश्वकै व्यस्त सहरमा पर्ने जापानको टोकियोमा नेपाली खानासँगै कला र संस्कृतिको प्रवद्र्धन गरिरहेका छन् लमजुङको मध्यनेपाल नगरपालिकाका शिवहरि पौडेल । उनले रेस्टुरेन्टको नाम नै ‘रातोमाटो’ राखेका छन् । रेस्टुरेन्टमा प्रयोग गरिने सम्पूर्ण भाँडाकुडा रातोमाटोकै छन् ।

११ वर्षअघि जापान आइपुगेका शिवहरि पहिले जापानिज कम्पनीमा काम गर्थे । नेपालमा हुँदै विभिन्न व्यवसाय गरिसकेका शिवहरिलाई जापानमा पनि व्यवसाय गर्ने रहर जाग्यो । यसपछि उनले जापानमा हलाल फुड खोले । रेस्टुरेन्टमा लगानी गरे । ‘व्यवसाय गर्ने क्रममा विभिन्न किसिमका अवरोध आए । यसपछि एक मनले नेपाल फर्किने योजना पनि बनाएँ,’ शिवहरि सुनाउँछन्, ‘मलाई जापानले मेहनत र सीप विकास सिकाएको थियो । जसकारण हिम्मत हारिनँ ।’

उमेर बढेसँगै आफ्नो देशको मौलिकता विश्वलाई चिनाउने रहर पौडेललाई जाग्यो । यसपछि उनले २०७८ सालको असोजमा टोकियोको शिनओकुबोमा ‘रातोमाटो’ सञ्चालनमा ल्याए ।

‘मलाई व्यवसायमा नेपालको पहिचान झल्काउनु थियो । देशमा भए यो कुरा सहजै सम्भव हुने थियो । विदेशमा कठिन त अवश्य भयो । माटोका भाँडाकुँडा, रेस्टुरेन्टमा राखिएका नेपालको संस्कृति झल्काउने सामान, काठका टेबल नेपालबाटै ल्याउनुपर्दा केही अप्ठ्यारो भने झेल्नुपर्‍यो । यसले लागत खर्च पनि बढायो,’ शिवहरि भन्छन्, ‘तर गर्न नसकिने भन्ने केही छैन ।’ यिनै नेपालीपन झल्किने सामग्रीका कारण आज रातोमाटो सबैको रोजाइमा पर्ने गरेको उनी बताउँछन् ।

ग्राहकलाई गुणस्तरीय र स्वादिष्ट खाना खुवाउनु आफ्नो पहिलो प्राथमिकता भएको शिवहरि बताउँछन् । ‘लागत बढोस्, तर रातोमाटोले ग्राहकलाई गुणस्तरीय खाना खुवाउँछ,’ उनी भन्छन् । मटन, चिकेन र बिर्यानीका परिकार, गुन्दु्रक, ढिंडो र नेवारी परिकार ग्राहकको रोजाइमा पर्ने गरेको छ । नेपाली खानाको स्वादमा ग्राहक लोभिने उनी सुनाउँछन् ।

शिवहरिको रेस्टुरेन्टमा आठ जना नेपाली युवाले रोजगारी पाएका छन् । शिवहरि आफैं पनि उनीहरुसँगै खटिन्छन् । प्रायजसो उनी ग्राहकसँग खानाको स्वादबारे प्रतिक्रिया लिन व्यस्त हुन्छन् । रेस्टुरेन्टमा आउने विदेशी ग्राहकले पनि नेपाली खानाको प्रशंसा गर्ने गरेका छन् ।

रातोमाटोमा नेपालीका साथै नेपाली खाना मन पराउने, नेपाल पुगेका र नेपाली खानाबारे सुनेका विदेशी ग्राहक आउने गरेका छन् । रेस्टुरेन्टमा नेपाल, जापान, भारत, बंगलादेश, श्रीलंकालगायत मुलुकका ग्राहक आउने शिवहरि बताउँछन् ।

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?