+
+
जिल्ला निर्वाचन कार्यालय खारेजी :

निर्वाचनको निष्पक्षतामै प्रश्न उठाउने सरकारको हचुवा निर्णय

लिलु डुम्रे लिलु डुम्रे
२०८० जेठ २६ गते २१:४०

२६ जेठ, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध निर्वाचन आयोगले आन्दोलनकै चेतावनी दिएको छ । आयोगको चेतावनी अनुसार, सरकारले निर्णय नसच्याए आगामी १ साउनदेखि निर्वाचन कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प हुनेछ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनको इकाइका रुपमा सञ्चालन गर्ने घोषणा गरेको थियो । यदि यो कार्यक्रम कायम रहे आगामी साउनदेखि जिल्ला निर्वाचन कार्यालय छुट्टै रहनेछैन ।

निर्वाचन आयोगले भने यो शक्ति पृथकीकरणको सिद्धान्त एवम् संविधान र कानून प्रतिकूल हो भएको निष्कर्ष निकालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘आयोगसँग सल्लाह नगरी निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरियो । यो निर्णयले निर्वाचनमा सरकारले प्रत्यक्ष संलग्नता देखाउन खोजेको आयोगको ठहर छ ।’

प्रवक्ता पौडेल, जिल्ला निर्वाचन कार्यालय समायोजन गर्ने कार्यक्रम ल्याएको सरकारले प्रदेश निर्वाचन कार्यालय खारेज गर्ने उद्देश्य लिएको बताउँछन् । ‘प्रदेश निर्वाचन कार्यालय खारेज गर्न खोजेको हो/होइन थाहा छैन, तर बजेट छुट्याइएको छैन’, उनी भन्छन् ।

प्रदेश निर्वाचन कार्यालयलाई बजेट नै विनियोजन नगर्नु र जिल्ला कार्यालयलाई जिल्ला प्रशासनको इकाइ बनाउन खोज्नु संवैधानिक व्यवस्थाविरुद्धकै कार्य भएको आयोगको निष्कर्ष छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि जिल्ला निर्वाचन कार्यालयको व्यवस्था हटाएर प्रशासनको इकाइ बनाउँदा निष्पक्ष निर्वाचन हुन नसक्ने बताउँछन् । ‘प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृत तोकिने न्यायाधीशबीच कोर्डिनेसन हुन अप्ठ्यारो हुन्छ,’ उनी भन्छन्, ‘सीडीओको मातहत रहेर न्यायाधीशले मुख्य निर्वाचन अधिकृत बस्न मिल्दैन, बस्दैन पनि ।’

निष्पक्ष निर्वाचन गराउने उद्देश्य लिएर आर्थिक वर्ष २०५४/०५५ देखि अस्तित्वमा आएको निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयप्रति सत्तारुढ दलकै नेताहरुले आपत्ति जनाएका छन् ।

आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो, जहाँ आयोगका अधिकारीहरुले बिना अध्ययन, तयारी र वैकल्पिक व्यवस्था निर्वाचन कार्यालय हटाउने निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका थिए । त्यसमा  उपस्थित दलका प्रतिनिधिहरुले फरक मत राखेनन् । ‘निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन अन्तर्गत राखिने बजेटको व्यवस्थाको विपक्षमा सबै दल एकमत छन्’, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा भन्छन् ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसकै नेताले पनि सरकारी कार्यक्रमको विपक्षमा मत राखेका थिए । ‘जुनसुकै राजनीतिक दल सरकारमा रहेपनि निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ र निर्वाचन आयोग स्वायत्त हुनुपर्छ, यो लोकतन्त्रको मान्यता हो’, आयोगको छलफलमा उपस्थित कांग्रेस सहमहामन्त्री जीवन परियारको राय थियो, ‘जिल्ला निर्वाचन कार्यालय मर्ज गरिनु हुँदैन । निर्वाचन कार्यालयलाई छुट्टै अंगको रुपमा राख्नुपर्छ ।’

दलका प्रतिनिधिहरुसँग छलफ गर्नुअघि आयोगका अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेर निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचन कार्यालय खारेज नभएर नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको तर्क गरेका थिए । साथै आयोगको परामर्श बमोजिम निर्णय लिने प्रधानमन्त्रीको प्रतिबद्धता थियो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा कुनै संकुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा आफूहरु सचेत रहेको बताएका थिए ।

खर्च कटौतीको गलत तर्क

सरकारले बजेटमा निर्माणाका क्रममा कुन कुन समिति र संस्थानहरु खारेज गर्न सकिन्छ भनेर सुझाव दिन प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा समिति बनाएको थियो । यो समितिले कानुनी प्रक्रिया मिलाएर जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईका रुपमा राख्न सकिने सुझाव दियो ।

भोलि यो न्यायालय किन राख्ने ? कानुन मन्त्रालय अन्तरगत एउटा विभागका रुपमा राखेर फैसला गर्ने व्यवस्था गरौं भन्यो भने के हुन्छ ?

सुवास नेम्बाङ, पूर्वसभामुख

निर्वाचन हुने वर्ष बाहेक अरु बेला धेरै काम नहुने भएकाले जिल्ला निर्वाचन कार्यालयमा खासै कर्मचारी जान नमान्ने, निमित्तको भरमा चलाउनुपर्ने र विगतमा पनि सीडीओ कार्यालयबाट मतदाता नामावलीका नाम संकलन भएको भन्दै समितिले कानुनी प्रक्रिया मिलाएर सीडीओ कार्यालय मातहत ल्याउन सुझाव दिएको थियो ।

बजेट वक्तव्यमा खर्च कटौती गर्न भनेर २२ वटा संस्था खारेज/समायोजनको नीति अन्तर्गत जिल्ला निर्वाचन कार्यालयलाई सीडीयोको मातहत ल्याउने उल्लेख गरिएको छ । त्यसो गर्दा ७ प्रदेश र ७७ जिल्लामा रहेको निर्वाचन कार्यालयमा कार्यरत ५५३ कर्मचारीको दरबन्दी कटौती हुने र वार्षिक ८ देखि १० करोड जोगिने सरकारको तर्क छ ।

संविधानको धारा २४७ अनुसार, निर्वाचन आयोगका लागि आवश्यक कर्मचारी, स्रोत, साधन र भौतिक संरचना सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । तर खर्च कटौतीका नाममा निर्वाचन कार्यालयलाई जिल्ला प्रशासनको इकाइ बनाउने घोषणाको  चर्को आलोचना भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ भने सरकारको तर्क उदेकलाग्दो भएको टिप्पणी गर्छन् । ‘भोलि यो न्यायालय किन राख्ने ? कानुन मन्त्रालय अन्तरगत एउटा विभागका रुपमा राखेर फैसला गर्ने व्यवस्था गरौं भन्यो भने के हुन्छ ?’, पूर्व सभामुख नेम्वाङ भन्छन्, ‘त्यसैले अहिले जे भइरहेको छ, यो उदेकलाग्दो छ ।’

निर्वाचन आयोगको जुन पवित्रता र सर्वोच्च छ, त्यसलाई कायम राख्ने गरी अघि बढ्नुपर्ने भन्दै उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय सरकार मातहटको सीडीयो अन्तर्गत रहन सक्दैन ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?