+
+

यसरी सुरु भएको थियो पोखरामा कुष्ठरोग उपचार

अझै पनि समाजमा लुकेका छन्, कुष्ठरोगका बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २७ गते १६:३१

२७ जेठ, पोखरा । भारतको नौतुना हुँदै सन् १९५२ मा बेलायती नागरिक डा. लिल्ली ओ ह्यान्लन र हिल्डा स्टिलसँगै नेपाल भित्रिएको हो, ‘इन्टरनेसनल नेपाल फेलोसीप’ अर्थात आईएनएफ । डा. लिल्लीको टोली एक हप्ता लगाएर नौतुनाबाट हिँडेर पोखरा आएको थियो ।

डा. लिल्लीकै नेतृत्वमा आईएनएफले पोखराको रामघाटमा पहिलो स्वास्थ्य क्लिनिक र पोखरा बगरमा साइनिङ अस्पताल स्थापना गरेको थियो । सानो टहराबाट स्वास्थ्य सेवा थालेको यो मिसिनरी अस्पतालले त्यो बेलाको समाजमा एक खालको क्रान्ति नै ल्यायो । पोखरा नयाँ गाउँमा हरियो खर्क अस्पताल स्थापना गरेर कुष्ठरोगको उपचार थालेपछि समाजमा अपहेलित भएर बसेका कुष्ठरोगका बिरामीले उपचार पाए ।

बेलायती नर्स आइलिन लज र उनको सहयोगी बेट्टी बेलीको अगुवाइमा पोखरा पहिलो पटक कुष्ठरोगको उपचारका लागि हरियो खर्क कुष्ठरोग उपचार केन्द्रको स्थापना भएको थियो । ‘त्यो बेला नेपालमा कुष्ठरोगको माहामारी नै थियो । मानिसहरुले उपचार त परको कुरा, घर, गोठमा बाससमेत पाउँदैनथे’, डा. अरुणकुमार बुढा भन्छन्, ‘बन, जंगल र ओढारमा कुष्ठरोगीका विरामीलाई राखिन्थ्यो ।’

आईलिनकै नेतृत्वमा पोखरामा कुष्ठरोगको उपचारको थालनी मात्र भएन, कुष्ठरोग उपचारलाई व्यवस्थित र दिगो बनाउन अस्पताल स्थापना गर्ने कामको समेत थालनी भएको हो । कुष्ठरोगको उपचारमात्रै होइन, पुनस्र्थापना केन्द्रको रुपमा हरियोखर्कले सेवा दिन थाल्यो ।

स्थापनाको ७ दशकमा हरियो खर्क अस्पतालबाट छाला तथा कुष्ठरोगका बिरामीको उपचार र पुनस्र्थापनामात्रै होइन, कान तथा सुनाइसम्बन्धी उपचारको समस्या, मेरुदण्डको पक्षघात सम्बन्धी उपचार लगायत जटिल प्रकारका स्वास्थ्योपचार र सामाजिक स्वास्थ्य कार्यक्रममा लाखौंले सेवा लिएको आईएनएफका कार्यकारी निर्देशक कृष्ण अधिकारीको भनाइ छ । मुख्यगरी अपांगता भएकाहरुको उपचार गराउने मुख्य केन्द्र नै बनेको छ, हरियो खर्क ।

सरकारले सन् २०१० मै नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्‍यो । तर, त्यसपछि पनि देशमा वार्षिक औसतमा ३ हजार जना कुष्ठरोगबाट संक्रमण हुने गरेको तथ्यांक छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोग अन्त्य गर्ने उद्देश्य राखेको छ ।

‘नेपालमा कुष्ठरोग निवारणको घोषणा भए पनि समाजमा लुकेर रहेका थुप्रै कुष्ठरोगी छन्, जो बाहिर देखिएका छैनन् । समाजमा अहिले पनि कुष्ठरोगका कारण अपांगता भएका बालबालिकाको पहिचान हुन सकिरहेको छैन’, अधिकारीले भने, ‘नेपालमा सन् २०३० सम्ममा कुष्ठ रोगको अन्त्य गर्ने लक्ष्य राखिएको छ । यो हाम्रो पनि अन्तिम दौड हो । ७ दशकपछि कुष्ठरोगको अन्त्य नै गर्ने सहयात्रा हो, यो ।’

कुष्ठरोगको क्षेत्रमा हरियोखर्क अस्पताल तथा पुनस्र्थापना केन्द्र पोखरा, साइनिङ अस्पताल सुर्खेत, साइनिङ अस्पताल बाँकेमाफत काम गरिरहेको आईएनएफले कुष्ठरोगको अन्त्य गर्न नेपाल सरकारसँग मिलेर रणनीतिक योजना पनि बनाएको छ । शुक्रबार त्यही रणनीति योजनाको पुस्तिका लोकार्पण गरिएको छ भने कुष्ठरोग सम्बन्धी र उपचार गर्ने ३० बेडको नयाँ भवन पनि उद्घाटन भएको छ ।

आइलिन लज र उनको सहयोगी बेट्टी बेलीको नाममा बनेको नयाँ भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आएएनएफले नेपालको स्वास्थ्य सेवामा ठूलो योगदान पु¥याएको बताए । विशेषगरी कुष्ठरोगको उपचारसँगै सामाजिक चेतनाका कार्यक्रम पनि आवश्यक पर्ने मुख्यमन्त्रीको भनाइ छ । समाजमा अझै पनि कुष्ठरोगका बिरामीप्रति विभेद हुने, लुकाइने अवस्था रहिरहेकाले जनचेतनाका कार्यक्रम गर्दै सरकारी लक्ष्यलाई पूरा गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कुष्ठरोगको प्रकोप दर उच्च भएका पालिकाहरुलाई कुष्ठरोगमुक्त बनाउन आईएनएफले सहकार्य गरेको छ ।

समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई रणनीतिक योजनामा विशेष जोड दिइएको छ । धेरै मानिसहरुले कुष्ठरोग शब्द जानेको तर यसका लक्षण, सर्ने माध्यम, उपचार हुने अस्पतालका सम्बन्धमा जानकारी नभएको पाइएको डा. अरुणकुमारले बताए ।

कुष्ठरोगका बिरामीहरुको पहिचान गर्न र समाजमा नखुलेका बिरामीहरुलाई स्वास्थ्य संस्थासम्म ल्याइपुर्‍याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने देखिएको छ । कार्यशालाकै दौरान स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले कुष्ठरोगका सम्बन्धमा ज्ञान र सीपको अभाव भएको कुरा व्यक्त गरेको डा. अरुणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?