+
+

वारिपारि गर्न बनाइएका झोलुंगे पुलमा घुम्न आउनेको घुइँचो

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ २९ गते १४:४६

काठमाडौं । बिदाको समयमा घुमघाम गर्न मानिसहरु विभिन्न ठाउँको खोजीमा हुन्छन् । पहिले घुमिसकेका ठाउँभन्दा नयाँ नयाँ ठाउँमा घुम्ने मानवीय रुचि नै हो । त्यसैले घुम्न रुचाउनेहरुका लागि पर्यटन व्यवसायीले पनि थरीथरीका योजना ल्याइरहेका हुन्छन् ।

यस्तैमा पछिल्लो समय झोलुंगे पुल घुमघामको आकर्षणको केन्द्र बन्न थालेका छन् । देशका विभिन्न ठाउँमा यस्ता पुलहरु खोला वा नदीबाट पारि तर्न बनाइएका भए पनि घुम्नेहरुको रोजाइ समेत बन्न थालेका छन् ।

कतिपय ठाउँमा ठूलो खोला नै नभएको ठाउँमा समेत पुल बनाइएको पाइन्छ । हालै मात्र भक्तपुरको नगरकोट जाने बाटो तेलकोटमा यस्तै झोलुंगे पुल बनाइएको छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ जोड्न भनेर बनाइएको यो पुलमा वारिपारि गर्ने भने खासै कोही हुँदैनन् । यहाँ फोटो खिच्ने, टिकटक बनाउनेको भने घुइँचो नै लाग्छ ।

सार्वजनिक बिदा वा शनिबारको दिन पुल नै भरिभराउन हुने स्थानीय व्यापारी बताउँछन् । पुलमा रहेर कोही टिकटक बनाउने, कोही भिडियो खिच्ने, कोही पुलमा बसेर दृश्यावलोकन गर्ने गर्छन् ।

गत जेठ १२ गते उद्घाटन भएको यो पुल २५० मिटर लामो र ७५ मेट्रिक टन क्षमताको छ, जसले ५४० जना व्यक्ति एकैपटक रहन सक्छन् ।

भक्तपुरको साँगामा रहेको अर्को झोलुंगे पुल त प्रयोगविहीन नै छ । यो पुल पर्यटकीय आकर्षणका लागि मात्रै बनाइएको लाग्छ ।

सस्पेन्सन वृज डिभिजनका इन्जिनियर प्रवेश रेग्मी झोलुंगे पुल मान्छे आवतजावत गर्नको लागि बनाइएको हो, तर पुल हल्लाउने, पुलमाथि सवारीसाधन चलाउने कार्य गर्दा यसको  आयु नै कम हुने बताउँछन् । पुलको हेरचाहका लागि कर्मचारी नै राख्नुपर्ने उनी सुझाउँछन् । सस्पेन्सन वृज डिभिजनको तथ्यांक अनुसार नेपालमा हालसम्म करिब ९ हजार ८०० वटा झोलुंगे पुल छन् ।

तस्वीर : रेणु त्वानाबासु

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?