+
+

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १२:४१

३० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताएका छन् ।

भारतको कोलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताएका छन् ।

हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, विद्यमान कनेक्टिभिटी पूर्वाधारमा सुधार गर्न र नयाँ पूर्वाधारहरु निर्माण गर्न बिमस्टेकमा रहेका देशहरुले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको उनले बताए ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाह जस्ता भौतिक पूर्वाधारको वृद्धि गर्नु आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य श्रृङ्खलाको विकासमा सहयोग पुर्‍याउन पूर्वाधारको विकास र स्तरोन्नति गर्न संयुक्त प्रयास गर्न सकिने बताए ।

‘ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूमा बढी मात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ,’  ढकालले भने ।

कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेको उनले बताए ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य श्रृङ्खलाका लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाउन सक्छन् । भन्सार प्रक्रियालाई सरल बनाउने, नीति नियमहरु सरल बनाउने र लगानी सहजीकरणका उपायहरु प्रवद्र्धन गर्ने जस्ता विषयहरु यसमा समावेश गर्न सकिन्छ ।

‘यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यात आधारमा विविधिकरण हुन्छ,’ उनले भने ।

उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताए ।

‘बिमस्टेक राष्ट्रहरुबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ,’ उनले भने ।

महासंघका अध्यक्ष समेत रहेका ढकालले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?