+
+

भारतले दिएको थियो ट्वीटर बन्द गर्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १९:४९

नयाँ दिल्ली।  भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्।

भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार तथा आलोचकहरुको ट्वीट सेन्सरका लागि पनि भारत सरकारले दबाब दिएको उनले बताएका छन् ।

डोर्सीको आरोप भारत सरकारले अस्वीकार गरेको छ। ‘उनको यो आरोप सरासर झुठो र मनगढन्ते छ। ट्वीटरका कुनै पनि कर्मचारीका घरमा छापा मारिएको वा उनीहरुलाई गिरफ्तार गरिएको छैन। ट्वीटरले बरु भारतीय कानुनको पालना समेत गरेन। उसलको भारतीय स्वाधिनताको सम्मान गरेन,’ संघीय मन्त्री राजिव चन्द्रशेखरले भनेका छन्।

ट्वीटरले भारतको कानुन उसलाई नलाग्ने तरिकाले प्रस्तुत भएको मन्त्री चन्द्रशेखरको आरोप छ। ट्वीटरले वाक स्वतन्त्रताको नाममा अप्ठ्यारो पारेको बहस धेरै मुलुकमा चलिरहेको अवस्थामा डोर्सीको यस्तो प्रतिक्रिया आएको हो। डोर्सीले सन् २०२१ ट्वीटर छोडेका थिए ।

डोर्सीले टर्की सरकारले समेत भारतकोझैँ दबाब ट्वीटरलाई दिएको बताएका थिए। ‘भारत र टर्कीले सरकारको आलोचना गर्ने पत्रकारका एकाउन्ट बन्द गर्न पटक-पटक दबाब दिएका थिए । भारतले पनि किसान आन्दोलनबारेका ट्वीट हटाउन र सेन्सर गर्न दबाब दियो। यसो नगरे भारतमा ट्वीटर बन्द गर्नेदेखि कर्मचारीको घरमा छापा मार्ने र ट्वीटरमाथि अन्य कारबाहीको धम्की दियाे र यो लोकतान्त्रिक मुलुकको भारतको ट्वीटरप्रतिको दबाब थियो,’ डोर्सीले भनेका छन्।

करोडौँले प्रयोग गर्छन् भारतमा ट्वीटर

किसान आन्दोलनको क्रममा करोडौँको संख्यामा ट्वीट भएको थियो। कृषि कानुन सुधारको माग गर्दै भएको आन्दोलन बारेका ट्वीट पाकिस्तानको समर्थन प्राप्त शिख उग्रपन्थीले गरेको भन्दै भारतले ट्वीटरलाई सेन्सररको दबाब दिएको डोर्सीको भनाइ छ। शान्तिपूर्ण किसान आन्दोलनमा हिंसा भड्किएपछि भारत सरकारले ट्वीटरलाई तीब्र दबाब दिएको डोर्सीको भनाइ छ।

पहिलो चरणमा त्यसबेला ट्वीटरले २५० भन्दा बढी खाता बन्द गरेको थियो। त्यसमा पत्रपत्रिका तथा अधिकारकर्मीको एकाउन्ट थियो। एकाउन्ट बन्द गरेको ६ घण्टामै ट्वीटरले ती खातालाई पुन सक्रिय बनाएको थियो। सरकारको आरोप पुष्टि हुने पर्याप्त कारण फेला नपरेकाले खाना पुन सक्रिय बनाएको ट्वीटरले बताएको थियो।

ट्वीटरले खाता सक्रिय बनाए लगत्तै सरकारले फेरी दबाब दिएको र आदेश नमाने सात वर्षसम्म जेल सजायँ दिने धम्की दिएको ट्वीटरका पूर्व सिइओ डोर्सीको भनाइ छ। सरकारको आदेशलाई अस्वीकार गर्दै ट्वीटरले त्यसबेला दिएको जवाफबारे डोर्सी भन्छन्, ‘बन्द गरिएका खाता पत्रपत्रिका तथा मानवअधिकारकर्मीको रहेको छ। उनीहरूको खाता बन्द गर्नु भनेको भारतीय संविधानले वाक स्वतन्त्रताबारे प्रत्याभूत गरेको मौलिक हक हनन गर्नु हो।’

त्यसयता ट्वीटर र मोदी सरकारको सम्बन्ध निकै चिसिएको थियो। भारतमा अहिले बनेको कानुनले ट्वीटर तथा फेसबुकलाई सरकारको सिधै निगरानीमा राखेको छ। सरकारले यो कानुन घृणाको अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन लागिरहेको बताएको छ। तर जानकारहरु भने यो कानुन सेन्सरसिपका लागि रहेको बताउँछन्। एनल मस्कले पनि भारतीय कानुन निकै कडा रहेको बताएका थिए।

डोर्सीले भारत पनि टर्की र नाइजेरिया जस्तो अधिनायकवादी पथमा अघि बढेको बताएका छन् ।

‘टर्की र नाइजेरियाले ट्वीटरमाथि धेरै प्रहार गरे। भारत पनि त्यही अधिनायकवादी पथमा छ। टर्कीकै अदालतमा ट्वीटरले  सरकारविरुद्ध मुद्दा जित्यो। टर्कीले पनि कर्मचारीलाई धम्की दिएको थियो। नाइजेरियामा हामीले कर्मचारी राख्न नसक्ने खालको त्रास थियो। भारत पनि त्यतै अघि बढिरहेको छ,’ डोर्सीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?