+
+

‘आँप र कोल्ड ड्रिंक एकैसाथ खान नहुने कुरा हल्ला मात्र’

मनिषा थापा मनिषा थापा
२०८० जेठ ३१ गते १४:५५

काठमाडौं । आँप र कोल्ड ड्रिंक एकसाथ खाँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचार मात्र होइन, ह्वाट्सएपबाट  आँप र कोल्ड ड्रिंक नपिउनुहोस् भन्दै सूचना समेत धेरैको मोबाइलमा आएको हुन सक्छ ।

‘आँप खानेबित्तिकै चिसो पेय नखानुहोस् । चन्द्रीगढ जाँदै गरेका केही व्यक्ति आँप खानेबित्तिकै चिसो पेय खाएपछि अचानक थला परे । उनीहरुलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइयो । अस्पतालले मृत घोषित गर्‍यो, ‘वाट्सएपमार्फत आदानप्रदान भइरहेको म्यासेजमा थप लेखिएको छ, ‘चिकित्सकले पनि आँपमा साइट्रिक एसिड र कोल्ड ड्रिंकमा हुने कार्बोनिक एसिड मिसिंदा पेटमा विष उत्पादन हुन्छ । कृपया यो सन्देश आफ्ना सबै प्रियजनहरूमा फर्वाड गर्नुहोस् । किनकि आँपको सिजन सुरु भएको छ ।’

यसरी एकबाट दुई गर्दै हाल धेरैमा फैलिसकेको यो सूचना सत्य हो त ?

भारतीय समाचारमाध्यम र ह्वाट्सएप म्यासेजमा व्यापक रुपमा फैलिरहेको सूचनामा कुनै वैज्ञानिक पुष्टि नभएको र उक्त घटना अफवाह मात्र भएको पाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले भाइरल भइरहेको उक्त सूचना तथ्यहीन र अफवाह मात्र भएको उल्लेख गरेको छ । समाचारमा उल्लेख छ, ‘बंगलादेशमा पनि दुई यात्री आँप र कोक खाएकै कारण मृत्यु भएको भन्दै समाचारको क्लिप भाइरल भइरहेको छ । जुन गलत हो ।’

वास्तवमै आँप खाएपछि चिसो पेय खान हुँदैन त ? के भन्छन् त विज्ञ ?

आँप र चिसो पेयमा पाइने रसायन वा एसिडको मिश्रणमा विष बन्ने तत्व नहुने जनरल फिजिसियन डा. निमेष पौडेल बताउँछन् ।  उदाहरण दिंदै उनले भने, ‘आँपमा पाइने साइट्रिक एसिड कागतीमा पनि हुन्छन् । कागतीलाई कोक, फ्यान्टा, डिउजस्ता चिसो पेयमा मिसाएर खाने गरिन्छ । कागती र कोल्ड ड्रिंक खाएर थला परेको खबर आजसम्म आएको छैन । साइड इफेक्ट पनि खासै देखिंदैन ।’ यो तथ्यहीन कुरा हो । यद्यपि, पहिला नै कसैलाई गम्भीर स्वास्थ्य समस्या भएमा यस्ता खानेकुरा खाँदा विरलै यस्तो घट्ना हुन सक्ने उनको तर्क छ ।

‘आँपको मौसम सुरु हुने बित्तिकै यस्तो अपवाह सामाजिक सञ्जालमा फैलिने गर्छन्, जुन नौलो कुरा होइन,’ उनले अगाडि थपे, ‘आँपसँगै अत्यधिक चिसो पेय खाँदा त्यसमा हुने तत्वले शरीरमा कुल्कोजको स्तर चाहिं बढ्न सक्छ तर असामान्य अवस्था निम्त्याउँदैन ।’

आँप र चिसो पेयको मिश्रणले कुनै पनि गम्भीर रासायनिक प्रतिक्रिया हुन नसक्ने कुरा वरिष्ठ पोषणविद् प्रा. डा. मनषा थापा ठकुराठी पनि स्वीकार्छिन् । ‘आँप र चिसो पेयमा पाइने एसिडले शरीरलाई गम्भीर असर गर्दैन । व्यक्तिअनुसार शरीरको प्रकृति फरक-फरक हुन्छ । कसैमा पाचनप्रणालीमा सामान्य असर भने गराउन सक्छ,’ उनले भनिन् ।

यद्यपि, यो मौसममा औषधि हालेर पकाएको आँपले स्वास्थ्यलाई केही असर गर्न सक्ने उनी बताउँछिन् । उनका अनुुुसार औषधि हालेर पकाएको आँपले कसैलाइ घाँटी खसखस गर्ने, छालामा एलर्जी, मुखमा खटिरा र पाचनप्रक्रियामा सामान्य असर गर्न सक्ला ।

‘गर्मीमा आँपले झन् शरीरलाई गर्मी बनाउँछ । स्कुल जाने बालबालिका दिनभर एकै कक्षामा धेरै जनासँग बस्दा बढी गर्मी हुने हुँदा उनीहरुलाई नदिनु नै उचित हुन्छ । खानै मनलागे दिनभर पानीमा भिजाएर मात्र खानु ठीक हुन्छ,’ उनी सुझाउँछिन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?