+
+

८१ वर्षपछि पुस्तकालयमा फिर्ता गरियो किताब, १७औं पेजमा लेखिएको थियो यस्तो

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १३:४८

मानिसहरु पुस्तकालय जान्छन्, किताब पढ्छन् र कहिलेकाहीँ नियमानुसार केही दिनका लागि नाम दर्ता गराएर घरमा पढ्नका लागि किताब लैजान्छन् ।

सबैजसो पुस्तकालयमा पाठकका लागि लगेको किताब फिर्ता गर्नुपर्ने निश्चित समय तोकिएको हुन्छ र उक्त समयमा किताब फिर्ता नगरेमा दैनिक रुपमा केही रकम जरिवाना तिर्नुपर्ने हुन्छ ।

यसरी दैनिक रुपमा जरिवाना तिर्नुपर्ने अवस्थामा कुनै मानिसले कति दिनसम्म पुस्तकालयको किताब लगेर घरमा राख्छ होला ? सायद पत्याउनै गाह्रो पर्छ होला, एकजना व्यक्तिले पुस्तकालयबाट लगेको किताब ८१ वर्षपछि फिर्ता गरेका छन् ।

अमेरिकाको वाशिंगटनस्थित एबरडिनमा यो घटना भएको हो । सन् १९४२ को मार्च ३० मा लगिएको उक्त किताब ८१ वर्षपछि बल्ल पुस्तकालयमा फिर्ता गर्नका लागि ल्याइएपछि पुस्तकालयका कर्मचारीहरु समेत तीनछक परे ।

टिम्बरल्याण्ड क्षेत्रीय पुस्तकालयले आफ्नो फेसबुक पेजमा यसबारेमा जानकारी दिँदै लेखेको छ-चार्ल्स नरडफ तथा जेम्स नर्मनले हलको पुस्तक द बाउन्टी  ट्रिलोजी ८१ वर्षपछि एबरडिन टिम्बरल्याण्ड पुस्तकालयमा फिर्ता आएको छ । वास्तवमा पुस्तकालयको यो किताब कसैको पुराना सामानमा त्यत्तिकै राखिएको अवस्थामा फेला परेको थियो ।

उक्त पुस्तक सन् १९३२ मा प्रकाशित भएको हो । यदि उक्त पुस्तक लग्नेलाई नियमानुसार दैनिक ०.०२ डलरको हिसाबले जरिवाना लगाएको भए किताब लग्ने व्यक्तिले ४८४.८० डलर तिर्नुपर्दथ्यो । त्यो भनेको शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिनहरु कट्टी गरेपछिको जरिवाना रकम हो ।

तर पुस्तकालयले धेरै समय किताब राखेवापतको जरिवानाको नियम हटाएकाले ८१ वर्षपछि किताब फर्काउँदासमेत कुनै जरिवाना लागेन ।

पुस्तकालयका अनुसार सो पुस्तक हाल पुस्तकालयमा रहेको र जो कोहीले पनि पढ्नका लागि लैजान सक्ने जनाएको छ ।

समाचार अनुसार उक्त किताब लैजाने व्यक्तिले केवल पुस्तकको १७ पेजसम्म मात्रै पढेका रहेछन् । सत्रौं पेजमा उनले एउटा नोट लेखेर राखेका छन्, जसमा लेखिएको छ-यदि मलाई पैसा नै दिइयो भने पनि मैले यो किताब कहिल्यै पढ्दिन । यसबाट के लख काट्न सकिन्छ भने ती व्यक्तिलाई सो किताब कत्ति पनि मन परेको रहेनछ ।

पाठकहरुले पढ्नका लागि धेरै अगाडि लगेका किताबहरु फिर्ता गर्नका लागि प्रेरित गर्दै पुस्तकालयले फेसबुक पेजमा लेखेको छ- यो घटनाबाट के शिक्षा प्राप्त हुन्छ ? यदि तपाईंसँग यहाँबाट लगेका किताबहरुले धुलो खाइरहेका छन् भने त्यसलाई पुस्तकालयमा फिर्ता गर्नुहोस् । हामीले त्यसलाई उपहार सम्झेर लिनेछौं र जरिवाना माग्नेछैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?