+
+

सडक इन्जिनियरिङलाई गिज्याउने ‘कालोपुलको अण्डरपास’

अमृत चिमरिया अमृत चिमरिया
२०८० जेठ ३२ गते २०:१३

३२ जेठ, काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकामा भारी वर्षा भयो । वर्षा लगत्तैको भलले ललितपुरको सुन्दरीघाट नजिकको कालोपुल मुनिको अण्डरपासमा पानी भरियो । ‘सडकको भिरालो भागमा भीषण वर्षपछि भल जम्नु के गलत भो ? पानी रोकिएपछि खुली हाल्छ नि ?’ धेरैलाई यस्तै लाग्न सक्छ ।

तर, यो सडक भएर यात्रा गर्ने हजारौं यात्रुले २० मिटरको सडकको समस्याका कारण १० वर्षदेखि हैरानी व्यहोरी रहेका छन् । ललितपुरको व्यापारिक केन्द्र झम्सीखेल र टेकु दोभान भएर काठमाडौंलाई जोड्ने मात्रै होइन । पुल मुनिको बागमती करिडोर सडकले ललितपुर र काठमाडौंको सिंङ्गो जामलाई छिचोलेर दुवै जिल्लाको प्रमुख स्थानसम्म यात्रुलाई सहजै पुर्‍याउँछ ।

सडक इन्जिनियरिङमा विश्वले कयौं आधुनिक फड्को मारिरहेको अहिलेको अवस्थामा देशको संघीय राजधानी शहर काठमाडौंको दुई महानगरपालिका जोड्ने २० मिटर बाटो १० वर्षदेखि पानी जम्मा नहुने बनाउन सकिएको छैन ।

बागमती नदी किनारमा रहेको ललितपुर महानगरपालिकाको सानेपा र काठमाडौंको टेकु जोड्ने पुलमुनि प्रत्येक वर्षामा हिंड्न नक्सने अवस्था पुग्छ । बल्खुबाट यूएन पार्क र यूएन पार्कबाट बल्खुतर्फ जाने सवारी साधन अहिले प्रत्येक दिनजसो उक्त पुल मुनिको अण्डरपासमा आधि डुबेर वारपार गर्नुपर्ने बाध्यता छ ।

‘राति पानी आएको दिन कार्यालय समय विहान १० बजे यो बाटो हिंड्ने सकिँदैन, २–३ बजेसम्म पानी जम्छ, फेरि सानो पानी परे भरिन्छ,’ बिहीबार मध्यान्हमा उक्तबाट हुँदै बल्खु तर्फ गइरहेका सम्झना महर्जनले दुखेसो पोखिन् । उनले वर्षामा पुलमुनि रहेको होचो र उठाइएहको अग्लो दुवैबाटो अवरुद्ध हुने बताइन् । महर्जन जस्तै उक्त बाटो यात्रा गर्नेले दैनिक रुपमा त्यही समस्या भोग्ने गरेका छन् ।

उक्त बागमती नदी किनारको सडक हेरिरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकासले भने नदीको सतह भन्दा सडक होचो बनाएको कारण वर्षामा समस्या हुने गरेको जनाएको छ ।

‘पुल बनाएको अर्कै कार्यालयले हो । पुल बनाउँदा अण्डरपास होचो भएको भन्दै सडकलाई लच्काकोरुपमा होचो बनाइएको थियो । त्यही होचा ठाउँमा सानेपा क्षेत्रको ढल आउँदा वर्षामा सँधै डुबान हुने गरेको छ,’ समितिका उपनिर्देशक उद्धव नेपाल भन्छन् ।

पुल बनाउँदा ठूला गाडीहरु छिर्न नसक्ने भन्दै सडकलाई होचो बनाउँदा समस्या आएपछि समितिले छेउमै अर्को सडक उचालेर बनाएको नेपाल बताउँछन् । उनले वर्षाका बाढीमा ३ महिना मात्रै समस्या हुनेगरेको भन्दै अन्य समयमा ठूला गाडीहरु गुड्ने गरी बाटो बनाएको बताए ।

समितिकै इन्जिनियर मिहीर चन्द्र आचार्यले पानी जमेर समस्या हुनुको कारण नदी सतहभन्दा मुनि अण्डरपास रहेको बताए ।

‘माथिबाट आएको पानी अण्डरपासको तल्लो भाग त भरिने नै भयो, उचालेको रोड पनि हिंड्न नसक्ने अवस्था आएको छ, यसको लागि समितिले केही समय अगाडिसम्म पम्पिङ गरेर फाल्ने गर्दथ्यो । तर, पम्पमा हिलो गएर बिग्रने समस्या भएपछि अहिले यत्तिकै छ ।’ आचार्यका अनुसार पानी जम्ने समस्याको दीर्घकालीन समाधानका लागि बल्खुसम्म ढलको पाइप लगेर बागमतीमा मिसाउनुपर्ने छ ।

‘सानेपा क्षेत्रबाट आउने ढल बागमतीमा सिधै जाँदैन, उस्तै सतह छ, त्यसको लागि ८ सय मिटर जति पाइप ओच्छाएर बल्खु क्षेत्रमुनि झार्नुपर्छ अनि मात्रै समाधान हुन्छ,’ आचार्यले भने । उनका अनुसार १० वर्ष देखि प्रत्येक वर्षामा पुलमुनिको २० मिटर लम्बाइ क्षेत्रमा करिब ३ महिना समस्या हुँदै आएको छ ।

उनका अनुसार एक मिटर अग्लो सतहसम्म पानी जम्ने गरेको छ । पुलमुनी दुईवटा सडक भए पनि पानी ठूलो पर्दा माथिल्लो सडक पनि भरिन्छ, त्यसले दैनिक यात्रुहरुलाई समस्या परेको हामीले महसुस गरेका छौं, यसको समाधानका लागि पहल गर्दैछौं,’ इन्जिनियर आचार्यले भने ।

फोटो/भिडियो : विकास श्रेष्ठ

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?