+
+

काठमाडौंका स्वीमिङ पुल : कति लाग्छ शुल्क, के छ आकर्षण ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार ४ गते १८:२९
टोखास्थित टोखा किबा स्वीमिङ पुल एण्ड फनपार्क

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौंमा गर्मी अत्यधिक बढेको छ । गर्मी बढेसँगै सहरी क्षेत्रका पौडी पोखरीहरूमा घुइँचो देखिन थालेको छ । गर्मीको बेला स्वीमिङ खेल्दा शारीरिकदेखि मानसिक स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा सरकारी तथा निजी संस्थाले चलाएका स्वीमिङ पुलमा घुइँचो लाग्ने गर्छ ।

त्यसैले काठमाडौंमा स्वीमिङको लागि ६ उत्कृष्ट गन्तव्यको बारेमा हामीले चर्चा गरेका छौं ।

स्वयम्भू रिक्रियसन सेन्टर

गर्मीबाट शीतलता पाउन स्वीमिङ गर्न कहाँ जाने भनेर सोच्दै हुनुहुन्छ भने स्वयम्भूमा रहेको स्वयम्भू रिक्रियसन सेन्टर राम्रो विकल्प हुन सक्छ । यो स्वीमिङ पुल बिहान ७ बजेदेखि बेलुका नौ बजेसम्म खुल्छ । स्वीमिङ गरेबापत प्रतिव्यक्ति शुल्क ३५० रुपैयाँ हो भने १२ वर्षमुनिका बालबालिकाका लागि भने २५० रुपैयाँ पर्छ । शुल्क तिरेपछि जति मन लाग्छ त्यति समय स्वीमिङ गर्न सकिन्छ । समय अवधि तोकिएको छैन ।

यहाँ स्वीमिङ सिक्न पनि सकिन्छ । ३० दिनको कक्षा हुन्छ, हरेक दिन एक घण्टाको कक्षा हुन्छ । स्वीमिङ सिक्न एक महिनाको शुल्क १० हजार रुपैयाँ लाग्छ ।

सातदोबाटो स्वीमिङ पुल 

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा इन्डोर र आउटडोर गरेर दुईवटा स्वीमिङ पुल छ । इन्डोर बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहन्छ । आउटडोर पुल भने बिहान १० देखि दिउँसो १२ बजेसम्म पहिलो सिफ्ट, दिउँसो २ देखि ४ बजेसम्म दोस्रो सिफ्ट र ४ देखी ७ बजेसम्म तेस्रो सिफ्ट गरेर स्वीमिङ गर्न मिल्छ ।

यहाँ आउटडोर स्वीमिङको प्रतिव्यक्ति २०० रुपैयाँ दिनुपर्छ । ११ जनाभन्दा बढीको समूह भएमा १५० रुपैयाँ मात्र लाग्छ । इन्डोरको भने प्रतिव्यक्ति ५०० रुपैयाँ तिर्नुपर्छ ।

सातदोबाटो स्वीमिङ पुलमा इन्डोर र आउटडोर दुवैमा स्वीमिङ सिकाइन्छ । आउटडोरमा एक महिना पौडी सिकेको पाँच हजार रुपैयाँ पर्छ भने इन्डोरमा भने ७ हजार २०० रुपैयाँ पर्छ ।

बज्र स्पोर्टस् क्लब

कालोपुलमा रहेको बज्र स्पोर्टस् क्लब पनि स्वीमिङका लागि रोज्न सकिने अर्को ठाउँ हो । जहाँ स्वीमिङ गरेबापत प्रतिव्यक्ति ३०० रुपैयाँ तिर्नुपर्छ । विद्यार्थीहरूका लागि भने छुटको व्यवस्था छ । विद्यार्थीहरूले २५० रुपैयाँ मात्र तिर्दा हुन्छ । समय अवधि तोकिएको छैन, जति समय मन लाग्छ त्यति समय स्वीमिङ गर्न सकिन्छ ।

बज्रमा स्वीमिङ सिक्न पनि सकिन्छ । १० दिने, २० दिने र ३० दिने कक्षा लिएर स्वीमिङ सिक्न सकिन्छ । १० दिने क्लासको ७ हजार, २० दिनको १२ हजार र एक महिनाको १५ हजार रुपैयाँ पर्छ । एक घन्टे प्रशिक्षण हुन्छ त्यसबाहेकको समयमा पनि खेल्न पाइन्छ ।

मित्स्य स्वीमिङ

चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा रहेको मित्स्य स्वीमिङ चन्द्रागिरि वरपर बस्नेका लागि उपयुक्त हुन सक्छ । यहाँ स्वीमिङ गर्न प्रतिव्यक्ति २५० रुपैयाँ पर्छ । विद्यार्थीका  लागि २०० र १३ वर्षमुनिका बालबालिकाका लागि १५० रुपैयाँ शुल्क लाग्छ ।

मित्स्यमा स्विमिङ सिक्न १७ दिने कोर्सको १० हजार रुपैयाँ लाग्छ । समूहमा स्वीमिङ गर्न आउनेलाई विशेष छुटको पनि व्यवस्था हुन्छ । बच्चाका लागि ट्युब ल्याउन बिर्सिएको अवस्थामा १०० रुपैयाँ तिरेर ट्युब भाडामा पनि लिन सकिन्छ ।

टोखा किबा स्वीमिङ पुल एण्ड फनपार्क

टोखा भूतखेलमा रहेको टोखा किबा स्वीमिङ पुल एण्ड फनपार्क पनि स्वीमिङको लागि रोज्न सकिने ठाउँ हो । यहाँ स्वीमिङ पुलसँगै बच्चाका लागि विभिन्न खेलको पनि व्यवस्था छ ।

यहाँको प्रवेश शुल्क प्रतिव्यक्ति ४५० रुपैयाँ हो भने विद्यार्थीलाई ३५० रुपैयाँ पर्छ । टोखा किबामा पनि पौडी खेल्न सिकाइन्छ । पौडीको एक महिने कोर्सका लागि ३ हजार ५०० रुपैयाँ शुल्क लाग्छ ।

वाटर फन्ट फिटनेस स्टुडियो

स्वीमिङको लागि म्हेपीमा रहेको वाटर फन्ट फिटनेस स्टुडियो पनि राम्रो विकल्प हो । यहाँ पनि समयावधि तोकिएको छैन । प्रतिव्यक्ति ५०० रुपैयाँ तिरेपछि आफूलाई जति समय मन लाग्छ, त्यति समय स्वीमिङ गर्न सकिन्छ । विद्यार्थीका १०० रुपैयाँ छुटको व्यवस्था छ ।

बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म खुल्ला रहने मित्स्यामा पौडी खेल्न सिक्न पनि पाइन्छ । सात दिन डेढ घण्टा पौडी सिकेको ७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ भने १० दिनको १० हजार रुपैयाँ र १५ दिनको १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

स्वीमिङ गर्न जाँदा साथमा लैजानुपर्ने सामग्री

स्वीमिङ गर्दा साधारण कपडाको प्रयोग गर्नुभन्दा स्वीमिङ सुटको प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैले स्वीमिङ गर्न जाँदा स्वीमिङ कस्ट्युम अनिवार्य लैजानुपर्छ । लामो समय स्वीमिङ गर्ने हो वा सिक्दै गरेको हो भने भने स्वीमिङ क्याप र चश्मा पनि लैजानुपर्छ । घामबाट बच्न वाटरप्रुफ सनस्क्रिन पनि लैजानु राम्रो हुन्छ । बच्चाहरूलाई स्वीमिङ गराउन लैजाँदा ट्युब पनि अनिवार्य लैजानुपर्छ । स्वीमिङ गरिसकेपछि जीउ पुछ्न टावेल पनि लैजानुपर्छ ।

स्वीमिङ कस्ट्युमलाई कति पर्छ ?

बजारमा साना बालबालिकादेखि वयस्क सबैका लागि स्वीमिङ सुट किन्न पाइन्छ । बच्चाको स्वीमिङ कस्ट्युमको २०० देखि ८०० रुपैयाँसम्म पर्छ । वयस्कका लागि भने एक हजार रुपैयाँ भन्दा बढी नै पर्ने सोनी फेन्सी एन्ड कस्मेटिककी सञ्चालिका सोनी धिमाल बताउँछिन् ।

स्वीमिङ क्यापको १५० रुपैयाँ र चश्माको २०० रुपैयाँ पर्छ । यस्तै बच्चाका लागि स्वीमिङ ट्युबको २०० रुपैयाँ पर्ने धिमाल बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?