+
+

पल शाहको ‘कमब्याक’ पक्का : भदौमा फिल्म छायांकन, तिहारपछि रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १५:०४

काठमाडौं । अभिनेता पल शाहले आफ्नो कमब्याक फिल्मबारे खुलासा गरेका छन् । गत साता हङकङ पुगेको बेला स्थानीय नेपाली सञ्चारमाध्यमसँग कुरा गर्दै आफू फिल्म फर्कन लागेको खुलाएका हुन् । शीर्षक तय भइनसकेको फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

एक वर्ष लामो कारागार बसाइपछि पहिलोपटक उनले फिल्मबारे कुरा गरेका हुन् । आफूले काम गर्न लागेको यो नयाँ फिल्मको पटकथा ‘प्रकाश’ फेम्ड विकास सुवेदीले लेखिरहेको उनले जनाए । यसअघि अनलाइनखबरसँग कुरा गर्दै लेखक सुवेदीले पलले नै आफूलाई फिल्म ‘अप्रोच’ गरेको बताएका थिए । अब भने पल र सुवेदीले सहकार्य गर्ने पक्का भएको छ ।

उक्त अन्तर्वार्तामा शाहले असार दोस्रो सातादेखि आफू फिल्मको तयारीमा जुट्ने र अभिनय सिक्ने बताएका छन् । भदौदेखि छायांकन सुरु हुने फिल्मको रिलिज तिहारपछि समेत हुने पलले जनाएका छन् । ‘असार दोस्रो सातादेखि फिल्मलाई समय दिनेछु,’ उनले भने, ‘फिल्मको स्क्रिप्टको पहिलो ड्राफ्ट सकिएको छ ।’

एक-दुई साताभित्रै फिल्मको घोषणा हुने उनले बताए । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा पलको भूमिकाबारे खुलाइएको छैन । यसअघि कुरा गर्दै लेखक सुवेदीले यो फिल्मले पलको करिअरलाई उकास्ने बताएका थिए । अनि नायिका चाहिं को नि ? यसबारे सोधिएको जिज्ञासामा उनले केही खुलाएनन् ।

पल शाह प्रोडक्सनबाट फिल्म निर्माण गर्ने योजना रहे पनि यसमा रिसर्च गर्न समय लाग्ने भएकाले बाहिरी कम्पनीको फिल्म गर्न लागेको उनले बताए । ‘म पनि आफ्नै प्रोडक्सनबाट फिल्म गर्ने तयारीमा थिएँ । मैले गर्न लागेको र अहिलेको फिल्मको लेखक विकास सुवेदी एउटै हुनुहुन्छ,’ उनले भने । अझै दुई साता आफू म्युजिक भिडियोमै व्यस्त हुने पनि पलले बताए ।

‘नाइँ नभन्नु ल ४’ बाट डेब्यु गरेका पलको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?