+
+

सरकारले ऋण लिएको रकम ऋण तिर्नै ठिक्क

अच्युत पुरी अच्युत पुरी
२०८० असार ६ गते १७:२४

६ असार, काठमाडौं । ऋणको पासोमा पर्दै गएको सरकारले चालु आर्थिक वर्षमा लिएको आन्तरिक ऋण रकम ऋण तिर्नमै खर्च गर्नु परेको छ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म सरकारले २ खर्ब २० अर्ब ३८ लाख रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ । यसै अवधिमा आन्तरिक ऋणको सावाँ–ब्याज भुक्तानीमा भने १ खर्ब ६४ अर्ब ४८ करोड रुपैयाँ खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्‍कमा उल्लेख छ । जेठसम्म सरकारले आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब ८ अर्ब ११ करोड र ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड खर्च गरेको छ । यस अवधिमा कमिसनमा ११ करोड रुपैयाँ खर्च भएको छ ।

आन्तरिक ऋणको ब्याजदर माथि जाँदा ब्याज भुक्तानीमा सुरुको विनियोजनभन्दा बढी खर्च गर्नुपरेको र समयावधि पूरा भएको ऋणको सावाँ भुक्तानी गर्नु परेका कारण चालु आर्थिक वर्षमा ‘ऋण लिएर ऋण नै भुक्तानी गर्नुपर्ने’ अवस्था आएको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता धनीराम शर्मा बताउँछन् । यो अवस्था आगामी दुई आर्थिक वर्षमा समेत अझै बढ्ने उनको भनाइ छ । ‘यो वर्ष धेरै मन्त्रालयहरुमा बजेट घट्यो भन्ने गुनासो आयो, यसो हुनुमा अनिवार्य दायित्वमा पर्ने ऋण भुक्तानीमा धेरै बजेट विनियोजन गर्नु परेरै हो’ उनले भने, ‘अबको दुई वर्षपछि भने यो दबाब केही कम हुन्छ ।’

आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले सार्वजनिक ऋणको सावाँ/ब्याज भुक्तानीमा दोब्बर बजेट खर्च गर्नुपर्नेछ । चालु आर्थिक वर्ष २०७९/८० मा ऋणको सावाँ/ब्याज भुक्तानीमा १ खर्ब ८७ अर्ब ६० करोड ४८ लाख रुपैयाँ विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन कार्यालयको तथ्याङ्‍क अनुसार आगामी आर्थिक वर्षमा ७३ अर्ब ५० करोड रुपैयाँको विकास ऋण पत्रको अवधि पूरा हुँदैछ । जसको सावाँ/व्याज भुक्तानी यस आवमा गर्नुपर्ने छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ट्रेजरी बिलको सावाँ भुक्तानीमा मात्र १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ खर्च हुनेछ । जसले गर्दा आन्तरिक ऋणको भुक्तानीमा सरकारले ठूलो रकम विनियोजन गर्नु परेको सहसचिव शर्माले बताए ।

२२ खर्ब सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा माथि

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा सार्वजनिक ऋण झण्डै २२ खर्ब पुगेको छ । जसमा आन्तरिक ऋणको हिस्सा बाह्य ऋण भन्दा माथि पुगेको छ । जेठसम्म कुल सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहँदा आन्तरिक ऋणको हिस्सा १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ रहेको छ । बाह्य ऋणको हिस्सा १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ रहेको छ । बाह्य ऋणको तुलनामा आन्तरिक ऋणको हिस्सा बढी हुँदा मुलुक ऋण लिएर ऋण कै सावाँ ब्याज भुक्तानी गर्नुपर्ने अवस्थामा पुगेको त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राडा शिवराज अधिकारी बताउँछन् । सरकारले आन्तरिक ऋण बढी लिन थालेसँगै निजी क्षेत्रमा स्रोतको अभाव हुने हुँदा ब्याजदर माथि जानेसहितका समस्या अर्थतन्त्रमा देखिने उनको भनाइ छ ।

वरिष्ठ अर्थशास्त्री डा. डिल्लीराज खनाल आन्तरिक ऋणको हिस्सा बढ्दै जाँदा त्यसले अर्थतन्त्रलाई अस्थिर बनाउने बताउँछन् । ‘आन्तरिक ऋण बढ्दै जाँदा त्यसले ब्याजदर र मुद्रास्फीति वृद्धिमा समेत भूमिका खेल्छ । निजी क्षेत्रको स्रोत खुम्चिन जान्छ, प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुँदैन, ’ उनले भने । यसले अर्थतन्त्रमा तत्कालीन र दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पर्ने र त्यो बहुआयामिक हुने उनले बताए । ‘ऋण लिएर ऋण नै तिर्नुपर्ने अवस्थाले अर्थतन्त्रको स्वास्थ्यमा राम्रो काम गर्दैन,’ उनले भने ।

११ महिनामा प्रतिव्यक्ति ऋण साढे ५ हजारले वृद्धि

चालु आर्थिक वर्षको ११ महिनामा प्रतिव्यक्ति सार्वजनिक ऋणको दायित्व ५ हजार ४८४ रुपैयाँले वृद्धि भएको छ । सार्वजनिक ऋणमा भएको वृद्धिसँगै प्रतिव्यक्ति सार्वजनिक ऋण समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्‍क अनुसार जेठ मसान्तसम्म नेपालको सार्वजनिक ऋण यो नेपालको २०७८ सालको जनगणना अनुसारको जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको दायित्व ७४ हजार ५१६.६६ रुपैयाँ पर्न आउँछ । असार २०७९ को तुलनामा जेठ २०८० (११ महिना)को अवधिमा सार्वजनिक ऋण दायित्व प्रतिव्यक्ति ५ हजार ४८४ रुपैयाँले बढेको हो । असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ थियो । यस अवधिसम्म प्रतिव्यक्ति ऋणको दायित्व ६९ हजार ३२ रुपैयाँ थियो ।

१ खर्ब ५९ अर्ब ९५ करोडले बढ्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा खुद सार्वजनिक ऋण १ खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यस आवको जेठ मसान्तसम्म ३ खर्ब ६ करोड रुपैयाँ सार्वजनिक ऋण सरकारले लिएको छ । यस अवधिमा १ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ सावाँ भुक्तानी भएको छ । सोहीकारण यस अवधिमा बढेको खुद सार्वजनिक ऋण १ खर्ब ५९ अर्ब ९५ करोड रहेको छ ।

जेठसम्म सरकारले आन्तरिक ऋण २ खर्ब २० अर्ब ३८ करोड लिएर १ खर्ब ८ अर्ब ११ करोड सावाँ तिरेको छ । यस अवधिमा ७९ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण लिएर ३१ अर्ब ९९ करोड रुपैयाँ सावाँ तिरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?