+
+

भारतबाट तस्करी, काठमाडौंमै डेलिभरी

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार ६ गते २०:५५
रातमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको ट्रक ।

६ असार, काठमाडौं । असार ३ गते साँझ पौने ८ बजे बीआर ०६ जीई ५०५३ नम्बरको भारतीय नम्बर प्लेटको ट्रक मकवानपुरको रातमाटेमा प्रहरीले नियन्त्रणमा लियो । सिरहाबाट हेटौंडा आउँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा फेला परेका सामान देखेर प्रहरी नै चकित पर्‍यो ।

सो ट्रक भन्सारबाट १६८ बोरा प्याज रहेको भनेर पास भएको थियो । तर, ट्रकभित्र ९० बोरा कपडा लगायतका वस्तु फेला परे ।

मकवानपुर प्रहरीको प्रारम्भिक अनुमानअनुसार बरामद भएका कपडाको मूल्य करिब एक रोड ५५ लाख रुपैयाँ छ ।

ट्रकमा एक करोड २८ लाख ९६ हजार रुपैयाँको पाइन्टका कपडा, तीन लाख रुपैयाँको सुटको कपडा, १६ हजार रुपैयाँको सर्टका कपडा, एक लाख ३ हजार रुपैयाँको कुर्था तथा सेरवानीका कपडा र ५ लाख २५ हजार रुपैयाँको कोरा कपडा फेला पर्‍यो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले बरामद गरेको उक्त ट्रक, चालक र सहचालकलाई प्रहरीले राजस्व अनुसन्धान विभाग पुल्चोकमा बुझाएको छ ।

प्रहरीले मकवानपुरमा ट्रक समातेको भोलिपल्ट ४ असारमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बिराटनगर भन्सारका कर्मचारीलाई राजस्व छली घटाउन र संकलन बढाउन निर्देशन दिइरहेका थिए । अर्थमन्त्रीले यसरी भन्सारका कर्मचारीलाई निर्देशन दिइरहँदा भन्सार छलेका सामान बोकेका ट्रकले तस्करीका सामान काठमाडौंसम्मै ल्याएर डेलिभरी दिइरहेका छन् ।

विगतमा पनि नेपालमा तस्करी भएर सामानहरु भित्रन्थे । तर, गत वर्ष विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले विलासी वस्तु आयातमा प्रतिबन्ध लगाएपछि बजारमा चोरी–तस्करी र भन्सार छली संस्थागत भएको जानकारहरु बताउँछन् ।

यसअघि सीमा नाका आसपासका बजारमा तस्करीका सामानको डेलिभरी हुने गरेकामा अहिले काठमाडौंसम्मै यस्ता सामान आइरहेको रातमाटे घटनाले देखाउँछ । तर, राजस्व चुहावट रोक्ने प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको भूमिका भने शंकास्पद र मौन देखिन्छ ।

काठमाडौं केन्द्रित तस्करी शृंखला

३२ जेठको बिहान साढे ६ बजे कालीमाटी प्रहरी वृत्तको टोलीले काठमाडौंको थानकोबाट कलंकी आउँदै गरेको बा ५ ख ८३८६ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रकबाट चालक सुरेश बल प्रकाउ परे भने ट्रकमा लाखौं मूल्य पर्ने भन्सार छलीका कपडा र काजु भेटिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बरामद गरिएको ट्रकमा २०० किलो काजु, विभिन्न डिजाइन र कलरका टिसर्ट, साडी, लेहेंगा बनाउने कपडा, लेडिज टप, सुतीको कटन कपडा र महिलाको कुर्तासुटका ८ हजार ६०१ थान कपडा बरामद भए । बरामद भएको उक्त सामानसहित प्रहरीले ट्रकलाई विमानस्थल भन्सार कार्यालयमा थप कारबाहीका लागि पठायो ।

२ असारमा प्रहरीले काठमाडौंको वनस्थलीमा सर्लाहीबाट काठमाडौं आएर सडकमा रोकिराखेको ना ५ ख २७७० नम्बरको बस नियन्त्रणमा लियो । बालाजु प्रहरी बृत्तले नियन्त्रणमा लिएको बसबाट भन्सार छलीका लाखौंका सामान बरामद गर्‍यो ।

पापड, चकलेट, रेडबुल, सुर्ती, मोटरसाइकलको चेन स्पकेट, रातो थान कपडा, पर्दालगायतका ४८ लाख ३० हजार रुपैयाँ बराबरको माल वस्तु बरामद भयो । पछिल्लो एक सातामा तराईका भन्सार नाका छलेर तथा नाका भएर काठमाडौं आउँदै गरेका थुप्रै अवैध माल वस्तुसहितका गाडीहरु प्रहरीले बरामद गरेको छ ।

२१ चैतमा धादिङ प्रहरीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख १६२८ नम्बरको ट्रक नियन्त्रणमा लियो । वीरगञ्जबाट गहुँ भनेर भन्सार पास भएको उक्त ट्रक धादिङ प्रहरीले नियन्त्रणमा लिंदा मोटर पार्ट्स, पापड, मोबिललगायतका करिब ५० लाख रुपैयाँ बराबरको वस्तुले भरिएको थियो ।

जेठ तेस्रो साता पाल्पा प्रहरीले नवलपरासीबाट आएको लु १ ख ३८१ नम्बरको ट्रक नियन्त्रणमा लियो । अत्तालिएर चालकले प्रहरीलाई ट्रकमा चामल रहेको बिल बिजक देखाएका थिए । तर, प्रहरीले ट्रक खानतलासी गर्दा यूरिया मल भएको पत्ता लाग्यो ।

भारत सरकारले आफ्नो किसानलाई अनुदानमा वितरण गर्ने गरेको २७२ बोरा मल ट्रकमा भेटिएको थियो ।

भन्सार र राजस्व कार्यालयबाटै छुट्छन् तस्करीका गाडी

४ असार २०७९ मा धादिङको नौबिसेमा किसानले २ ट्रक मल लुटे । तर, ती ट्रक वीरगन्ज भन्सारबाट गहुँको प्रज्ञापनपत्रमा बनाएर पास भएका थिए र रासायनिक मलले भरिएका थिए । २१ चैतमा धादिङ प्रहरीले विरगन्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख १६२८ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लियो ।

वीरगञ्जबाट गहुँ भनेर भन्सार पास भएको उक्त ट्रक धादिङ प्रहरीले नियन्त्रणमा लिंदा मोटरपार्टस्, पापड, मोबिल, लगायतका करिब ५० लाख रुपैयाँ बराबरको वस्तुले भरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ असारमा नियन्त्रणमा लिएको भारतीय ट्रक सिरहाको ठाडी नाकाबाट भित्रिएको थियो । प्याजको प्रज्ञापन पत्र रहेको उक्त ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया र राजमार्ग क्षेत्रका प्रहरी कार्यालयहरु छिचोल्दै मकवानपुर आइपुगेको थियो ।

भन्सार नाकामा कृषि उपज भनेर आयात भएका वस्तुमा कुनै जाँच र परीक्षण नहुँदा आफ्नो कार्यक्षेत्रसम्म आइपुगेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक अधिकृतले बताए । ती अधिकारीका अनुसार जेठ महिनामा मात्रै यस्ता भन्सार छलीका सामान बोकेका तीन वटा ठूला ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व कार्यालयमा पठाएको छ ।

भन्सार कर्मचारीबाटै बदमासी

राजस्व छलीमा पछिल्लो तीनदेखि चार महिनायता भन्सारबाट धेरै बदमासी हुने गरेको पाइएको छ । भन्सार जाँचपासमा बदमासी गरेको आरोपमा वीरगञ्ज सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह चोभार र त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ५४ जना कर्मचारीमाथि अहिले अनुसन्धान भइरहेको छ ।

भन्सार विभाग र राजस्व अनुसान्धान विभागले गरेको अध्ययनमा त्रिवि विमानस्थल भन्सारका ४२ जना, चोभार सुख्खा बन्दरगाहका ३ र वीरगञ्ज सुख्खा बन्दरगाहका ११ कर्मचारी माथि लापरबाहीपूर्वक भन्सार जाँच पासको अनुसन्धान भइरहेको छ ।

विभिन्न समयमा भन्सार जाँच पास भएका माल वस्तु पुनः जाँचका क्रममा राज्यलाई ठूलो नोक्सानी हुनेगरी कर्मचारीले काम गरेको पाइएको स्रोतले बतायो । ‘विस्तारै सबै कुरा खुल्दै जाला’, स्रोतले भन्यो,‘ राजस्व चुहावटमा कर्मचारीको भूमिका खुल्दैछ ।’

राजस्वको दाबी : यी घटना अपवाद हुन्

राजस्व चुहावटको शक्तिशाली केन्द्रीय निकाय राजस्व अनुन्धान विभाग भने तस्करीको केही घटनाहरु अपवाद भएको दाबी गर्छ । प्रधानमन्त्री कार्यालयमातहतको विभागसँग केन्द्रसहित प्रमुख नाका क्षेत्रका चार कार्यालयहरुले राजस्व अनुसन्धानका लागि काम गर्छन् ।

तर, तिनै कार्यालयको बाटो भएर छुटेका सवारी साधनहरु भन्सार छलीको मालवस्तुसहित काठमाडौंमा समातिइरहेका छन् । यस्तो छिटफुट घटना अपवाद रहेको र त्यो नियन्त्रणको प्रयासका बाबजुद पनि छुटेको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाको दाबी छ ।

‘व्याकरणमा पनि अपवाद हुन्छ’, महानिर्देशक सापकोटाले भने, ‘नियन्त्रणका प्रयासका बाबजुद केही घटना देखिएका छन् । त्यसलाई हामी गम्भीर भएर अनुसन्धान गर्दैछौं ।’ विभागले पछिल्लोपटक ११ फागुनमा राजस्व छलीको एउटा मात्रै मुद्धा उच्च अदालतमा बुझाएको थियो । त्यसयता खासै देखिने गरी नतिजा ननिकालेको विभागले २० करोड रुपैयाँभन्दा धेरै रकम राजस्व चुहावटबापत संकलन गरेर सरकारी खातामा जम्मा गरेको महानिर्देशक सापकोटाले दाबी गरे ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?