+
+

निकोलस पुरनलाई दिएको दुई जीवनदानको मूल्य चुकाउँदै नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १५:४४

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध आक्रामक सुरुवात गरेको नेपालको प्रदर्शन सुस्ताएको छ ।

आक्रामक बलिङ र चुस्त फिल्डिङसहयोगमा १५.३ ओभरभित्रै नेपालले वेष्ट इण्डिजको शीर्ष क्रमका तीन ब्याटरलाई पेविलियन फर्काइसकेको थियो ।

मुख्य गरी वेष्ट इण्डिजका मध्यक्रमका विष्फोटक ब्याटर निकोलस पुरनले दुईपल्ट जीवनदान पाएपछि नेपाली बलरहरुमात्र होइन फिल्डरसमेत दवावमा देखिन थालेका थिए । पुरन र कप्तान साइ होप दुवैले शतक पूरा गर्दा नेपाल टिम ‘ड्रप क्याच’को मूल्य चुकाइरहेको छ । १५.३ ओभरमा ब्रेण्डन किंग आउट भएपछि क्रिजमा आएका निकोलस पुरन लगत्तै अर्को ओभरमा आउट हुनबाट मुस्किलले जोगिएका थिए ।

त्यसतिबेला उनी ३ रन बनाएर खेलिरहेका थिए । १६.६ ओभरमा ललित राजवंशीको बल आउटसाइड एज लागेर विकेटकिपर आसिफ शेखको हातमा पुगेको थियो तर, आसिफले त्यो बल समाउन सकेनन् । क्याच मिस भयो । त्यसपछि लगातार ओभरमा सन्दीप लामिछाने र ललितकै बलमा छक्का प्रहार गरी पुरनले आफूलाई स्थापित गराएका थिए ।

३१.१ ओभरमा करण केसीको बलमा रन रन लिँदै उनै पुरनले कप्तान साई होपसँग मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी पूरा गरे । ३२.३ ओभरमा कुशल मल्लको बलमा १ रन लिएर एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको १२औं अर्धशतक पूरा गरे । ५४ रन बनाउँदा पुरनले अर्को जीवनदान पाए । यसपल्ट पनि आसिफ शेखकै कमजोरी देखियो ।

३४.४ ओभरमा करण केसीको बल इनसाइड एज लागेको बल आसिफको हातमै पुगेको थियो । यसपल्ट पनि उनी बल समाउन असफल रहे । लगत्तै त्यसपछिका दुई बलमा पुरनले छक्का र चौका प्रहार गरिदिए । ३६.३ ओभरमा सन्दीप लामिछानेलाई चौका प्रहार गरी पुरनले कप्तान होपसँग १५० रनको साझेदारी पार गरे ।

३९.३ ओभरमा गुल्सन झाको बलमा दुई रन लिँदै कप्तान होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक पूरा गरेको तीन बलपछि पुरनले पनि शतक बनाए । उनको पनि एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक हो ।

सुरुवाती ३० ओभरमा १५० रन बनाएको वेष्ट इण्डिजले त्यसपछिको १० ओभरमा ९१ रन थपेको छ । ४० ओभरको खेल सकिँदा वेष्ट इण्डिजले ३ विकेटको क्षतिमा २४१ रन बनाएको छ । क्रिजका दुवै ब्याटरले शतक पूरा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?