+
+

नेपालमा हालसम्मकै धेरै परिमाणमा एलएसडी ड्रग बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १३:०२

८ असार, काठमाडौं । नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो । उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको जोशीले बताए । सन् १९६०/७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ ।

तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।

ब्यूरोका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरीका अनुसार ब्यूरोले समातेको एलएसडीको यो परिमाण हालसम्मकै सबैभन्दा ठूलो हो । ‘यत्रो परिमाणमा एलएसडी नेपालमा देखिएको थिएन, यसको प्रयोगकर्ता पनि नेपाली नै हुन् भने यो झनै गम्भीर विषय हो’, उनले अनलाइनखबरसँग भने ।

ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ । ‘यसको मुख्य व्यक्ति इटालियन नागरिक डेबिड नै हुन्’, जोशी थप्छन्, ‘थप नेक्ससबारे खोजी गरिरहेका छौं ।’

के हो एलएसडी ?

ब्यूरोले एलएसडी कारोबारमा संलग्न पाँचै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका नार्कोटिक्स शाखाका डीएसपी पवन ढुंगानाका अनुसार एलएसडी केमिकलमा आधारित हेलोजेनिक (भ्रमित पार्ने) हार्ड ड्रग हो । ‘प्रयोगकर्तामा यसको गम्भीर असर पर्छ’, उनी भन्छन् ।

एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । ‘झट्ट हेर्दा हुलाकको टिकट जस्तो देखिन्छ, यसको प्रयोगबाट मानिस एकदम भ्रममा जान्छ, अनेकथोक कल्पना गर्छ’, ब्यूरोका पूर्वनिर्देशक ठकुरी पनि भन्छन्, ‘यो ड्रग प्रयोग गर्ने धेरैमा सुसाइडको ट्रेन्ड पनि देखिन्छ । झुण्डिने, माथिबाट हाम फाल्ने जस्ता घटना यसको प्रयोगकर्ताले गरेको देखिएका छन् ।’

नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?