+
+

एउटा मास्टरप्लान पर्खिरहेछ रारा

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८० असार ९ गते २०:१७

‘रारा समिट’को दोस्रो दिन थियो त्यो । जेठ महिनाको ३२ गते २०८० साल, दिउँसो । अघिल्लो दिन उद्घाटनकै बेला मुगुका ‘हेभी वेट’को भाषण सकिइसकेको थियो । पर्यटनको सम्भावना, चुनौती, अवसर, नेता, नेतृत्व, स्थानीय सरकार, प्रदेश र संघ, गुनासो, गाली, आक्रोश, माया, स्वीकार, प्रतिकार वा भावी योजनाबारे जति बहस हुनुथियो, हुन सक्थ्यो, भइसकेको थियो तर छेउछेउमा बसेर कतिपय भन्दै थिए, मन्त्री आएर भाषण गरे, केही भएन । प्रधानमन्त्री आएर भाषण गरे, केही भएन । राजाले यहीं बसेर गीतकविता लेखे केही भएन । मन्त्रिपरिषदको बैठक यहीं बस्यो, केही भएन । राज्यस्तरबाटै सम्मेलनहरू भए, केही भएनन् । तिम्रा यी बहसले के होलान् र ?

यो सचेतना र आलोचनात्मक टिप्पणीले म निकै आकर्षित भएँ । यसरी जनस्तरबाट खबरदारीको स्वर निरन्तर उठ्नैपर्छ । प्रश्नहरू सदा जीवित रहन्छन् । प्रश्न उठ्नुपर्छ, उठाइरहनुपर्छ ।

तर म मौन, म चुपचाप । चिसो सिरेटोले कान चिमोट्नुअघि नै मनमोहक दृश्यले दिल हरण गरिसकेको थियो मेरो । आँखाभरि भइसकेको थियो पूर्ण अक्सिजनको शीतल वायु । मन पुष्पित, पल्लवित र पुलकित भइसकेको थियो । एकोहोरो एकोहोरो थिएँ आफैं पनि, सासै फेर्न बिर्सें कि जस्तो, ध्यान बस्दा भर्खर ध्यान लागेजस्तो ।

आकाश त्यति खुलेको थिएन तर घुर्मैलो पछ्यौरी ओढेजस्तो परिवेश चिरेर घामका सुनौला किरण बिस्तारै बिस्तारै छरिएका थिए भुइँभरि, तालभरि । पानीको छालले दिएको सुमधुर स्वरनाद र कमलो गुन्गुन पाश्र्वमा थियो । मधुर स्वर आफैं नाद, आफैं गुन्गुन, आफैं समवेत र आफैं आफूभित्र हराएझैं एकान्तपनको परिसूचक ! यो संयोजन हो कि आकस्मिकता ? प्रकृतिको निर्माणमा प्रकृति आफैं पनि चकित हुँदो हो कहिलेकाहीं ! कुन कालिगढ होला त्यो जसले बनाएको मूर्ति यस्तो चलायमान छ, यस्तो जीवन्त छ, गतिशील छ र प्राण सुरक्षित गरेर बसेको छ प्राणीहरूको प्राणमा ।

समिटको दोस्रो दिन

कल्पना गरेभन्दा छिट्टै पुग्यौं तर त्यो छिटो एक दिन ढिलो भइसकेपछिको छिटो थियो । जेठ ३१ गते उद्घाटन समारोह भइरहँदा म नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा दाङमा थिएँ । त्यसै दिन नेपालगञ्ज नपुगेको भए दोस्रो दिन पनि मैले राराको समिट भेट्ने थिइनँ । सबैतिर असल चीज छ तर ‘योजकस्तत्र दुर्लभ’ (संयोजन गरिदिने मान्छे मात्र दुर्लभ हो) भने झैं साहित्यकार ओम रिजालले योजकको काम गरिदिए । दैलेखको हटारु भनेर समेत चिनिने रिजालले दाङमा भेटाइदिए पवित्रा खड्कासँग । उनी निकै सहयोगी र असल मनकी रहिछिन् । उनै पवित्राजी र अर्का शालीन भाइ विमल शर्माको सहयोगमा नेपालगञ्ज पुग्न सजिलो भयो ।

साँझको गर्मी निकै अत्तालिंदो थियो नेपालगञ्जमा । फलामले फलाम काट्छ भने झैं अबेर रातिसम्म सडकमै निस्केर नेपालगञ्ज नियालिरहें । गजलकार भावना पाठक, उपन्यासकार अञ्जु न्यौपाने, मोहन माझी, मीना थापाहरूले रातिसम्म साहित्यकै कुरा गरिरहे । त्यो साथमाथि झनै मीठो साथ नेपालगञ्जको पानले पनि दिएको थियो ।

बिहान ब्युँझिंदा यात्रामा हामी तीन थियौं । सुरेशचन्द्र रिजाल, सुनिलकुमार उलक र म । रिजाल प्रसिद्ध वास्तुविद् तथा ज्योतिषशास्त्री । उनी दक्षिण एशियाली ज्योतिष महासंघका महासचिव पनि हुन् र अध्यात्मका गहिरो अध्येता । उलकजी पुराना तस्वीरहरुका संग्रहकर्ता र इतिहासका राम्रो जानकार । नेपालगञ्जबाटै साथ दिंदै र सहजीकरण गर्दै हामीसँगै जोडिए मुगुका एक जना युवा नेता देवेन्द्र रावल । पहिलो भेटमै उनमा देखिएको त्यो शालीनता प्रशंसायोग्य थियो । उनको सम्पर्क पनि निकै राम्रो रहेछ । अब हामी चार भयौं ।

३२ गते बिहान उड्नैको हतारो तर समिट एयरलाइन्सका सबै हार्दिक लागे । उड्यौं । ताल्चा विमानस्थलबाट गाडीमा गयौं लिमीचौरसम्म । केहीबेर हिंड्यौं र पुग्यौं कवि मवीवि शाहले रारा कि अप्सरा लेखेको छेउ । त्यहाँबाट करिब एक घण्टा डुंगा यात्रापछि पुग्यौं कार्यक्रमस्थल राराको पल्लो डिल ।

आयोजक अन्तराल र यसका निर्देशक जयनारायण शाहले कार्यक्रमको एक अतिथिका रूपमा होइन, परिवारकै सदस्य आए झैं स्वागत गरे । उही र उस्तै हँसिलो मुहारमा प्रेमको अनुराग छरेर उनी पोखिए उही राराको छाल झैं । कहिल्यै नथाक्ने र केही न केही गरिरहने त्यो तन्नेरी ऊर्जा । उनी लेखक पनि र पत्रकार पनि ।

प्रसिद्ध धावक वैकुण्ठ मानन्धरको डकुमेन्ट्री बनाउने, अम्बर गुरुङलाई नेपालगञ्ज लगेर अभिनन्दन गर्ने र अशक्त अवस्थाका प्रेमप्रकाश मल्ललाई अगाडि राखेर विभिन्न कलाकारको प्रस्तुतिमा उनको एकल साँझ आयोजना गरेर त्यो बृद्धहृदयमा तृप्ति बर्साउने यिनै शाह हुन् । वाणी मल्लले भनेको अहिले पनि सम्झन्छु, ‘त्यो कार्यक्रमले बाबाको केही आयु बढायो जस्तो लाग्छ ।’ खेल प्रवर्द्धनमा विशेष रुचि र ‘इभेन्ट मेनेजमेन्ट’मा माहिर शाह किन पुगे होलान् त रारामा समिट गर्न रु केही गर्छु भन्नेहरूले नगर्ने के रै’छ र दुनियाँमा रु स्थानीय पालिकासमेतको सहकार्यमा अन्तरालले आयोजना गरेको थियो दुई दिने ‘रारा समिट’ । यो दोस्रो दिन थियो ।

चिसो भएको रहेछ आफ्नै शरीर । बल्ल थाहा पाएँ । शरीर र मन अलग कुरा हुन् । मन र मस्तिष्क पनि अलग कुरा हुन् । मस्तिष्क र चेतना पनि अलग कुरा हुन् तर खै केले केले शरीर, मन, मस्तिष्क र चेतना सबैलाई छोयो एक्कै पटक । कोट फुकालेर झोलामा हालें, बाक्लो जाकेटले शरीर छोपें र टोपीले न्यानो पारें टाउको । हुस्सु हुरुरु निस्केजस्तो र सिमसिम पानी परेजस्तो भयो । त्यही हुस्सु र पानीको मधुर स्पर्श चिरेर घामको पातलो किरण पनि दौडिरहेको छ । मञ्चमा बहस चलिरहेको थियो । दर्शकदीर्घाका सबै जना आनन्दले सुन्दैथिए बहसका बुँदा । बुझेर चुपचाप सुनिरहेछन् कि रु सुन्नैका लागि सुनिरहेछन् रु वा सुनिदिउँन त भनेर सुनिरहेछन् कि सुन्नै पर्ने भएर सुनिरहेछन् रु म भन्न सक्तिनँ तर बिनाहलचल छ दर्शकदीर्घा ।

गतिविधि : औपचारिक, अनौपचारिक

रारा समिटको दोस्रो दिनका कार्यक्रमहरू सञ्चालन भइरहेका थिए । हामी बीचैमा पुगेपछि बिथोलिए बिथोलिएजस्तो कार्यक्रमले फेरि लय लियो । औपचारिक सेसनबाहेक पनि म्याराथनकी अन्तर्राष्ट्रिय स्टार मीरा राईले विद्यार्थीहरूलाई गहिरो उत्प्रेरणा दिइसकेकी थिइन् । दुई दिन अघिदेखि नै र उनी चामत्कारिक मीरा भइरहेकी थिइन् युवा विद्यार्थीहरूबीच । प्रशिक्षक काव्य लम्सालले आर्ट अफ लिभिङका सूत्र सिकाइसकेका थिए बिहानै । उनले योग र ध्यानको एकाग्रतालाई एकीकृत पारिसकेका थिए बिहानै योग शिविर चलाएर । ध्यानको कला सिकाएर सबैलाई ध्यानस्थ पारिसकेका थिए ।

मेरो छेउ आएर स्थानीय एक नेता वृखबहादुर रोकायले भने, तपाईं त पहिले पहिले पनि आउनुभएको थियो नि, होइन रु हाम्रो अन्तर्वार्ता गर्नु भएको थियो । हुन त उनले प्रेमले भनेका हुन् । परिचय खुलाएका हुन् तर मलाई भने यस्ता समिटले के नै गर्न सक्छ र भनेको पो हो कि जस्तो पनि लाग्यो । तुरुन्तै सम्झें, यति मायाले स्वागत गरेर एउटा पाको मान्छेले सम्बोधन गरेको कुरालाई पनि यसरी सोच्नुहुन्छ ? आफूले आफैंलाई सम्झाएँ ।

हरियो भुईं । पार्श्वमा राराको अद्भूत दृश्य । पानीमाथि पानीको राशी । नृत्यमग्न पानी । पानीको तरेली । तरेलीमाथि झन् तरेली । पानीमाथि फरक–फरक रङ । रङहरूमाथि इन्द्रेणीको लहरजस्तो । पारिपारि हरिया वन र त्यही वनमा एकान्तले बात मारेजस्तो र एउटा अर्कै कुन ग्रहमा पुगेर फुत्त आफैं खसेजस्तो । पूर्ण शान्त, सम्पूर्ण स्निग्ध । यस्तै होला ऋषिहरूको तपस्यास्थल । यस्तै होला वेदका ऋचा देखिने ठाउँ । वेद देखेको मानिन्छ, लेखेको मानिन्न । यस्तै यस्तै कतैबाट टिपेका त होलान् ऋषिहरूले वेद । कस्तो अकल्पनीय, कस्तो अवर्णनीय ।

राराको सौन्दर्य, फिल्म र पर्यटन

रारा ताल, मुगु

त्यहाँ कुनै विशाल मञ्च थिएन र पनि ठाउँ आफैं थियो एउटा भव्य मञ्चजस्तो, एउटा स्टुडियोजस्तो । सामान्य कुर्सी राखेर त्यही चौरमा बहस जारी थियो र सहभागीहरू खुलेर बोलिरहेका थिए । चलचित्र, चलचित्र पर्यटन, छायांकन र चलचित्रमा स्थानीय रङको प्रयोग, उपयोग र सदुपयोगको बहस थियो त्यो । चलचित्र निर्माता चक्रबहादुर चन्द,  पत्रकारसमेत रहेकी डकुमेन्ट्री निर्देशक देवकी विष्ट र स्थानीय गायिका स्वस्तिका शाहीसँग समीरमान श्रेष्ठले सम्वाद गरिरहेका थिए ।

समीरको सहज सोधाइमा बागमती सफाइ अभियानमा सुरुदेखि नै सक्रिय चन्दले राराको सुन्दरताको सुरक्षामा चासो राखिरहेका थिए । उनले निर्माण गरेको प्रेमगीत ३ हिन्दीमा समेत अनुवाद भएको छ । भारतीय चलचित्र छायांकनका लागि नेपाल राम्रो ठाउँ हुने र यसले पर्यटनलाई टेवा पुग्ने उनको तर्क थियो । देवकी नेपाली चलचित्रले उठाउनुपर्ने स्थानीय कथा र तिनका सान्दर्भिकतामाथि बहस गरिरहेकी थिइन् भने स्वस्तिकाले मुगुबाट उठेर राष्ट्रिय पहिचान बनाउन मुगुवासीले खेप्नुपर्ने दुःख सम्झिरहेकी थिइन् र प्रतिभालाई ठाउँ दिन आग्रह गरिरहेकी थिइन् ।

पुरानै गुनासो नयाँ स्वर

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज बनेपछि २०३५ मा रारा र छाप्रु गाउँको बस्ती सारियो बाँकेमा । राराको चिसोबाट एकै पटक त्यो औलमा झरेपछि कस्तो भयो होला तिनको जीवन ? तर तिनले सोचे( रारा साँच्चै रारा हुन्छ भने छाडौं, न त बस्ती तर आज उनीहरूकै शब्दमा ‘रारामा केही भएन । राराको माछा कुर्न आर्मी राखेजस्तो मात्रै भयो । निकुञ्जमा कुनै जनावर छैन र चराको चिर्बिरसम्म सुन्न पाइन्न ।

निकुञ्जका कारण बाटो नपाएर जनता घुमेर हिंड्नुपर्छ । आवतजावतमा अप्ठ्यारो छ र जीवन झन् कष्टमय छ । ठूलो समस्या खत्याडका नागरिकलाई छ । सदरमुकामसम्म पुग्न दिनभरि लाग्छ । निकुञ्जले बाटो दिंदैन । जुम्ला भएर आउँदाको कथा झन् कहालीलाग्दो छ । स्थानीय नेताको स्वर केन्द्रमा बिक्दैन र केन्द्रीय नेताहरू मतलब गर्दैनन् । राराका नाममा प्रोजेक्टहरू बन्छन् तर तिनमा पारदर्शिता छैन ।’ यो कुनै एक जनाको भनाइ होइन, समूहमा धेरैले भनेका, अधिकांशको भनाइ ।

यसरी बसाइँ सर्दा एक जना स्थानीय पर्यटन व्यवसायी अनुपविक्रम शाह करिब तीन वर्षका थिए । उनका तीन हजुरबाहरूमध्ये उनी कान्छाका नाति हुन् । त्यतिखेर राजनीतिको केन्द्र जुम्ला थियो । उनका हजुरबा रत्नबहादुर शाह जुम्ला बसेर राजनीति गर्थे र जेठा र माइला मुगुको रारा र खत्याडमा । उनको जन्म जुम्लामा भएको भए पनि उनी राराको संवेदनाभन्दा टाढा थिएनन् । उनको बुवा नीरविक्रम शाह मुगुबाटै माननीय भए भने उनकै परिवारका राजबहादुर शाह मन्त्री ।

२०३५ सालमा गाउँ स्थानान्तरण हुँदा यो परिवार भने बर्दिया पुग्यो । त्यहाँको बसाइ अत्यन्त एकान्त, बस्तीभन्दा विकट र सडकबाट टाढा भएको हुँदा विद्रोहै गरेर बाँके पुगे । बाँके वा काठमाडौं बसेर केही गर्नुभन्दा यो पुर्ख्यौली भूमिमै केही गरौं भन्ने हुटहुटी जाग्यो, राराको संवेदनाले तान्यो र वयस्क अनुप फेरि फर्केर रारा पुगे । त्यहाँ पर्यटन व्यवसाय सुरु गरे तर उनलाई बाको पालामा त्यसरी बस्ती छोड्नुपरेको पीडाले अहिले पनि छुन्छ ।

प्रयोजन जे भनिएको भएपनि बस्ती स्थानान्तरणले केही नभएको र त्यो निर्णय हचुवा र बेकारको लहड त थिएन भन्ने परेको छ उनलाई । उनी पुरानो संवेदना जोगाएर रारालाई नयाँ गन्तव्य दिन चाहन्छन् । पत्रकार निरन्जन अधिकारीसँगको बहसमा समेत उनी निकै भावुक देखिन्थे । एउटा सेसन यही विषयमा केन्द्रित थियो । रारावासीलाई रराल भन्ने गरिन्छ । गजेन्द्र शाह ररालकै पहिलो एमए हुन् भने प्रसिद्ध मानवशास्त्री डा। सौभाग्य शाह विद्यावारिधि गर्ने पहिलो रराल । अनुपलाई लाग्छ त्यसरी बसाइँ सर्न नपरेको भए उनको परिवार सायद राजनीतिमै हुन्थ्यो आज पनि । बाँके बर्दिया पुगेपछि त्यो क्रम छिन्नभिन्न भयो ।

छाप्रु र रारा गाउँको बस्ती सरे पनि उनले पुज्ने गरेका मष्टो सरेनन् भन्ने भनाइ छ । उनीहरू बाँके सरेपछि बाँकेमै गर्न थाले मष्टोको पूजा तर बेलाबेला गाह्रोसाह्रो पर्दा धामीले रारा नै पुग्ने सल्लाह दिन्छन् र उनीहरू फेरि पूजासामान बोकेर रारा पुग्छन् पूजा गर्न । यो पनि एउटा मनोवैज्ञानिक जटिलता हो । कति दृष्य, कति अदृष्य तर दुःखका पनि किसिम हुने रहेछन् । श्रीमद्भागवत् महापुराणले त्यसै भनेको छैन, दुःखका तीन किसिम : आदिदैविक, आदिभौतिक र आध्यात्मिक ।

रारा संरक्षण र विकासको हुटहुटी एक पक्षीय छैन । जनताले नेताले केही गरेनन् भने पनि नेताहरू अलमलिएका मात्र हुन्, सबै दलका नेताहरूमा पनि केही गरौं भन्ने भाव हुँदैन भएको चाहिं होइन । समिटमा सहभागी हुन पुगेका संघीय सांसद ऐनबहादुर शाहीलाई पनि यसले बेचैन पारेको देखिन्छ । ‘जाऊँ जाऊँ लाग्ने र बसूँ बसूँ लाग्ने रारा कसरी बनाउने भन्ने चिन्ता छ,’ उनले भने । चिन्ता मात्रैले केही हुन्न, योजना के छ त रु उनी प्रष्ट देखिए, पहिलो बाटो, दोस्रो नियमित हवाई उडान, तेस्रो पर्यटकलाई वासको उचित प्रबन्ध र चौथो यी सबैको जग रारा, हिमाली पर्यावरण र जैविक विविधता हो, त्यसको संरक्षण ।

शाहीले पनि उठाए बाटोको समस्या । बस्ती उठाउनुको सार्थकता नदेखिएको उनको पनि निष्कर्ष छ । खत्याडबासीको बाटोको समस्या, पूर्वाधारको अभाव र राज्यको ध्यान तान्न नसकिएको प्रति उनी पनि चिन्तित देखिए । मुगुमा एक नगरपालिका र तीन गाउँपालिका छन् । रारा ताल भएको ठाउँ छायानाथ रारा नगरपालिका हो ।

रमाइलो त के छ भने रारा राष्ट्रिय निकुञ्जका वार्डेन विष्णुबाबु श्रेष्ठ पनि जनताका गुनासाप्रति त्यति धेरै असहमति राख्दैनन् । केही पनि छैन, भएन भन्नेमा चाहिं असहमति छ तर सोचेजस्तो गर्न बाँकी रहेको उनको पनि ठम्याइ छ । सरोकारवालाहरूसँग समन्वय गरेरै काम गरिएको, प्राकृतिक स्रोत साधनको संरक्षण भएको उनको तर्क छ । जनताले निकुञ्जमा स्याल पनि छैन भनेको उनी स्वीकार्दैनन् । कस्तुरी मृग, हिमाली कालो भालु, रेड पान्डा, जंगली बँदेल, स्याल र निकै संख्यामा चराचुरुंगी पाइने उनको दाबी छ ।

बाँके, बर्दियामा निकुञ्ज बीचबाट बाटो छ तर खत्याडका जनतालाई निकुञ्जको बीचबाट बाटो दिइएन भन्ने गुनासोमा पनि वार्डेनका दुई तर्क छन् । एक, संरक्षण ऐनले गरेको व्यवस्था र दुई, प्रत्येक निकुञ्जको आफ्नै मौलिक स्वरूप । उनले थपे, यहाँ बाटो सजिलो बनाउने हो भने रारा पनि पोखराको फेवाजस्तै हुनेछ कुनै दिन । लाग्छ, रारालाई फेवा बनाउन त जनता पनि नचाहलान् ।

कसरी बनाउने रारा संरक्षणको योजना ?

पहिलो पटक २०६८ सालमा मुगु पुगेको थिएँ । द्वन्द्वका सरोकारवाला सबैलाई सँगै राखेर गमगढीमा बहस गरेका थियौं । त्यसबेला गमगढीबाटै ठाडो उकालो हिंडेरै रारा पुग्यौं । दोस्रो पटक २०७४ मा राराको शिखरजस्तो लाग्ने मुर्माटपसम्म, तेस्रो पटक २०७६ मा सिञ्जा पुगेको बेला सञ्चारकर्मीहरूको टोलीसँगै र चौथो पटक रारा समिट २०८० मा ।

हरेक पटक नयाँ कुराको अनुभव हुन्छ । राराको सौन्दर्य उही भए पनि र उस्तै भए पनि पर्यावरणीय हिसाबले केही फरक बोध हुन्छ । जाडोको मात्रा घटे झैं लाग्छ, तापक्रम बढे झैं लाग्छ । संसारभरि बढ्दै गएको तातोपनको प्रभाव यहाँसम्म आइपुगेको छ । यही क्रम रहे राराको पानीको चिसोपन हराउन सक्छ । पारि डाँडातिर हिउँ कम हुन थालेको छ । हिउँ र हिमाल भन्नु पानीको स्रोत हो । पानी जीवनको आधार । यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ।

भौतिक पूर्वाधारका हिसाबले भने निकै परिवर्तन देखिन्छ मुगुमा । ताल्चाको डरलाग्दो धावनमार्ग सुधारिएको छ । लिमीसम्मको बाटोको स्तरोन्नति भएको छ । सदरमुकाममा नयाँ होटलहरू थपिएका छन् भने सदरमुकाम जाने बाटोमा समेत सुधार आएको छ । सबैभन्दा राम्रो त रारामा एउटै मात्र होटल थियो । अहिले तालबाट करिब एक किलोमिटर दूरीको उचाइमा नयाँ होटल बनेको छ, जहाँबाट सम्पूर्ण रारा र सूर्योदय देख्न सकिन्छ । राराप्रति साराको अभिरूचि बढेको पाइन्छ भने नेतृत्व पनि धेरै हदसम्म चिन्तित भएका देखिन्छन् तर यो चिन्ता र बहस रारामा मात्र सीमित गरिनुहुन्न । यसलाई राष्ट्रिय बहसमा लैजानुपर्छ ।

रारा जानका लागि गाडी कहाँसम्म रु साइकल कहाँसम्म रु कहाँसम्म घोडा र कति पैदल रु बासको व्यवस्था के कस्तो बनाउने र तालको कति दूरीमा राख्ने रु नजिकै होटल हुँदा त्यसको प्रदूषण र संरक्षणकै लागि राखिएका भए पनि त्यहाँ राखिएका चार सय हाराहारी सैनिकको दैनिकीको प्रभाव रारामा कसरी पर्छ, पर्दैन रु केही समयअघि सफाइका लागि प्रयोग गरिएको फिनेलका कारण माछा मरे भनिएको थियो । जनघनत्व बढी हुँदा तिनका दैनिकीको फोहोर व्यवस्थापन कसरी हुने ?

ताल वरिपरि गाई र घोडाका लस्कर देखिन्थे र तिनबाट आउने, हुने दिसा आदि सबै प्रकारका फोहोर पनि त्यत्तिकै छ । बर्खामा ती सबै बगेर तालमा पुग्छन् । त्यसले के असर गर्ला जलजन्तुलाई ?

यी त तत्कालका समस्या हुन् । यीभन्दा बढी त २०३५ सालमै सयौं वर्षदेखिको थातथलो छोड्न विवश ती नागरिकका सन्तानले सोधेका हरेक प्रश्नको उत्तर राज्यसँग हुनुपर्छ, राज्यले दिनुपर्छ । कति छन् वन्यजन्तु रु र के के छन् त्यहाँ रु किन सुनिन्न चराका सुमधुर स्वर रु कत्तिको घना हुँदै गएको छ जंगल रु गाडी नचल्ला नचलाउलान् तर जनताले मागे अनुरूप छोटो पैदल यात्राको कुनै सम्भावना छ, छैन रु यसमा अपनाउनुपर्ने सुरक्षा रणनीति के हुन सक्छ रु के कस्तो छ निकुञ्ज, सेना, जनप्रतिनिधि र नेतृत्वबीचको समन्वय रु वास्तवमा रारा एउटा मास्टर प्लान पर्खिरहेछ ।

जब आफैं पुगें प्रश्नको कठघरामा …

दोस्रो दिनको पनि अन्तिम सेसन बाँकी थियो । सिमसिम पानीको संकेत थियो भने घाम हराउँदै गएपछि भिडियो खिच्न अप्ठ्यारो हुने पीरमा थिए क्यामारा प्राविधिकहरू । सुरेशचन्द्र रिजाल र काव्य लम्सालसँग आफैंले सहजीकरण गरिरहेको सेसन छोट्याउने इशारा पाएँ । दुवै वक्ता अध्यात्म, योग र साधनाका उच्च प्रतिभा । रिजालजी वास्तुविद् पनि र लम्सालजी आर्ट अफ लिबिङका प्रशिक्षक ।

यो सेसन सकिनेबित्तिकै चिसोको वास्तै नगरी चिटिक्क कोटमा मञ्चमा आए जयनारायण शाह आफैं । यहाँ समिटको नेतृत्व गरे पनि उनी पुराना पत्रकार हुन् । उनले उद्घोष गरे यो सेसन नवराज दाइसँग एक्लै हुनेछ ।

पानीको सिमसिम पनि सेसनसँगै सुरु भयो । पानी पो सिमसिम उनले त प्रश्नको वर्षा नै सुरु गरे । यति धेरै साहित्यकार छन् तर किन राराका बारेमा खासै लेखिन्नन् ? कवि मवीवि शाहको रारा कि अप्सरा भन्दा उच्च खालको वाक्यांश किन बन्न सकेन ? यसभन्दा अघि तीन पटक आउँदा के लेख्नुभयो ? नेपाली भाषाको जननी मानिन्छ कर्णालीलाई तर आज कर्णालीकै भाषालाई किन उपेक्षा ? नेपाली भाषाको शिलालेख भेटिएका दुल्लु, सिंजा र अछामलाई किन उपेक्षा गर्छ यो देश ? राजनैतिक नेतृत्वलाई भाषाको महत्व देखाउन बुझाउन नसक्नुमा साहित्यकारको दोष कति ? तपाईं आफैं दशकौं राष्ट्रिय अन्तर्राष्ट्रिय रेडियोको चर्चित स्वर हो, तपाईं आफैंले चाहिं साहित्यको विकासमा कति योगदानमा पुर्‍याउनुभयो ? यसरी पोखिए जयनारायण शाह । पानीले आधाआधी भिजुन्जेल सम्वादमै रह्यौं । दर्शकदीर्घाले पनि भिजेरै सुन्यो । यी प्रत्येक प्रश्नका एक-एक पुस्तक हुन सक्छन् ।

पहिलो पटक पुग्दा लेखेको कविताको एक अंश, दोस्रो पटक पुग्दा लेखेको एउटा गीति र तेस्रो पटक पुगेपछिको समग्र कर्णालीको सामाजिक अवस्थाको छोटो चर्चा गरेपछि म प्रश्नको कठघराबाट उम्किएँ । अब के लेख्नुहुन्छ रु सेसन सकेर उठ्दा पनि उनले छोडेनन् । त्यहाँ त खै भनेर हाँसेर टारें तर अहिले भन्न सक्छु- यो आलेख त्यसैको जवाफ हो जयनारायणजी ।

फर्कंदै गर्दा

पहिलो पटक रारा पुग्दा पहिले सदरमुकाम गमगढी गएर मात्रै रारा उक्लेको थिएँ । यो पटक पनि गमगढी पुग्ने अवसर मिल्यो तर रारा पुगेर फर्कंदा । फर्कंदा पनि उही टोली, सुरेशचन्द्र रिजाल, सुनिलकुमार उलक र म । देवेन्द्र रावलले यसको अगुवाइ गरे । हामी गमगढी पुग्यौं । मीठो संयोग सबै वर्ग समुदाय र पेशाका मान्छेहरूसँग अन्तरक्रिया गर्ने अवसर मिल्यो ।

पत्रकारहरूको उत्साह, विद्यालयहरूको गतिविधि र नागरिक चहलपहल उल्लेख्य थिए । जुम्ल्याहाजस्ता कालिका र मालिका मन्दिर कति सुन्दर १ सफा छायानाथको मन्दिर र जनजनको धार्मिक आस्था कति बेजोड १ नगरपालिकाका पूर्वमेयर हरिजंग शाही भन्दै थिए, पानीको स्रोत प्रशस्त छ तर व्यवस्थापन गर्न सकिएको छैन । उनको संकेत थियो सदरमुकामको धारामा पानीका लागि गाग्री बोकेर बसेको लाइनतिर । ती मन्दिरको निर्माण र सफाइ तथा गमगढीसम्म पुग्ने बाटोको स्तरोन्नतिको जश उनैलाई रहेछ । उनी निकै शालीन र भद्र पनि ।

कालीदासले लेखेथे, आषाढस्य प्रथम दिवसे ! हो, २०८० आषाढको प्रथम दिन मेरा लागि निकै सुखद् रह्यो । नजिकैको विद्यालयका भाइबहिनीसँग रमाएँ, खेलें, गीत र कविता सुनें, सुनाएँ । सँगै फुटबल नखेले पनि फुटबल समाएर सँगै तस्वीर खिच्न आए उनीहरू । स्थानीय पाका र पत्रकारहरूसँग लामो संवाद भयो साँझपख । देउडाको रन्को कम मीठा थिएनन् । राति खाएको कोदो, फापरको रोटी, मह र तातो दूध । वाह १ पर्यटकको जिब्रो तान्न धेरै मेहनत पनि नचाहिने रहेछ ।

फर्कनु त थियो नै । भोलिपल्ट ताल्चा उक्लिंदा वातावरण तातिसकेको थियो । गर्मीले छोपेकै थियो छपक्क तर पनि हृदयको कुनामा रारा राखेर फेरि सम्झें सेसन चल्दै गर्दा भिज्दै गरेको क्षण । दुई डाँडाबीचको खोचबाट समिट एअरलाइन्सको जहाज उड्दै गर्दा मनले भन्यो–

उही कुरा कति भन्नु जून दिउँला तारा दिउँला

बैंश फुल्यो मुर्माटपमा मुगु आऊ रारा दिउँला

दिलको थैली बोकी आए प्रेमको अमृत खन्याइदिउँला

थकाइ बिसाऊ जिन्दगीको आऊ तिर्खा मेटाइदिउँला

हिउँका लहर लहरमुनि फूलका रंग फिंजाएर

असल मान्छे बस्छन् यहाँ संस्कृतिले नुहाएर

लिनु केही छैन मलाई दिल खोलेर सारा दिउँला

वैंश फुल्यो मुर्माटपमा मुगु आऊ रारा दिउँला ।

(डा. लम्साल कवि तथा सञ्चारकर्मी हुन् । २०७८ सालको मदन पुरस्कार प्राप्त अग्नि महाकाव्यसहित उनका आठ पुस्तक प्रकाशित छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?