+
+

के प्रिगोजिन रुसमा सैन्य ‘कु’को प्रयासमा छन् ?

पल किर्बी पल किर्बी
२०८० असार ९ गते २१:१२

९ असार, काठमाडौं । युक्रेनविरुद्ध १६ महिना पहिले सुरु गरेको रुसको ‘विशेष सैन्य अभियान’ अब निर्णायक मोडमा पुगेको छ । यो युद्ध अब त्यो ठाउँमा पुगेको छ, जहाँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तालाई नै चुनौती बन्ने आशंका छ ।

राष्ट्रपति पुटिनले वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनमाथि सशस्त्र विद्रोह गरेर धोका दिएको आरोप लगाएका छन् । रुसका निकै महत्वपूर्ण व्यक्तिमध्ये एकमा पर्ने प्रिगोजिनले भने यो विद्रोह नभई न्यायका लागि सुरु गरेको मार्च भनेका छन् ।

रुसमा के भइरहेको छ ?

युक्रेनविरुद्ध रुसले सुरु गरेको सैन्य अभियानमा प्रिगोजिन र उनको निजी सैन्य कम्पनी वागनर समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्यो । वागनर समूहको हजारौं सैनिकले स्थल लडाइँ लडे, जसलाई जेलबाट लगेर सेनामा भर्ती गरिएको मानिएको छ ।

उसो त युक्रेन युद्धभन्दा पहिला पनि प्रिगोजिनको निजी सैन्य समूहले रुसका लागि भूमिका खेलेको थियो ।

युक्रेन युद्धका क्रममा लडाईंको कमाण्ड सम्हालेको सेना प्रमुख र प्रिगोजिनको विवाद पनि नयाँ होइन । तर अब यो विवाद विद्रोहमा बदलिने संकेत देखिएको छ ।

पूर्वी युक्रेनको सीमा क्षेत्रमा तैनाथ वागनर समूहका लडाकुहरु दक्षिणी शहर रोस्तोव–अन–डनमा प्रवेश गरेका छन् । उनीहरुको दाबी छ, त्यहाँ रहेका सबै सैन्य अड्डाहरु नियन्त्रणमा लिइएको छ ।

राष्ट्रपति पुटिनले पनि देशको स्थिति कठिन रहेको भन्दै रुसको रक्षामा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

यो ‘सैन्य कु’को प्रयास हो ?

निजी सैन्य समूह वागनरका प्रमुख येवगेनी प्रिगोजिनले सैन्य कूको दाबीलाई अस्वीकार गरेका छन् ।

रुसी सेना र प्रिगोजिनबीच लडाईंमा लडाकुहरुलाई चाहिने जति हतियार र गोलाबारुद नदिएको विषयमा विवाद थियो । अब यो विवाद युद्धको कमाण्ड सम्हालिरहेका रक्षामन्त्री सर्गेई शोइगू र सेना प्रमुख वालेरी गोरासिमोवका लागि चुनौती बनेको छ ।

एक अर्थमा हेर्दा अहिलेसम्म सैन्य कु भएको छैन । किनकि सरकारको हातबाट सत्ता खोस्ने कुनै प्रयास भएको छैन । प्रिगोजिनको निजी सैन्य कम्पनी औपचारिक रुपमा देशको सेनाको हिस्सा पनि होइन । तर आफ्नो सैनिकलाई देशका धेरै मानिसको भरपुर समर्थन रहेको प्रिगोजिनले दाबी गरेका छन् ।

र, रुसी सैन्य अधिकारीहरुलाई हटाउने प्रयास छ, जुन सिधा राष्ट्रपति पुटिनको सत्ताका लागि चुनौती हो । यो सत्य हो कि प्रिगोजिनको निजी सैन्य समूह बनाउन र यसलाई ठूलो बनाउन रुसी नेतृत्वको हात छ, तर यो पनि प्रष्ट छ कि अब प्रिगोजिनमा उनको नियन्त्रण रहेन ।

त्यसैले आतंकवाद नियन्त्रण अभियान अन्तर्गत मस्कोको पुरै इलाकालाई हाइ अलर्टमा राखिएको छ । ठूला समारोहहरु स्थगित गरिएको छ ।

युक्रेनले पनि उत्तर पूर्वमा रुसी सीमा क्षेत्रमा यस्तै गरेको छ । तर प्रिगोजिनले भनेका छन्, ‘यहाँ हामी २५ हजार छौं र, हामीलाई साथ दिन चाहनेहरुलाई स्वागत छ ।’

उनले सैन्य नेतृत्वलाई चुनौती भएको बताए, साथै राष्ट्रपतिले धम्की दिएजस्तो केही नभएको दाबी गरे । उनका अनुसार वागवर समूहका सैनिकहरुले सीमा पार गरेर रोस्तोव शहर आएका छन् र मन्त्री र चिफ अफ स्टाफ भागेका छन् ।

के चाहन्छन् प्रिगोजिन ?

प्रिगोजिन आफूहरुले न्यायका लागि मार्च गरेको बताएका छन् । उनको यो दाबी अस्पष्ट लाग्न सक्छ ।

तर सैन्य नेतृत्वसँग उनको तनाव यो तहमा पुगिसक्यो कि उनी नेतृत्व हातमा लिन चाहन्छन् । प्रिगोजिनको एक भिडियो शुक्रबार सार्वजनिक भएको छ, जसमा उनले उपरक्षामन्त्री र रोस्तोवमा उपस्थित एक जनरलाई भनेका छन्, रुसी रक्षामन्त्री र सेना प्रमुख भेटघाट नगराए मस्कोतर्फ १०० मिलको यात्रा सुरु हुनेछ ।

उनले भनेका छन्, ‘हामी सेना प्रमुख र सोइगू (रक्षामन्त्री)सँग भेट्न चाहन्छौं । जबसम्म उनी आउँदैनन्, रोस्तोव शहरलाई घेराबन्दी गर्छौं र फेरि मस्कोतर्फ अघि बढ्छौं ।’

जमिनमा लडिरहेका रुसी सेनासँग आफ्नो कुनै दुश्मनी नरहेको उनले बताएका छन् । तर उनको लडाई ती ‘जोकर’सँग हो, जो उनीहरुको नेतृत्व गरिरहेका छन् । केही जनरलले उनलाई शान्त रहन भनेका छन्, तर उनी अब ढिला भइसक्यो भन्छन् ।

पुटिन र प्रिगोजिनको नाता

वागनर समूहका प्रमुख प्रिगोजिन रुसी राष्ट्रपति पुटिनको निकटवर्ती मानिन्छन् । बताइएअनुसार उनको उदय पुटिनको सत्तासँगै भयो । उनी पहिला धनी व्यापारी थिए, पछि निजी सैन्य समूहको प्रमुख बने । 

युक्रेनको पूर्वी शहर बखमुतमा कब्जा गर्न भएको लडाईंका क्रममा उनको सयौं सैनिकले ज्यान गुमाएका थिए । केही महिनादेखि लडाईं जारी थियो, उनको उद्देश्य पूरा भएको थिएन ।

प्रिगोजिनले सैन्य नेतृत्वमाथि हतियार सप्लाइमा कमी गरेको आरोप लगाए । सामाजिक सञ्जालमा यस्ता भिडियोहरु पोष्ट गरे, जसमा रुसी सेनाको कमजोरी र असफलताबारे उल्लेख गरिएको छ ।

यद्यपि उनले कहिल्यै सिधा रुसी राष्ट्रपतिलाई निशाना बनाएका छैनन् । तर उनले कैयौं भिडियोमा ‘ह्यापी ग्राण्डफादर’को जिकिर गरेका छन् । यो संकेत पुटिनतिर भएको मानिन्छ ।

गत महिनामा उनले ‘ह्यापी ग्राण्डफादर पुरै बेबकुफ’ भए कसरी रुसले युद्ध जित्छ भनेर प्रश्न गरेका थिए । २३ जुनमा लामो भिडियो सार्वजनिक गरे, जसमा रुसी नागरिकलाई यो युद्धको पुरै कहानी झुटो भएको बताएका छन् । ‘बदमासहरुको एउटा सानो समूह’ले जनता र राष्ट्रपतिलाई धोका दिएर युद्धको बहानामा आफ्नो प्रगतिको बाटो बनाउन कोशिस गरिरहेको उनको दाबी छ ।

रुससँगै पुटिनको अवस्था गम्भीर

प्रिगोजिनको प्रयास न त युक्रेनमा जारी रुसको युद्धका लागि चुनौती हो, न राष्ट्रपति पुटिनको सत्ताका लागि ।

तर यो यति गम्भीर चाहिँ पक्का हो कि पुटिनले यसलाई लिएर टेलिभिजनमा ५ मिनेटको सन्देश दिए । उनले यसलाई देशप्रति धोका भनेका छन् र देशभित्र गृहयुद्ध जस्तो अवस्था आउन नदिने बताएका छन् ।

प्रिगोजिनले पनि रास्तोवमा अड्डा जमाएर बस्ने मात्र धम्की दिएका छैनन्, आफ्नो माग सम्बोधन नभए राजधानी मस्कोतर्फ लाग्ने बताएका छन् ।

अहिलेसम्म उनले हतियार आपूर्तिलाई लिएर सैन्य नेतृत्वसँग विवाद गरिरहेका थिए । अब आफैं अगाडि बढेर नेतृत्व सम्हालेका छन् र उनीसँग जनसमर्थन पनि छ । त्यसैले उनको चुनौती असफल भइहाले पनि यो कम्तीमा रुसी सेनाका लागि संकटको घडी हो, किनकी युक्रेनको युद्ध उनीहरुमै निर्भर छ ।

अझ यसो भन्न उपयुक्त होला, पुटिनको नेतृत्वका लागि महत्वपूर्ण समय हो र रुसी नागरिकका लागि वेकअप कल । तर यो भन्न कठिन छ कि आउने दिनमा के हुन्छ ?

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?