+
+

करिब ४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, साढे २० अर्ब नवीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १३:१७

१० असार, काठमाडौं । नेपाल सरकारले ३ अर्ब ९१ करोड आन्तरिक ऋण उठाउने भएको छ । सोमबार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत उक्त आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सोमबार नै सरकारको २० अर्ब ५० करोड २५ लाख रुपैयाँको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । २८ दिन अवधिको ४ अर्बको, ९१ दिन अवधिको ६ अर्ब ५० करोड २५ लाख, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षदेखि नै आन्तरिक ऋणको ब्याजदर वृद्धि हुँदा दबाबमा रहेको सरकारलाई पछिल्ला दिनमा घटेको ब्याजदरले केही राहत भने दिएको छ । गत ४ असार सोमबार भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ४.२९६४ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको ७.०३१५ प्रतिशत कायम भएको छ । त्यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ७.०२५२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको रेट ७.११६४ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट बढाएर ८.५ प्रतिशत पुर्‍याएपछि त्यसको प्रतिक्रिया स्वरुप बैंकहरुले ट्रेजरी बिलको डिस्काउन्ट रेट १३ प्रतिशतसम्म पुर्‍याएको थिए । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षमार्फत् राष्ट्र बैंकले बैंकदर घटायो भने अधिक तरलता भएर सस्तो ब्याजदरमा रिभर्स रिपोमा लगानी गर्नुभन्दा बैंकहरु ट्रेजरी बिलमा नै ब्याजदर घटाएर लगानी गर्न तयार भएसँगै ब्याजदर घट्दै गएको हो ।

गत बिहीबार रिभर्स रिपो मार्फत १० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आइतबार पनि २० अर्ब तरलता खिच्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?