+
+

मोरङमा जन्मसिद्धका सन्तानलाई नागरिकता लिन छुट्टै कोठा

हरि अधिकारी हरि अधिकारी
२०८० असार १० गते १९:३२

१० असार, विराटनगर । जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले छुट्टै कोठाको व्यवस्था गरेको छ ।

मोरङमा जन्मका आधारमा नागरिकता लिएका आमाबाबुका सन्तान ६५ हजार जना नागरिकता लिन योग्य रहेको अनुमान छ । सोमबारदेखि नागरिकता वितरण गरिने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनका अनुसार सेवाग्राहीको भिड बढ्ने भएका कारण जिल्ला प्रशासन कार्यालयको १६ नम्बर कोठाबाट नागरिकता वितरण गर्ने वातावरण मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणका लागि पालिका प्रमुखहरुसँग पनि छलफल गरेको थियो । ‘भीडभाड हुनसक्छ, धेरै भिड भयो भने टोकन लागु गर्छाैं’, पोखरेलले भने ।

सीमित जनशक्ति भएका कारण नागरिकता लिन आउनेको संख्या बढी भए सबैलाई सहजै सेवा दिन नसकिने बताए । उनका अनुसार चार जना अधिकृतको दरबन्दी रहेकामा दुई जना रिक्त हुँदा सेवा प्रवाहमा कठिनाइ छ । कर्मचारी थपका लागि गृह मन्त्रालयमा आग्रह पनि गरिएको उनले बताए ।

जन्मका आधारमा नागरिकता लिएका आमाबाबुको सन्तानलाई नागरिकता लिनका लागि झन्झटिलो व्यवस्था छ ।

बुबा–आमाको नागरिकता अनिवार्य हुनुपर्ने, वडाको सिफारिस, बसाइँ सरेर आएको भए बसाइँसराइ दर्ता प्रमाण, स्थानीय बसोबास प्रमाणित हुने पारिवारिक विवरण, व्यक्तिको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र पनि अनिवार्य गरिएको छ ।

त्यस्तै बाबु– आमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै पेसा वा व्यवसाय गरी बसेको भए त्यसको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए त्यसको निस्सा र स्वघोषणा पनि गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

बुबा आमामध्ये एक जनाको मात्रै नागरिकता छ भने सन्तानले त्यसका आधारमा नागरिकता बनाउन पाउने छैनन् । प्रशासनले बुबा–आमा दुवैको नागरिकता अनिवार्य गरेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?