+
+

चार वर्षको संघर्षपछि निरज कामतले पाए नागरिकता

हरि अधिकारी हरि अधिकारी
२०८० असार ११ गते २०:४८

११ असार, विराटनगर । नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका– ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् ।

नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सोमबार उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बाेच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए । उनी नागरिकता पीडित संघर्ष समितिका उपाध्यक्षसमेत हुन् ।

निरजले नेपाली नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरेको बताए ।

निरजका हजुरबुवाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । हजुरआमाको वंशजकै नागरिकता थियो । राजमिस्त्री काम गर्ने बुबा किसुनदेवले पनि जन्मकै आधारमा नागरिकता पाएका थिए । उनकी आमा गुलाबदेवी चौधरीको भने वंशजको नागरिकता छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई सोमबारदेखि नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि नागरिकता लिन पुग्नेहरुको संख्या बढेको छ ।

उनीहरुलाई नागरिकता वितरण सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कोठा नम्बर १६ छुट्याएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?