+
+

कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक

विश्वासको मत लिने प्रस्ताव फेल गराउने निर्णय

हरि अधिकारी हरि अधिकारी
२०८० असार ११ गते १७:४२

११ असार, विराटनगर । कोशीका प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

प्रदेश प्रमुखले १४ असारको दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । तीन दलका नेताहरुले विराटनगरमै रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईसँग टेलिफोनमा कुरा गरेका थिए ।

बैठकमा सहभागी माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बाले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने निर्णय भएको बताए ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन् । उनले १४ असारमा विश्वासको मत लिने तयारी गरेका छन् । ‘उपलब्ध सांसदको बैठक बसेर विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गर्‍यौं’ उनले भने ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीले ल्याउने विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय भएको बताए ।

गठबन्धनको बैठकमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद केदार कार्की, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, सांसद जीवन आचार्य र जसपा संसदीय दलका नेता निर्मला लिम्बूलगायत सहभागी थिए ।

माओवादी नेता आङ्बोले सरकारको नेतृत्वको विषयमा भने छलफल नभएको बताए । ‘नेतृत्वको विषयमा केन्द्रीय नेतृत्वले निर्णय गर्छ, उनले भने ।

माअ‍ोवादी र जसपाले सरकरा छाडेपछि मुख्यमन्त्री कार्कीले ३१ जेठमा अधिवेशन अन्त्य गरेर ३२ जेठमा अध्यादेशमार्फत बजेट ल्याएका थिए । तर सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता रहेकाले कार्कीले प्रदेशसभामा विश्वासको मत लिनैपर्छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश सरकारको विपक्षमा रहेको नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२ (सभामुख बाहेक), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीको १ गरी ४६ जना सांसद छन् । सरकारमा रहेको एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना नै छन् ।

दुवै गठबन्धनमा समान मत भएपनि सभामुख बाबुराम गौतम माओवादी केन्द्रबाट निर्वाचत भएका कारण विपक्षी दलहरु मुख्यमन्त्रीले विश्वासको मत नपाउने र पदमुक्त हुने दाबी गरिरहेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रयास गर्ने र नपाउने अवस्था भए राजीनामा दिने तयारी गरेका छन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत लिने र राजीनामा दिने दुवै सम्भावना भएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?