+
+

तेस्रो पटक मुख्यमन्त्रीको कुर्सीमा हिक्मत कार्की

हरि अधिकारी हरि अधिकारी
२०८१ वैशाख २७ गते १४:५९

२७ वैशाख, विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्‍याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२४ पुस २०७९ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उनी सत्ताबाहिर पुगे ।

त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । एक पटक सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए । दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका सांसदले विश्वासको त दिएपछि अदालतको आदेशमा पदमुक्त भए ।

थापालाई प्रदेशसभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएको मुद्दामा सर्वोच्च अदालतले थापा पदमुक्त हुने र ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने आदेश दिएको थियो ।

अदालतको आदशेपछि उनी दोस्रो पटक मुख्यमन्त्री हुने अवसर पाए । तर प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए ।

आफूले राजीनामा दिएपछि कार्कीले नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई आफ्ना ३९ सांसदको समर्थन दिलाए ।

त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुन: तत्कालिन सत्तारुढ घटक कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरियो ।

२१ फागुनमा केन्द्रमा पुन: एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि २७ वैशाखमा तेस्रो पटक सत्ता नेतृत्वमा पुगेका हुन् । तेस्रो सत्ता यात्राका क्रममा हिक्मतले आफैंले समर्थन गरेका मुख्यमन्त्री केदार कार्कीले अफ्ठयारोमा पारे ।

अल्पमतमा परेपछि राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा केदार बसेपछि हिक्मतको मुख्यमन्त्री बन्ने समय धकेलिएको थियो ।

केन्द्रमा समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ वशाखमा विश्वासको मत परीक्षणका लागि संसदबाट संकल्प प्रस्ताव पारित गरे ।

तर केदार कार्कीले विश्वासको मत लिएनन्, राजीनामा पनि दिएनन् । ३० दिन समय कटेपछि बुधबार राति नयाँ सरकार गठन आह्वान भयो । प्रदेश प्रमुखले दुई दिनको समय दिएपनि हिक्मतले बिहीबार बिहान  मुख्यमन्त्रीमा दाबी पेश गरे ।

लगत्तै प्रदेश प्रमुखले समर्थकको समर्थनपछि मुख्यमन्त्री नियुक्त गरे । आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठन आह्वान गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

को हुन् हिक्मत कार्की ?

दोस्रो पटक प्रदेशसभा सदस्य निर्वाचित कार्की २०२१ साल असोज ११ गतेका झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा जन्मिएका हुन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकाको प्रमुखको उम्मेदवारको आकांक्षी थिए । तर एमालेबाट मदनप्रसाद अधिकारीले टिकट पाए । त्यसपछि भएको प्रदेशसभा निर्वाचनमा कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा- ५ को प्रदेशसभा क बाट टिक पाए र जिते ।

कानुनमा स्नातकोत्तर गरेका उनी २०५५ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बनेका थिए । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत बनेका उनी पार्टीको उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए ।

कार्कीले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको ईन्चार्जको जिम्मेवारी पाएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनी नेकपाको केन्द्रीय कमिटी सदस्य बनेका थिए । दुई पार्टीको विभाजनपछि भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्यका निर्वाचित भए । त्यसपछि स्थायी कमिटी सदस्य मनोनित भए ।

२०७४ सालको प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनले शेरधन राई नेतृत्वको सरकारमा २०७४ फागुन ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हाले ।

तीन वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा काम गरेका उनी २०७८ साल भदौ १० गते सरकार बाट बाहिरिएका थिए ।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी पुन: प्रदेशसभामा निर्वाचित भए । उनी पहिलो पटक मुख्यमन्त्री भएका बेला उनकै सक्रियतामा प्रदेशसभाले १७ फागुन २०७९ मा प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?