 
																			११ असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा बसाइँसराई रोक्न विभिन्न कार्यक्रम ल्याएका छन् । पहाडी पालिकाहरुले आफ्नो स्थानीय तहमा बसाईँसराई आउनेलाई आकर्षक योजना समेत अगाड सारेका छन् । स्थानीय तहरुले बसाइँ सरेर आउने परिवारलाई दुहुनो गाईदेखि घर दिनेसम्मसम्मका योजना ल्याएका छन् ।
नेपालको जनसंख्या २०७८ को जनगणना अनुसार ३४ वटा जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा पनि कम (जनसंख्याको ऋणात्मक वृद्धिदर) देखिएको थियो । जनसंख्या वृद्धि ऋणात्मक हुने जिल्लामा अधिकांश पहाडी र हिमाली जिल्ला छन् ।
तराईका समथर जिल्ला, संघीय र प्रदेश राजधानी रहेका पहाडी जिल्लामा जनसंख्या वृद्धि उच्च देखिएको छ । जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् ।
सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ । जनसंख्या घट्ने क्रम कम कम गर्न स्थानीय तहरुले विभिन्न कार्यक्रम लयाउन थालेका छन् ।
राक्सिराङले घर दिने
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर दिने जनाएका छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ ।
गाउँपालिकाले दिने घर कस्तो हुने भन्ने विषयमा कार्यविधिमा उल्लेख गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘मकवानपुरकै विकट गाउँपालिकाको रुपमा हाम्रो पालिका छ, यहाँका मानिसहरु घरबारी छोडेर सहर झरिरहेका छन् । यो रोक्ने र नयाँ आउनेलाई सुविधा दिने उद्देश्यले बजेटमा यस्तो कार्यक्रम ल्याएका हौं,’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
सनुकोशीमा दुहुनो गाई
ओखलढुंङ्गाको सुनकोशी गाउँपालिका बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको बजेटमा बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष कमल तामाङले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा बसाइँसराइ रोक्न युवालाई स्वरोजगार बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा ल्याएको बताएका छन् ।
पाँच हजार नगदकै अफर
खोटाङको साकेला गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई नगदसहित सम्मान गर्ने भएको छ । गाउँपालिकाले बजेटमार्फत बसाइँ सरेर आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति ल्याएको हो ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पछिल्लो समय जनसंख्या ऋणात्मक हुँदै गएकोले गाउँपालिकाबाट बसाइँसराइ रोक्ने र आउनेलाई सम्मान गर्ने योजना अगाडि बढाएको बताए ।
गाउँपालिकाले ल्याएको बजेटमा भनिएको छ ‘बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाइनेछ ।’ अन्य विभिन्न स्थानीय तहहरुले पनि बसाइँसराइ रोक्ने योजनासहित बजेट ल्याएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4