+
+

एन्जेला बासेटसहित चार फिल्मकर्मीलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ११:५४

काठमाडौं । हलिउड फिल्मकर्मीहरु एन्जेला बासेट, मेल ब्रुक्स र क्यारोल लिटलटनले मानार्थ ओस्कार अवार्ड प्राप्त गर्ने भएका छन् । यस वर्षको गभर्नर्स अवार्डमा उनीहरुलाई अवार्ड प्रदान गर्न लागिएको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले घोषणा गरेको छ । साथै, सनडान्स इन्स्टिच्युटका मिसेल सेटरले जीन हर्शोल्ट मानवीय पुरस्कार प्राप्त गर्नेछन् ।

आगामी नोभेम्बर १८ मा अमेरिकाको लस एन्जलसमा हुने समारोहमा ती चारजनालाई ओस्कार प्रदान गरिने भेराइटी म्यागजिनले जनाएको छ । ‘एकेडेमीको बोर्ड अफ गभर्नर यी चार हस्तीहरुलाई सम्मान गर्न पाउँदा उत्साहित छ, जसले फिल्म उद्योगलाई रूपान्तरण गरेका छन् र फिल्म निर्माता र प्रशंसकको पुस्तालाई प्रेरित गरेका छन्,’ एकेडेमीका अध्यक्ष जेनेट याङले भने ।

‘दशकौं लामो करिअरमा एन्जेला बासेटले अभिनयमा नयाँ मापदण्ड सेट गरेकी छन् । मेल ब्रुक्सको हास्यरसले हाम्रो हृदयलाई उज्यालो पार्छ र उनको विरासतले मनोरञ्जनको हरेक पक्षमा दिगो प्रभाव पारेको छ । फिल्म सम्पादनमा क्यारोल लिटलटनको करिअरले उनका भावी पिंढीलाई आदर्श बन्न प्रेरित गर्नेछ । स्वतन्त्र फिल्म समुदायको स्तम्भ मिसेल सेटरले विश्वभरका अनगिन्ती फिल्म निर्माताको करिअरमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भनेका छन् ।

मानार्थ ओस्कार अवार्ड जीवनकालमा असाधारण भिन्नता, फिल्म कला र विज्ञानको क्षेत्रमा असाधारण योगदान वा एकेडेमीमा उत्कृष्ट सेवा पुर्‍याउनेलाई प्रदान गरिन्छ । दिग्गज अभिनेता बासेट ४० वर्षभन्दा बढी समयदेखि फिल्म र टेलिभिजनमा हलिउडको प्रिय व्यक्तित्व बनेकी छन् । सन् १९९३ को फिल्म ‘ह्वाट्स लभ गेट टु डु विथ इट’मा टिना टर्नरको रोलमा अभिनय गरेबापत उनी उत्कृष्ट अभिनेत्रीको लागि ओस्कार अवार्डमा मनोनित भएकी थिइन् ।

उनले हालै ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरएभर’मा रानी रामोन्डाको रूपमा मार्बल स्टुडियो फिल्मबाट पहिलो अभिनेत्री र सुपरहिरोबाट पहिलो महिलाको रूपमा इतिहास रच्दै सहायक अभिनेत्री विधामा दोस्रोपटक ओस्कारमा मनोनित भएकी थिइन् । ९६ औं ओस्कर अवार्ड २०२४ को मार्च १० मा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?