News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ८ भदौ सोमबार प्रदेशसभाबाट विश्वासको मत लिनेछन् ।
- प्रदेशसभा सचिवालयले आठौं अधिवेशनको १८औँ बैठक ८ भदौ दिउँसो १ बजे बस्ने संशोधित सूचना जारी गरेको छ ।
- थापामगर बिहीबार मुख्यमन्त्री नियुक्त भएर एमाले, नेकपा र राप्रपाको समर्थनमा बनेका हुन् ।
५ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि ७ भदौ आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठक अब ८ भदौ सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन उपसचिव प्रकाश चापागाईंका अनुसार शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औँ बैठक ८ भदौ सोमबार दिउँसो १ बजे बस्नेछ ।
संशोधित बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
मुख्यमन्त्री थापामगर बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन् । थापाले बिहीवार नै मन्त्रिपरिषद् बिस्तार गर्दै सत्ता साझेदार दलका ६ जनालाई मन्त्री नियुक्त गरिसकेका छन् ।
राप्रपाभित्र सरकारलाई समर्थन गरेको कारण विवाद चर्किएको थियो । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बिहीवार बसेको बैठकले राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसहित प्रदेशसभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4