+
+
Shares

एआई प्रयोग गरेर अमेरिकी पानी प्रणाली माथि साइबर आक्रमण बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सीआईएसए, एफबीआई र एनएसएले पानी आपूर्ति र फोहोरपानी प्रणालीलाई लक्षित साइबर आक्रमण बढिरहेको बुधबार चेतावनी दिएका छन्।
  • अधिकारीहरूका अनुसार आक्रमणकारीले एआई प्रयोग गरी कमजोर सुरक्षा भएका सीमेन्सका एस७ पीएलसी उपकरण पहिचान गरेर आक्रमण गरिरहेका छन्।
  • मिनेसोटा र मिशिगनका पानी सुविधा केन्द्रमा अनधिकृत प्रवेशका घटना रिपोर्ट भएका छन्, र अर्कान्सास, जर्जिया तथा न्यु जर्सीका प्रणाली पनि निशानामा परेका छन्।

५ भदौ, काठमाडौं ।  अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले बुधबार जारी गरेको संयुक्त चेतावनीमा सीमेन्स कम्पनीका सबै एस७ प्रोग्रामेबल लजिक कन्ट्रोलर (पीएलसी) उपकरण जोखिममा रहेको उल्लेख गरिएको छ ।

यी उपकरण ऊर्जा, पानी आपूर्ति, उत्पादन उद्योग तथा कृषिमा स्वचालित भौतिक प्रक्रिया नियन्त्रण गर्न प्रयोग हुन्छन् । सुरक्षा निकायहरूले यस्ता उपकरणमा भएको घुसपैठले सेवा अवरुद्ध हुन सक्ने, सुरक्षा जोखिम निम्तिन सक्ने र महत्वपूर्ण पूर्वाधारका उपकरणमा क्षति पुग्न सक्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले सार्वजनिक रूपमा उपलब्ध जानकारीको प्रयोग गरी एआईमार्फत ‘एक्स्प्लोइट स्क्रिप्ट’ तयार पारिरहेका छन् । ती स्क्रिप्टबाट पुरानो सफ्टवेयर चलाइरहेका वा पर्याप्त सुरक्षा नभएका पीएलसी उपकरण खोजी गरी आक्रमण गरिन्छ ।

सीआईएसएले यसलाई अमेरिका भरिका पानी आपूर्ति र फोहोरपानी प्रणालीलाई लक्षित व्यापक साइबर गतिविधिको हिस्सा भनेको छ । एजेन्सीले लामो समयदेखि महत्वपूर्ण पूर्वाधारका सञ्चालकलाई यस्ता उपकरण इन्टरनेटबाट अलग राख्न आग्रह गर्दै आएको छ ।

विशेषगरी ग्रामीण समुदायमा जोखिम बढी रहेको अधिकारीहरूको भनाइ छ । यस्ता क्षेत्रमा पानी प्रणालीले ठूलो भौगोलिक क्षेत्र समेट्ने भएकाले एउटा प्रणालीमा आएको अवरोधले धेरै मानिस प्रभावित हुन सक्छन् ।

यो चेतावनी हालैका महिनामा अमेरिकी पानी आपूर्तिकर्ता र फोहोरपानी सेवा प्रदायकमाथि भएका साइबर आक्रमणपछि आएको हो । अमेरिकी अधिकारीहरूले तीमध्ये केही आक्रमण इरानसँग सम्बन्धित हुन सक्ने ह्याकर समूहबाट भएको आशंका गरेका छन् ।

मिनेसोटा र मिशिगनका पानी सुविधा केन्द्रमा अनधिकृत प्रवेशका घटना रिपोर्ट भएका छन् । त्यस्तै अर्कान्सास, जर्जिया र न्यु जर्सीका पानी सेवा प्रणाली (वाटर सर्भिस सिस्टम) पनि साइबर आक्रमणको निशानामा परेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?