+
+
Shares

अमेरिका-नेपाल आर्थिक साझेदारी : देशका उत्कृष्ट २० उद्यमीलाई समेट्दै क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १४:४६

२४ साउन, काठमाडौं । अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर सफलतापूर्वक सम्पन्न भएको छ ।

देशका सातवटै प्रदेशका विभिन्न सहरहरूमा सञ्चालित क्षेत्रीय कार्यशाला तथा भर्चुअल मास्टरक्लासमा सहभागी करिब २०० भन्दा बढी उद्यमीहरूबीच भएको प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० जना नवप्रवर्तक उद्यमीहरू छनोट भएका थिए ।

काठमाडौंमा आयोजित तीनदिने विशेष आवासीय कार्यक्रमले नेपाली उद्यमशीलता क्षेत्रमा नयाँ आयाम थप्दै युवा उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो व्यवसाय विस्तार गर्न ठूलो अवसर प्रदान गरेको आयोजकको दाबी छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा सहभागीहरूले आ–आफ्ना व्यावसायिक सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात अवसर तथा लगानी आकर्षित गर्ने रणनीतिहरू प्रस्तुत गरेका थिए । उनीहरुले व्यवसायिक क्षेत्रका अगुवाहरुसँग आफ्ना योजना पिच गरेका थिए ।

विज्ञहरूबाट प्राप्त व्यावहारिक सुझाव र मार्गदर्शनले उद्यमीहरूलाई आफ्नो व्यावसायिक मोडललाई थप परिष्कृत गर्न मद्दत पु‍र्याएको आयोजकले बताएको छ ।

अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू पनि प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीले उद्यमीलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने, र नयाँ व्यावसायिक सम्बन्ध तथा सहकार्यका सम्भावनाहरू विस्तार गर्ने अवसर जुराएको थियो ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले आजको यो शोकेस एउटा कार्यक्रमको समापन मात्र नभई अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन्।

नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेको र नेपालको आर्थिक विकासमा सहकार्य गर्न पाउँदा गर्व लागेको उनले बताए ।

राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरमा छनोट भएका उत्कृष्ट २० वटा उद्यमहरूले नेपालको अर्थतन्त्रका विभिन्न विविध क्षेत्रहरूको प्रतिनिधित्व गरेका छन् । यसमा कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, परामर्श सेवा, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायतका क्षेत्रहरू समेटिएका छन् ।

गण्डकी प्रदेशबाट हरिकृष्ण लामिछानेको ‘पाठसूत्र ईडीयु’ ले कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत विद्यालयका तथ्यांकलाई विद्यार्थीको सिकाइ उपलब्धिमा रूपान्तरण गर्ने एडटेक सेवा दिइरहेको छ भने कमलराज पराजुलीको नेतृत्वमा रहेको ‘साइनो मार्केटप्लेस’ ले नेपाली उत्पादनलाई डिजिटल माध्यमबाट स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा जोड्ने काम गरिरहेको छ ।

त्यस्तै, कर्णाली प्रदेशबाट अपेक्षा थापाले नेतृत्व गरेको ‘कोपिला भ्याली महिला सहकारी’ ले स्थानीय कपडाबाट हस्तनिर्मित झोला तथा गृह सजावटका सामग्री उत्पादन गरी अमेरिकाको बिलिङ्कनाउ गुड्समार्फत निर्यात गर्दै आएको छ भने गण्डकीकै नवीन देवकोटाले ‘लुम्ले कफी इस्टेट’ मार्फत अन्नपूर्ण क्षेत्रमा विशेष गुणस्तरको कफी उत्पादन, प्रशोधन र बजारीकरण गरिरहेका छन् ।

कोशी प्रदेशबाट शम्भु बाबु कोइरालाको ‘हिमालयन चिउरी आयल’ ले चिउरीको बिउबाट प्राकृतिक चिउरी बटर उत्पादन गरी विश्वव्यापी सौन्दर्य प्रसाधन बजारमा शिया बटरको दिगो विकल्प प्रस्तुत गरेको थियो भने बागमती प्रदेशबाट राजीव खनालको ‘भरोसा कृषि’ ले चिटोसानमा आधारित जैविक कृषि सामग्री (बायोस्टिमुलेन्ट) विकास गर्दै आएको छ ।

बागमतीकै सचिन मकाजु श्रेष्ठको नेतृत्वमा सञ्चालित ‘स्याहार’ धुलिखेल अस्पतालअन्तर्गतको एक सामाजिक उद्यम हो जसले जडीबुटीयुक्त स्किनकेयर उत्पादन बिक्रीबाट हुने नाफा विपन्न बिरामीको स्वास्थ्य सेवामा लगानी गर्छ ।

लुम्बिनी क्षेत्रबाट हिसिला ओलीको ‘दिदीबहिनी फेब्रिक’ ले हेम्प र अल्लोको रेसाबाट कपडा तथा पोशाक उत्पादन गरी राष्ट्रिय महिला उद्यमी पुरस्कार प्राप्त गर्न सफल भएको छ भने गण्डकीका विजय कुमालको ‘लुमिनो टेक्नोलोजी’ ले सास (सफ्टवेयर एज अ सर्भिस) प्लेटफर्म र इन्टरप्राइज सफ्टवेयर विकास गरेर होटलहरुलाई सेवा दिईरहेको छ । साथै यसले ६ भन्दा बढी देशमा सफ्टवेयर निर्यात पनि गर्दै आएको छ ।

मधेश प्रदेशका सञ्जय चौधरीले ‘एम.एम. डिजिटल ग्यारेज’ मार्फत डिजिटल मार्केटिङ र ब्रान्डिडको सेवा दिइरहेका छन् भने बागमतीका सुशान्त ढुंगानाको ‘जलबेरी’ ले प्राकृतिक आइसक्रिम, कुल्फी र कार्बोनेटेड पेय पदार्थको उत्पादन तथा वितरण गरिरहेको छ ।

लुम्बिनीबाट अनुशेष रायमाझीले ‘सरस्वती ढाका कपडा उद्योग’ मार्फत पाल्पाको ढाका कपडा र परम्परागत कपडा उद्योगको संरक्षण गर्दै आएका छन् ।

बागमतीका पोषण नेपालले पनि ‘हाँडी बिरयानी’ मार्फत मुगल तथा उत्तर भारतीय परिकार र आतिथ्य सेवामा सक्रिय छन् । लुम्बिनीकै दीपाली टण्डनले ‘दीपालीको अचार’ मार्फत परम्परागत नेपाली अचार तथा मसलाहरू क्लिन लेबल अवधारणाअनुसार उत्पादन गर्दै आएकी छिन् भने सुदूरपश्चिमका दीपक हमालले ‘दामी ट्रिट्स’ (प्रतिज्ञा डेरी एन्ड आइसक्रिम उद्योग) मार्फत धनगढीमा दुग्धजन्य पदार्थ, प्राकृतिक आइसक्रिम र बेकरी उत्पादनमा अग्रणी स्थान बनाएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशका विवेक आचार्यले ‘नेप टेक पाल’ मार्फत मोबाइल एप्स र सास प्लेटफर्म विकास गरी अन्तर्राष्ट्रिय बजारमा १० लाखभन्दा बढी डाउनलोड गराइसकेका छन् भने कोशीकी आकृति जलनले ‘मुनवेक स्किनकेयर’ मार्फत प्राकृतिक स्किनकेयर, हेयरकेयर र वेलनेस उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने लक्ष्य लिएकी छिन् ।

कोशीकै प्रकाश उप्रेतीको ‘होमसेवा’ ले घरमै आवश्यक पर्ने सरसफाइ तथा मर्मत सेवाहरू जोड्ने हाइपरलोकल डिजिटल प्लेटफर्म सञ्चालन गरिरहेको छ भने गण्डकीका प्रितम राज पाठकको ‘शरद क्राफ्ट क्रिएसन्स’ ले फेल्टका हस्तकला सामग्रीहरू विश्वका २० भन्दा बढी देशका ग्राहकहरूलाई निर्यात गर्दै आएको छ ।

यसैगरी, मधेश प्रदेशकी आशिका कुमारी गिरीले ‘आशुतोष बहुउद्देश्यीय उद्योग’ मार्फत मिथिला खानाको परम्परामा आधारित अचार, पापड तथा खाद्य सामग्री उत्पादन गर्नुका साथै स्थानीय महिलाहरूलाई रोजगारी र सीप विकासका अवसरहरू प्रदान गर्दै आएकी छिन् ।

यसरी अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर कार्यक्रमले नेपालका सातवटै प्रदेशमा छरिएर रहेका स्टार्टअप तथा उदीयमान उद्यमीहरूलाई व्यावहारिक तालिम, मेन्टरिङ, बजार व्यवस्थापन, एआई प्रविधिको प्रयोग तथा लगानी तयारीका लागि मञ्च दिएको हो । यसले नेपाली युवा उद्यमीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूको नवप्रवर्तनकारी व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाउन र देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?