News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मिसिगनमा भएको डेमोक्रेटिक प्राइमरी चुनावमा डा. अब्दुल अल-सैयद विजयी भई सिनेटका लागि उम्मेदवार बन्ने पहिलो मुस्लिम व्यक्ति बनेका छन्।
- पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अल-सैयदको वामपन्थी नीति र इजरायलसम्बन्धी धारणाको कडा आलोचना गर्दै उनलाई कम्युनिस्टको संज्ञा दिएका छन्।
- नोभेम्बरमा हुने आम चुनावमा अल-सैयदले रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँग प्रतिस्पर्धा गर्नेछन्, जुन अमेरिकी सिनेटको नियन्त्रणका लागि निकै महत्त्वपूर्ण मानिएको छ।
२२ साउन, काठमाडौं । अमेरिकाको मिसिगनमा भएको डेमोक्रेटिक प्राइमरी चुनावमा डा. अब्दुल अल-सैयदले जित हासिल गरेका छन्। उनको जितले देशको राजनीतिमा नयाँ बहस छेडेको छ। सैयद अमेरिकी सिनेटका लागि कुनै राजनीतिक पार्टीका पहिलो मुस्लिम उम्मेदवार हुन्।
मिसिगन अमेरिकाको एक महत्वपूर्ण ‘स्विङ स्टेट’ हो। त्यसैले यो चुनावमा सम्पूर्ण देशको नजर रहनेछ। स्विङ स्टेटको अर्थ चुनावमा जुनसुकै पार्टीले पनि जित हासिल गर्न सक्छ भन्ने हो।
तर सैयदको उम्मेदवारीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन्। ट्रम्पले जोहरान ममदानीप्रति पनि यस्तै आक्रोश व्यक्त गर्ने गर्थे। तर ममदानी न्युयोर्कको मेयर बने। उनी अहिले आफ्नै नीतिअनुसार काम गरिरहेका छन्।
जोहरान ममदानीले पनि अल-सैयदको समर्थन गरेका छन्। ट्रम्पले सैयदलाई ‘कम्युनिस्ट’ भनेका छन्। सैयदले ‘येहुदी र इजरायल’लाई घृणा गर्छन् भनेर ट्रम्पले दाबी गरेका छन्।
ट्रम्पले बुधबार आयोजित एक कार्यक्रममा अल-सैयदको इजरायलसम्बन्धी धारणाको कडा आलोचना गरेका छन्। उनले नोभेम्बरको चुनावमा अल-सैयद रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँग हार्ने दाबी गरेका छन्।
सीएनएनका अनुसार अब्दुल अल-सैयदले आफू येहुदीहरूलाई घृणा गर्छु भनेर कहिल्यै सार्वजनिक रूपमा भनेका छैनन्। यद्यपि, उनले गाजा युद्धका क्रममा इजरायली सरकारमाथि ‘जनसंहार’को आरोप लगाएका थिए।
उनी इजरायललाई दिइने अमेरिकी सहायता बन्द गर्ने पक्षमा छन्। इजरायललाई येहुदी राष्ट्रका रूपमा रहिरहने अधिकार छ कि छैन भनेर उनले प्रश्न पनि उठाएका छन्।
बुधबार अल-सैयदले येहुदी मतदाताहरूलाई भरोसा दिलाउने प्रयास गरेका छन्। उनले उनीहरूको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले यहुदी-विरोध (एन्टीसेमिटिज्म)को निन्दा पनि गरेका छन्। उनले आफू पुँजीवादी भएको पनि बताएका छन्।
अल-सैयदसँग किन क्रुद्ध छन् ट्रम्प
लस भेगासमा भएको एक कार्यक्रमका क्रममा ट्रम्पले भनेका छन्, ‘उनी (सैयद) यहुदी र इजरायललाई घृणा गर्छन्। उनी घृणाले भरिएका मानिस हुन्, अहिले उनी ‘म सबैलाई माया गर्छु’ भनिरहेका छन्। तर त्यस्तो होइन। उनलाई सत्तामा आउन दिनुहोस्, त्यसपछि उनले कसलाई माया गर्छन् भन्ने कुरा तपाईंहरूले थाहा पाउनुहुनेछ।’
अल-सैयदको राजनीतिले ‘फोहोर, अपराध, मृत्यु, विनाश र लज्जा’ ल्याउने ट्रम्पले बताएका छन्।
उनले भनेका छन्, ‘तपाईंहरूले आफ्नो घर गुमाउनुहुनेछ, आफ्नो अपार्टमेन्ट गुमाउनुहुनेछ। कम्युनिस्टहरूले हामीलाई १०० प्रतिशत त्यही दिशामा लैजानेछन्। जब म अब्दुललाई हेर्छु, मलाई लाग्छ कि उनी पूरै बकवासले भरिएका छन्।’
ट्रम्पले ट्रुथ सोसलमा पनि सैयदको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘कृपया ध्यान दिनुहोस्। मिसिगनका कम्युनिस्ट डुमोक्र्याट (डेमोक्रेटका लागि ट्रम्पको व्यङ्ग्य) सिनेट उम्मेदवार अब्दुल रहमान मोहम्मद अल-सैयदले आफ्नो चुनाव प्रचारमा सबैभन्दा बढी जोड दिएको मुद्दा फिलिबस्टर अन्त्य गर्नु हो।’
‘मैंने हिजो उनलाई हेरेँ र उनी फिलिबस्टर अन्त्य गर्नका लागि पूरै लागिपरेका छन्।’
‘यदि उनी यसमा सफल भए भने डुमोक्र्याट्सले चार थप सिनेटर, ८ थप सांसद, इलेक्टोरल कलेज र लोकप्रिय मतमा ठूलो फाइदा पाउनेछन्। सुप्रीम कोर्टमा न्यायाधीशहरूको संख्या बढाएर २३ पुर्याइनेछ। अनि, दु:खको कुरा के हो भने हामीले जतिसुकै राम्रो काम गरिरहेका भए पनि म अमेरिकाको अन्तिम रिपब्लिकन राष्ट्रपति साबित हुनेछु।’
‘फिलिबस्टर अमेरिकी सिनेटको एउटा संसदीय प्रक्रिया हो। यसअन्तर्गत कुनै विधेयक पारित हुनबाट रोक्न वा ढिलाइ गर्न लामो बहस गर्न सकिन्छ। धेरैजसो मामिलामा यसलाई अन्त्य गरेर मतदान गराउन ६० सिनेटरको समर्थन आवश्यक पर्छ।’
ट्रम्पको यो टिप्पणीमा सैयदले सोसल मिडिया प्लेटफर्म एक्समा व्यङ्ग्य गरेका छन्। ‘मेरो बारेमा यसभन्दा राम्रो त म आफैँ पनि भन्न सक्दिनँ थिएँ,’ उनले लेखेका छन्।
जब सीएनएनले ट्रम्पको टिप्पणीमा अल-सैयदसँग प्रतिक्रिया माग्यो, तब उनले भने, ‘देश ऐतिहासिक महँगीसँग जुधिरहेको छ। तर उनीहरू भने ममाथि र मेरो बारेमा धेरै ध्यान दिइरहेका छन्। मानिसहरूले एक युद्ध सुरु गरेका कारण जनता प्रतिग्यालन लगभग पाँच डलरमा पेट्रोल किन्न बाध्य छन्।’
ट्रम्पका यी आक्रमणहरूले मिसिगनको यो सिनेट सिट कति महत्त्वपूर्ण छ भन्ने देखाउँछन्। अमेरिकी सिनेटमा कुन पार्टीको नियन्त्रण हुनेछ भन्ने तय गर्न यो प्रतिस्पर्धाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
वामपन्थको नयाँ आवाज
मिसिगनका पूर्व स्वास्थ्य अधिकारी अल-सैयदको जितले डेमोक्रेटिक पार्टीमा हलचल मचाएको छ। इजिप्टबाट आएका प्रवासी आमाबाबुका छोरा अब्दुल अल-सैयदले वामपन्थी नीतिको समर्थनसहित चुनाव लडेका थिए।
उनले डेमोक्रेटिक पार्टीका प्रगतिशील नेताहरूको समर्थन पाएका थिए। उनलाई सिनेटर बर्नी स्यान्डर्स, एलिजाबेथ बारेन र सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले समर्थन गरेका थिए।
उनले हेले स्टिभन्सलाई हराएका हुन्। हेले स्टिभन्सलाई वासिङ्टनमा डेमोक्रेटिक पार्टीको शीर्ष नेतृत्वको समर्थन प्राप्त थियो। तर उनी जित्न सकेनन्।
टिभी बहस र चुनावी सभाहरूमा अब्दुल अल-सैयद बढी प्रभावशाली उम्मेदवार साबित भए। डेमोक्रेटिक मतदाताहरूले पनि उनका नीतिप्रति खुलापन देखाएका छन्।
यसमा सरकारका तर्फबाट हेल्थ इन्सुरेन्स उपलब्ध गराउने विषय समावेश छ। औषधिहरूको मूल्य घटाउने प्रयास समावेश छ। सम्भ्रान्तहरूमाथि बढी ट्याक्स लगाउने विषय समावेश छ। चुनावी फन्डिङ व्यवस्थामा सुधार गर्ने जस्ता मुद्दाहरू पनि यसमा परेका छन्।
अब्दुल अल-सैयदको चुनाव अभियानको मुख्य नारा थियो, ‘राजनीतिबाट पैसाको प्रभाव अन्त्य गरौँ र मानिसहरूको गोजीमा पैसा पुर्याऔँ।’
यस चुनावी चरणमा वामपन्थी उम्मेदवारहरूबीच यो सन्देश निकै लोकप्रिय बनेको छ।
अब नोभेम्बरको आम चुनावमा उनको प्रतिस्पर्धा पूर्व रिपब्लिकन सांसद माइक रोजर्ससँग हुनेछ। रोजर्स आफ्नो पार्टीका तर्फबाट कुनै चुनौतीविना उम्मेदवार बनेका हुन्।
यो चुनावलाई एउटा ठूलो परीक्षा मानिएको छ। कुनै वामपन्थी उम्मेदवारले अमेरिकाको वास्तविक स्विङ स्टेटमा आम चुनाव जित्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण यसले गर्नेछ।
अल-सैयदका चुनौतीहरू
प्राइमरी चुनावमा निकै प्रतिस्पर्धात्मक जित हासिल भएको छ। त्यसैले नोभेम्बरको चुनावअघि अल-सैयदका सामु आफ्नो पार्टीलाई एकजुट बनाउने ठूलो चुनौती हुनेछ।
प्राइमरीमा उनले उच्च शिक्षित उदारवादी मतदाताहरूको राम्रो समर्थन पाएका थिए। तर आम चुनाव जित्न उनले डेट्रोयट र ग्रामीण क्षेत्रका कम आय भएका मतदाताको विश्वास जित्नुपर्नेछ। ती मतदाताहरूले प्राइमरीमा हेले स्टिभन्सलाई साथ दिएका थिए। चुनावअघिका सर्वेक्षणहरूले यी मतदाताहरूको रोजाइको सही अनुमान लगाउन सकेका थिएनन्।
यदि अल-सैयद माइक रोजर्ससँग हारका छन् भने अमेरिकी सिनेटमा फेरि नियन्त्रण कायम गर्ने डेमोक्रेटिक पार्टीको आशामा ठूलो धक्का लाग्नेछ।
तर यदि अल-सैयदले जित हासिल गरे भने यो डेमोक्रेटिक पार्टीको वामपन्थी गुटका लागि बलियो प्रमाण हुनेछ। यसले सन् २०२८ को राष्ट्रपति चुनावमा मध्यमार्गी नेताहरूभन्दा वामपन्थी उम्मेदवार बढी सफल हुनसक्ने कुरा साबित गर्नेछ।
यसबाहेक मिसिगन डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदको प्राइमरी प्रक्रियामा निकै महत्त्वपूर्ण राज्य हो।
त्यसैले यहाँका चुनावी रुझान र नतिजाले सन् २०२८ मा पार्टीले कसलाई राष्ट्रपति पदको उम्मेदवार बनाउँछ भन्ने कुरा तय गर्न ठूलो भूमिका खेल्न सक्छन्।
को हुन् अल-सैयद ?
अब्दुल अल-सैयद पेसाले डाक्टर र पब्लिक हेल्थ अफिसर हुन्। अब्दुलरहमान अल-सैयदको जन्म ३१ अक्टोबर १९८४ मा मिसिगनको डेट्रोयट सहरनजिकैको रोचेस्टर हिल्समा भएको थियो। उनका बुबा मोहम्मद अल-सैयद इन्जिनियरिङमा उच्च शिक्षा हासिल गर्न इजिप्टबाट अमेरिका आएका थिए। उनले मिसिगनको वेन स्टेट युनिभर्सिटीमा पढाइ गरेका थिए।
अब्दुलरहमानको लालनपालन उनका बुबा र सौतेनी आमा ज्याकलिनले गरेका थिए। एक डाक्टर र महामारीविज्ञका रूपमा अब्दुल अल-सैयदले सबै नागरिकका लागि ‘युनिभर्सल हेल्थकेयर’लाई आफ्नो राजनीतिक पहिचानको मुख्य मुद्दा बनाएका छन्।
उनी अमेरिकाको वर्तमान स्वास्थ्य व्यवस्थालाई ‘मेडिकेयर फर अल’ मोडलमा बदल्नुपर्ने पक्षमा छन्। (बीबीसीमा प्रकाशित सामग्रीको अनुवाद)
प्रतिक्रिया 4